२ भाद्र २०७९, बिहीबार

कविता “भ्रुणहत्या”

सबिता लामिछाने

जिन्दगी आफैमा एक अमूल्य
उपहार हो ! यस अर्थमा भाग्यमानी ठान्छु
आफूलाई जो मिलेको छ ।

स्वतन्त्र आकाशमा उडान भर्न
उन्मुक्त चराहरुसंङ्ग सिकेर अलिकति
स्वतन्त्रता
मागेर अलिकति रोशनी बिहानको कलिलो
घामसंङ्ग
खिलखिलाउदै गरेको गुलाबसंङ्ग सापटी
मागेर अलिकति सौन्दर्यता
म निस्केकी हुँ पुर्णताको यात्रामा !

आमा ! अस्तित्वको सुरुवात आफैमा
एक वरदान हो ! जुन मलाई पनि मिल्यो
तिम्रो वात्सल्यपुर्ण कोख ।
जिन्दगी चलाउने उर्जाकेन्द्र
अस्तित्व बिस्तारको बगैँचा
संस्कार संम्प्रेसणको सुन्दर सरगम
विकाश र सम्भावनाको विहङ्गम वागवान !

बिहानको चिसो मौसमलाई बेवास्ता गरी
भगवान अघि उभिएर तिमीले प्रार्थना
गर्दै गर्दा जोडिए मेरा पनि कोमल
औलाहरु
मैले पनि मागें खुसीको उज्यालो संसार
अनि हामी दुवैको लामो आयु
सायद तिमिले जस्तै!


तिम्रो आखामा साउन बर्सन खोज्दा
थर्थाराए मेरा एक जोर ओठहरु
कोमल औलाले छुन खोजें तिम्रो परेलीको
डिल
मेरो सुक्ष्म उचाइले मापन गर्न नसकेका
तिम्रा पीडा मेरा आखाबाट खसिदिए।
साटिदिन खोजें एक गिलास चिसो
पानीसंङ्ग!!
तिम्रो मुहारको मखमली फुलाउने
आसामा!

तिम्रो कांधमा उभिएको गह्र’गो
जिम्मेवारीलाई
कांध सार्ने आश्वासन दिएर
तिमी सङ्गै बाडेर अलिकति राधाप्रेम
सिकेर अलिकति मिराभत्ति
खोजेर सिताको सत्यता पद्मिनीको
सौन्दर्यता
नाइटिङ्गेलको हातको चिरागमा
क्युरीको रेडियम रश्मिको उज्यालोमा
पहिचानेर टेरेसाका तेस्रो आँखा।
थप्न चाहें एउटा नवीन पृष्ठ
स्वरलाताको स्वरको इतिहासमा
मिराले पिएको बिसको बुदमा
लक्ष्मीको बलिदानीमा
बनाउन छोरी हुनुको एउटा अलग
पहिचान।
आमा ! मैले सन्सारकी एक
असल छोरी बन्ने सपना देखेकी थिएं।

यी रंगिन सपनाहरू सेतो पृष्ठभुमिबाट
सभ्यताको मुहान खुल्नु अघि नै
खुल्लान नखुल्लान मेरा आखाहरु!
यो कालो सन्सारबाट देखिन्छ देखिन्न
उज्यालो संसार।
आमा!
जन्मिनु आफैंमा जित हो !
यसअर्थ म पर छु जितको श्रींखलामा
किनकी
सेतो कोटले मेरो लिङ्गपहिचानको
घोषणापत्र
बाबाको हातमा थम्याइदिएपछि
मैले भर्खरै सुनेको छु मेरो हत्याको योजना
तिम्रो गर्भासयबाट!!

भिमसेन-४ गोर्खा हाल, कीर्तिपुर

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख