२ भाद्र २०७९, बिहीबार

जलवायु सम्मेलनः १० बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

सिन्धुपाल्चोक– समन्वय समिति सिन्धुपाल्चोक व्यवस्थापन र जिसस महासंघको आयोजनामा भएको राष्ट्रिय जलवायु सम्मेलन जलवायु परिवर्तनका समस्या र यसका असर न्यूनिकरणका १० बुँदे उपाय सुझाउँदै मंगलबार सम्पन्न भएको छ।  ७७ जिल्लाका समन्वय प्रमुख वा प्रतिनिधिले हस्ताक्षर गरेको गुफाडाँडा घोषणापत्रमा जलवायुमैत्री विकासलाई जोड दिइएको छ। ‘वातावरणलाई विगारेर होइन, शृंगारेर गरिनुपर्छ भन्ने मुल मन्त्रलाई आत्मसात गरी जलवायुमैत्री विकासलाई प्रवर्द्धन गर्ने’, सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै घोषणापत्रमा सुझाव जोड दिएको छ। 

जलवायु परिवर्तन र यसले पारेका असरबारे बैज्ञानिक खोज तथा अनुसन्धानलाई प्रोत्साहन गर्दै जनचेतना अभिवृद्धि गर्नुपर्ने विषयलाई विज्ञहरुको राय सम्मिलित घोषणापत्रमा प्राथमिकता दिइएको छ। ‘त्यसका लागि हरेक गाउँपालिका र नगरपालिकामा जलवायु मापन केन्द्र स्थापनाका लागि पहल गर्ने’, घोषणापत्रमा सुझाइएको छ। 
७७ जिल्लाका झण्डै ४ सय जनप्रतिनिधि र विज्ञ सम्मिलित सम्मेलनको छलफलको निष्कर्षलाई समेटेर गुफाडाँडा घोषणापत्र जारी गरिएको हो।

साढे दुई हजार मिटरको लेकाली क्षेत्रमा जुगल हिमशृंखलाको काखमूनि भएको सम्मेलनमा विज्ञहरुले जलवायु परिवर्तनका विभिन्न २२ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। ३८ जनाको विज्ञ समूहले प्रतिनिधिलाई प्राविधि सहजीकरण गरेका थिए। प्रतिनिधि र विज्ञको छलफलपछि जारी घोषणापत्रमा स्थानीय स्तरबाट हुने स–सानाकामबाटै जलवायु परिवर्तनका असर सुरुतर्फ संकेत गर्दै स्थानीय तहलाई यससम्वन्धी नीति, सुविधा, उपकरण र अधिकारले सम्पन्न गराउनु पर्नेमा जोड दिइएको छ। जलवायु परिवर्तनले मानव जीवनमा पारेका असर र समस्याका विषयमा प्रभावकारी सूचना उपलब्ध गराउने संयन्त्र बनाउन हरेक जिल्ला समन्वय समितिलाई समन्वयकारी भूमिका दिन जनप्रतिनिधिले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख