२ भाद्र २०७९, बिहीबार

राजधानीमा सकियो एकहप्ते फुटवेयर प्रदर्शनी

पुस १९, काठमाडौ – भृकुटीमण्डपमा गत शुक्रबारदेखि चलेको पन्ध्रौं फुटवेयर प्रदर्शनी आज समापन भएको छ । उक्त प्रदर्शनीमा राखिएका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुमा उपभोक्ताहरुलाई १५ प्रतिशतसम्म छुट दिइएको थियो ।
‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारासाथ संचालित १५ औं प्रदर्शनीमा असी हजार भन्दा बढी मानिसले मेला अवलोकन गरेको आयोजक समितिका संयोजक नवराज गौतमले जानकारी दिए ।
विभिन्न राजनीति व्यक्तित्व, कलाकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेकोले मेलामा व्यापार पनि राम्रो भएको रोयल सुजका एक्स्पो सुपरभाइजर बालकृष्ण घिमिरेले बताए । उनका अनुसार मेला अवधिमा चर्तित नेपाली ब्राण्डका जुत्ता चप्पलका प्रतेक स्टलबाट दैनिक सरदर तीन लाख बराबरको व्यापार भएको छ ।

मेलामा विभिन्न ब्राण्डका जुत्ता चप्पल उत्पादक कम्पनी, छालाजन्य वस्तु तथा कच्चापदार्थ उत्पादक एवं वितरक कम्पनीका १४० वटा स्टल रहेका थिए ।
उक्त वृहत् पर्दर्शनीमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, युनिफर्म–जुत्ता, जेन्ट्स तथा लेडिज चप्पल र यस उद्योगसँग सम्बन्धित कच्चा पदार्थ प्रदर्शन भएको थियो ।

स्वदेशी उत्पादनको बजार र निर्यात प्रवर्धनका लागि समयसमयमा यस्ता प्रदर्शनी महत्त्वपूर्ण हुने आयोजकले बताएका छन् ।
गत शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरेको प्रदर्शनी बिहीबार बेलुका वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले समापन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख