२ भाद्र २०७९, बिहीबार

कविता प्रेम कहानी

प्रेम कहानी ( छन्द :- शिखरिणी)

अरुण ज्ञवाली

कहाँ पोखौँ मैले असफल कथा यो पिरतीको ।
मलाई व्यर्थैमा अति जलन पार्ने प्रियसीको ।
बनाउँला भन्थेँ शरद रितुको प्रेम अमर ।
तिमी बाटो मोड्यौ रहर बनिगो आज रहर ।१।

थियो कालो लामो चमक भरिलो केश शिरमा ।
सिधै मोहित पार्थे नयन मृगका झैँ ति दिनमा ।
म पागल् हुन्थेँ हौ जबजब तिमी चुल्बुल गरी ।
लगाउँथ्यौ आँखा म तिर परबाटै घरिघरी । २ ।

तिमीले हाँस्दामा जगत सबयो उज्वल भयो ।
तिमीले रुँदामा कुटुकुटु भयो मन् जलन भो ।
तिमी मेरै आफ्नो सुख दु:ख भनेकै सब थियौ ।
र पो साट्थेँ पीडा अब मकन एक्लो गरिदियौ ।३।

तिमी जून्झैँ लाग्थ्यौ मन शितल पार्ने गरममा ।
तिमी धुन्झैँ लाग्थ्यौ अति मधुर बोली वचनमा ।
तिमी फूल्झैँ लाग्थ्यौ मगमग भरिन्थ्यौ पवनमा ।
तिमी मूल्झैँ लाग्थ्यौ बगरसरि यो जीवनमहाँ ।४।

कमाउँला मैले अरब अरबौँ सम्पति अनि ।
बनाउँला अग्लो घर शहरमा भैकन धनी ।
बसौँला मज्जाले हरबखत पैसा गनिगनी ।
सधैं केही केही अपुग रहने भो तरपनी ।५।

हुँदामा भेट् हाम्रो अपरिचित जस्तै बनिकन ।
नहिँडे है प्यारी अझ हृदय पोल्ने गरिकन ।
कता छौ खै काली हरबखत तिम्रै छु जपमा ।
भयौ प्राणै प्यारी पलपल बहन्छौ रगतमा ।६।

चखेवाका जोडी जब समिपमा देख्दछु म ता ।
तिनै दिन्को झल्को मनमगजमा फिर्दछ अहा ।
सधै पार्थ्यौ आँखा पिलपिल म जाँदा अलि पर ।
गराउँथ्यौ फिर्ने उहि पल तिमीले गरी कर ।७।

चिसो माघी बेला समय अति ठन्डा वरपर ।
पढाई सक्काई ल अब फिरुँ भन्दै प्रिय घर ।
पुगेकाथ्यौँ हामी जब चउरमा त्यो बखतमा ।
तिमीलाई देखेँ उहिपल बसालेँ मगजमा ।८।

कुरेँ बोल्ने भन्दै बिसदिन कतै भेट् गरिकन ।
तिमी अन्तै अन्तै हरपल म कुर्दै झनझन ।
बिते धेरै दिन् रात् छटपट भयो हर बखतमा ।
अहा मौका मिल्यो उहि चउरमा एक् समयमा ।९।

अती काँपे खुट्टा ढुकढुक भयो यो मुटु पनि ।
कसोरी बोल्ने हो प्रथम पलमा लौ अब भनी ।
भनी जे जे होला सहज सँग बोलेँ उसदिन ।
बिताउँला भन्दै जनम भरि माया गरिकन ।१०।

दिई यौटा रातो अति चमकिलो फूल र अनी ।
तिमीलाई माया हरसमय गर्नेछु म भनी ।
मनैमा गुम्सेका भनि सब कुरा गद्गद बनी ।
बिदा माँगे छिट्टै शुभ खबर पाउँ ल म भनी ।११।

कुरेँ यौटा हप्ता समय अति लामो बनिदियो ।
चिठी पाएँ छिट्टै खबर म भनेझैँ शुभ थियो ।
पुगे मेरा सारा रहरहरु भन्दै अब छिटो ।
कतै टाढा जाऔँ बसि गफ गरौँला अति मिठो ।१२।

तिमीनै आउँथ्यौ प्रतिदिन म सुत्दा सपनिमा ।
उठे तिम्रै माया पलपल सतायो विपनिमा ।
कुनै बेला देखौं भनि नयन यी ब्याकुल भए ।
यसो गर्दागर्दै कति दिन र हप्ता बितिगए ।१३।

थिए डाँडा पाखा सकल हरिया भैकन सफा ।
न ता ठन्डा तातो खुशि फिरि गए जीवहरुका ।
बिते गर्मी बर्षा शरदरितुको आगमन भो ।
यता धेरै लामो समयपछि हाम्रो मिलन भो ।१४।

पुग्यौँ ज्यादै टाढा घर शहर छाडीकन दुवै ।
छुँदै एक् अर्काका करकमल रोमान्चित हुँदै ।।
चखेवा लाम्पुच्छ्रे मयुर पनि जोडी बनिकन ।
डुलेका देखिन्थे सुखसित सबै ती मनमन ।। १५ ।।

निकै राम्री जून् झैँ अझ नयनमा गाजल भरी ।
हरीयो कुर्तामा सजिइकन हाँस्दै घरिघरी ।
कुरा गर्दागर्दै जब चुनरि तान्थ्यौ तलतल ।
मलाई त्यो लाग्थ्यो जगत भरकै सुन्दर पल ।। १६ ।।

तिमी जैले हेर्थ्यौ भुइँ तिर लजाई अलिकता ।
निकै थोरै बोल्थ्यौ उसपल नमानी सहजता ।
दुई मान्छे यौटै मन मुटु भएथ्यो उसघडी ।
नहोस् लाग्थ्यो राती बरु दिन बनोस यै अलि बढी ।। १७ ।।

सधैं देख्दा लाग्थ्यो चिरिबिरि गरेकी चरि तिमी ।
कि ता स्वर्गै छाडीकन तल झरेकी परि तिमी ।
नझिम्काई आँखा गगनतल देखी सुर पनि ।
तिमीमै हेर्दा हुन् हरपल म झैँ पागल बनी ।। १८ ।।

रुरु-४ गुल्मी

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख