२ भाद्र २०७९, बिहीबार

न्यान्सी पेलोसी बनिन् अमेरिकी प्रतिनिधि सभाको सभामुख

अमेरिकामा महिलालाई मतदानको अधिकार दिइएको एक सय बर्ष पुग्दैगर्दा न्यान्सी पेलोसी अमेरिकी तल्लो सदन प्रतिनिधिसभाकी समामुखमा निर्वाचित भएकी छिन् । उनी क्यालिफोर्नियाकी कँग्रेस वुमन सदस्य समेत हुन् । पेलोसी वासिंटनको तेश्रो शक्तिशाली पदका रुपमा मानिने हाउस अफ रिप्रिजेन्टेटिभको स्पीकरमा निर्वाचित भएकी हुन् ।

डेमोक्रेटिक सांसद ७८ बर्षीय पेलोसीले प्रतिनिधिसभामा कुल ४३० मध्ये २२० मत ल्याएर सभामुखमा निर्वाचित भएकी हुन् । सभामुखका रिपब्लिकन उम्मेदवार केभिन म्याकार्थेले १९२ मत ल्याएका छन् । ११६ औं अमेरिकी संसद सेसनको पहिलो दिन पेलोसी २ बर्षको लागि सभामुखमा निर्वाचित भएकी हुन् ।

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछिको पदका रुपमा हाउस स्पीकरलाई लिइन्छ । यदि अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति काम गर्न नसक्ने अवस्था भएमा हाउसका स्पीकर नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको छ । अमेरिकी विदेशमन्त्री हाउस स्पीकरपछिको दर्जा हो । अमेरिकी प्रतिनिधिसभामा अहिले एक सयभन्दा धेरै महिला प्रतिनिधिहरु रहेका छन्, जुन अमेरिकी इतिहासमा सबैभन्दा धेरै हो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख