२ भाद्र २०७९, बिहीबार

भक्तपुरमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने

काठमाडौ, पुस १८- भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । खेलकुद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिदैं भक्तपुरमा अन्तर्राष्ट्रिय खेल मैदान बन्ने भएको छ । बुधबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा भएको छलफल पछि भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको ८ र ९ नं. वडाको तौडल र महत गाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमती भएको छ । नेपाल सरकारले आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यका साथ रङ्गशाला निर्माण गरिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने उक्त रङ्गशालाको लागि १ हजारदेखि आवश्यकता अनुसार १५ सय रोपनीसम्मको जग्गा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा सूर्यविनायक नगरपालिकाले व्यवस्था गर्ने भएको छ । उक्त स्थानमा रङ्गशालाको लागि आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकिकरण आयोजना (ल्याण्ड पुलिङ)को माध्यमबाट गरिने भएको छ । कुनै पनि नागरिकको बासस्थानलाई सुरक्षित गर्दै जग्गा एकिकरणको माध्यबाट उक्त रङ्गशाला निर्माण गर्न जनप्रतिनिधिहरुले मध्यमार्गिय बाटो अपनाउने बताइएको छ । जग्गा एकिकरणको लागि सूर्यविनायक नगरपालिकाको वडा नं. ८, ९, १० तथा आवश्यकता अनुसार चाँगुनारायण नगरपालिकाको ८ र ९ नं. वडालाई प्रयोगमा ल्याउने बताइएको छ । त्यसको लागि तत्काल आवश्यक प्रकृया पूरा गरी जग्गा पहिचान गर्ने र निर्माण प्रकृयालाई सार्वजनिक सूचना प्रकाशित गर्दै अघि बढ्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख