२ भाद्र २०७९, बिहीबार

बाडुली के हो? कसरी लाग्छ बाडुली।

काठमाण्डौ, बाडुली लाग्नु स्वभाविक हो। धेरैलाई बाडुली लागिरहने गर्दछ। बाडुली लाग्दा आफ्ना बारेमा कसैले कुरा गरेको वा कसैले सम्झिरहेको हुन्छ भन्ने विश्वास गरिन्छ। बाडुलीले हाम्रो जीवनमा कुनै कारण र महत्व राख्दैन। बाडुली लाग्दैमा शरीरलाई खासै फाइदा पनि हुँदैन र सामान्यता अप्ठेरो हुनुको अलावा अरु कुनै नोक्सान पनि गर्दैन । यो केही मिनेटमा नै हटेर जान्छ। तर कहिलेकाहिँ लामो समयसम्म बाडुली लाग्ने गर्दछ। यस्तो अवस्थामा केहि घण्टा वा केही दिनसम्म पनि रहन्छ।

सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ । बाडुली लाग्नु भनेको हाम्रो फोक्सो र वरिपरिका मांशपेशीहरुमा अचानक आउने खुम्चाई हो । जसले गर्दा हामी सास भित्र लिन पुग्छौं । खासमा हाम्रो मांशपेशी खुम्चिएपछि हाम्रो स्वास नलीलाई बन्द गरिदिंदा हिक–हिक आवाज आउँछ । यो अवस्थालाई नेपाली भाषामा ‘बाडुली लागेको’ भनिन्छ।

बाडुली किन लाग्छ रु यसको जवाफ अझै वैज्ञानिकहरुले किटेर भन्न सकेका छैनन् तर बाडुली लाग्ने स्थिति चाहिँ हाम्रो मेरुदण्डको भागमा रहेको फ्रेनिक स्नायुमा पैदा हुने दबाबले निम्त्याउँछ । उक्त स्नायुले हाम्रो डायफ्रमको गति र श्वासप्रश्वासको क्रियालाई पैदा र नियन्त्रण गरिरहेको हुन्छ । तर ट्युमर वा मिर्गौलाका केही रोगहरु लाग्दासमेत हामीलाई बाडुली लाग्न सक्छ।

हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । हामीले सास लिंदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ । यसक्रममा त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यस झिल्लीलाई ‘डायफ्रम’ भनिन्छ । त्यही डायफ्रममा कुनै कारणले उत्तेजना भयो भने त्यो अचानक खुम्चिनमात्रै पुग्छ र त्यस्तो अवस्थामा हाम्रो स्वरयन्त्रबीचको भाग बन्द हुन पुग्छ। तर वैज्ञानिकहरूले बाडुली लाग्नुको ठ्याक्कै कारण भने अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख