३१ भाद्र २०७८, बिहीबार

तिहार के हो? किन मनाईन्छ तिहार…

काठमाण्डौ , तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन्।

यस पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ।

त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।

पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग” भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन्।

यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ।

तिहारको सांस्कृतिक पक्ष पनि छ। भारत तथा नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा ऊ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरूको पूजा-आराधना गरिन्छ। सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ। दक्षिण एसियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भुटान र म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख