२ भाद्र २०७९, बिहीबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पुस १८, काठमाडौ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । यससँगै, अब पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता गोइतले बताउनुभयो ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । हाल कच्चा तेलको मूल्य अस्थिर भएको कारण आगामी दिनमा प्राप्त हुने नयाँ मूल्य र स्वचालित मूल्य प्रणाली बमोजिम नै मूल्य समायोजन गर्दै जाने निगमले जनाएको छ ।

यो मूल्य समायोजन पश्चात पनि भारतको रक्सौल भन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ४१ पैसा तथा डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ३८ पैसा सस्तो रहेको निगमले जनाएको छ ।

विगतका केही महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगी निगमलाई अत्यधिक घाटा भएको थियो ।

चालू आर्थिक वर्षको विगतमा केही महिनाको अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगी निगमलाई अत्याधिक घाटा भई पछिल्लो पन्ध्र दिनको नाफा समेत मिलाउँदा अझै करीब २ अर्ब ३७ करोड रुपैयाँ घाटा पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनमा निगमलाई नाफा भएपनि एलपी ग्यासमा प्रति सिलिण्डर ८० रुपैयाँ ७९ पैसा घाटा रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख