८ आश्विन २०७९, शनिबार

विचार : तानसेन रमाइलो डाँडा (रामेश श्रेष्ठ)

‘केटाकेटीहरूका लागि पाल्पातिर गएर नयाँ सोच सल्लाहकासाथ भावी योजनाहरू तयार पार्ने ।’ बाल साहित्य समाज, काठमाडौँले यही निर्णय गरेछ यसपाला । लामालामा दुइटा बसहरूले पहाड, मधेस छिचोल्दै साँझपख पुर्‍याए तानसेन बजार ।

कलिलो घाम खेलिरहेथ्यो तानसेन टुँडिखेलमा । हातभरि फूलमाला, खादा, अबिर लिएर, स्वागतालुहरू नगरपालिका भवनभित्र तयार थिए । बालकको जीवन असल, राम्रो, र रमाइलो पार्न भेला भएका सबै बालहितैषीहरूलाई धवल पुस्तकालयका जोशिला, जाँगरिला युवा समूहले हार्दिक स्वागत, स्नेह र सम्मान प्रदान गरे । आफ्ना भनाइ, मन्तव्यहरूमा प्राय सबै वक्ताहरूको एउटै प्रण र सङ्कल्प थियो ” देशका सम्पूर्ण बालबालिकाका लागि हामीले जतिसक्दो गर्‍यौं, गर्छौँ र गरिरहनेछौं । उनीहरूको भलाइ नै हाम्रो भलाइ हो । उनीहरूको जीवन बन्नु नै देशको भविष्य बन्नु हो, किनकि देश भनेकै उनीहरू हुन् । उनीहरू भनेको हामी सबै हौं ।” शान्तदास दाइसँगै भारतीय बालसाहित्यका सर्जक, प्रकाशकहरूको उपस्थिति अनि उहाँहरूप्रतिको सम्मानले सम्मेलनको गरिमा चुलिएको थियो ।

धवल पुस्तकालयलाई पाल्पाको उच्च मस्तिष्क मान्छन् वौद्धिक वर्ग । बालसाहित्य समाजको २१औँ सम्मेलनको आयोजक धवल परिवारकै जोशिला र जाँगरिला युवाहरू बनेका थिए, जसमा मैले चिनेका भाइहरू थिए – राजेश अर्याल अनि बा.स.स.को तर्फबाट अनन्त वाग्ले र सूर्य बी.सी । अत्यन्त फूर्तिला र तगडा लाग्थे सचेत, जाँगरिला युवाहरू । आँगनभरि टाँगिएको ठूलो रङ्गीन पालभित्र सुरू भयो दिउँसोको सत्र । विद्वान विशेषज्ञहरूद्वारा विशेष मिहेनतकासाथ तयार पारिएका कार्यपत्रहरू प्रस्तुत भए । बालगीतका विषय, भाषा, शैलीहरूमा निकै गहिरो अध्ययन गरी तयार पारिएको कार्यपत्र प्रस्तुत हुँँदा म विशेष सचेत र उत्सुक थिएँ । प्रस्तुत कार्यपत्रहरूबाट मैले केही नयाँ अनुभव र शिक्षा प्राप्त गर्ने अवसर पाएँ । तर गीतलाई सिँगार्ने साङ्गीतिक कला एवं साजसज्जाका बारेमा केही उल्लेख नहुँदा केही अभाव खट्कियो । मेरो भनाइ राख्ने पालोमा ‘मेरो बालापनले किन नेपाली बालगीत गाउन पाएन ?’ त्यही अभाव पूरा गर्न मैले नेपाली बालगीतसङ्गीतको क्षेत्रमा काम गर्न सुरू गरेको यथार्थ बालगीत राखेँ । अङ्ग्रेजी नर्सरी राइम्सलाई मात्र आधिकारिक बालगीत सम्झनेहरूसँगको लडाइ, नेपाली बालगीतहरू स्थापित गर्दाका केही अप्रिय र कष्टप्रद अनुभवहरू त्यहाँ मैले सुनाएँ । अनि ‘ जुन देशको माटोमा जन्म लियौँ, त्यस देशलाई प्रणाम’ नामक बालगीतलाई बाल राष्ट्रगान बनाउन प्रस्ताव राख्दै सम्मेलनमा उक्त गीत बजाएर पनि सुनाएँ । अन्त्यमा, मेरो सङ्गीत रचनामा निर्माण भएका बालगीतहरू प्रस्तुत गरेँ । जसका सर्जकहरूमध्ये रामबाबु सुवेदी बालसाहित्य समाजको अध्यक्षको रूपमा समारोहमै उपस्थित हुनुहुन्थ्यो ।

‘सबै भन्छन् मलाई स्कुल किन नगा’को
कसैले नि बुझेनन् कापी कलम नभा’को
मेरो सानो गोठ नै, मेरो सानो स्कुल
गोबरका अक्षर,
पढ्न लेख्न मुस्किल
मेरो गाउँ ज्यामिरे,
जमुनीको छोरो म
काले भन्छन् मलाई, तर मान्छे गोरो म.. ‘

‘कलमले लेख्ने मन थियो हिउँले पो औंंला खाइदियो
कुहिरोमा लुकेको स्कुलले टाढै बसेर बोलायो
लेकका हामी केटाकेटी,
कुहिरोभित्र स्कुल छ
चौंरीलाई चराउँदै दिन बित्छ,
पढ्नु र लेख्नु मुस्किल छ..’

‘आमालाई छाडी जान्नौं हामी कतै
आफ्नो घर जता रमाइलो त्यतै रमाइलो पार्छांैं
आफ्नै फूलबारी नेपालका
हामी प्यारा छोराछोरी..’

‘मेरो जन्मदिनमा आमाले
मबाट धेरै आशा गर्नुभयो घरको मात्र हैन,
देशकै मान्छे बन्न धेरै आशिष दिनुभयो ..’

प्रकृतिले पनि बाल सम्मेलनमा आफ्ना सबै रूप प्रदर्शन गरेरै छाड्यो । बिहान पारिलो घामले लोभ्यायो, दिउँसो आकासभरि काला कैला बादल छायो, दिन ढल्कने समयमा एकझर पानी मज्जाले वषर्ायो अनि रातभर जताततै कडा चिसो छायो ..। . घनघोर पानी वर्षंदा पनि आयोजक साथीहरू आफ्नो कर्तव्यमा लीन थिए । कठै..! बालखहरूलाई माया गर्ने यी बालसेवकहरू खीर, मुलाको अचार त कहिले सेलरोटी र आलुको तरकारी हामीमाझ बाँड्न आउँथे । चिया त कति हो कति …!

पाल्पाका केही विद्यालयका होनहार छात्रछात्राहरू आ-आफ्ना प्रतिभा प्रदर्शन गर्न आएका थिए । आफ्ना उत्कृष्ट कृतिहरूका कारण उनीहरू पुरष्कृत, सम्मानित भए । अनि सम्मेलनको सार खिँच्दै, भावी योजना र कार्यक्रमहरूबारे जानकारी प्रस्तुत गर्दै सभाध्यक्षबाट सभा समापनको घोषणा गरियो । …मैले बिदाइ गीत गाएँ –

‘फेरि भेटुँला, गीत गाउँला
जीवनको यो दिन सम्झिरहुँला… ‘

हामीलाई भेट्न र स्वागत गर्न पारि मदनपोखरा पर्खिरहेको खबर तारम्तार आइरहेको थियो । ठूलो साँझ झरिसकेको थियो तानसेनमा, तिनै लामा दुई बसहरू पेटभरि टम्म हामीलाई भरेर हतारहतार मदनपोखरातिर हुँइकिए ।

..दमकडालाई मदनपोखराको काख भन्छन् पाल्पालीहरू । आहा…, राधाकृष्णजी..,अनि कति धेरै परिचित साथीहरू …! हाम्रा आत्मीय बलिया हातहरू मिले । सरकारमा पालैपालो बस्दै आएका अधर्मीहरूले पूरा नेपाललाई अन्धकारमा राखे, राखेका छन् र कतिसम्म राखिरहने हुन् थाहा छैन । हामी पुग्दा दमकडा पनि अन्धकारमय थियो तर अन्धकारलाई चेतनाको चहकले चिर्दै, दमकडा उच्च मा.वि.को हलभित्र, दृष्टिविहीन विद्यार्थी कलाकारहरूले बाजा बजाउँदै स्वागतका उज्याला गीतहरू गाए ।

ब्ााहिर चिसो जाडो र कालो अँध्यारो थियो । तर आँगनमा आगोका ठूल्ठूला धुनीहरूबाट ताता र राता लप्काहरू उठ्न थाले । धुनीको उज्यालो र न्यानोतातोमा एकातिर खानाको मेसो चल्दै थियो भने अर्कोतिर गीतको रन्को । मादल ठोकेर रातभर नाचे साथीहरू । रामप्रसाद ज्ञवालीजी र टंक पन्तको दोहोरी सुन्दा खप्न नसकेर ठुम्केनाच नाच्न धेरै नै निस्के । कोही कोही त हावामा उड्दैउड्दै नाचिरहेझैँ देखिन्थे ।

“पिपलछाँ गाइदेउ गीत नेपालको मायामा” गाइसकेपछि यसो हेर्दा त हामी थोरै मात्र बाँकी रहेछौँ । आगो पनि मधुरो भइसकेछ । बालसाहित्य समाज, काठमाडौँका सबै पाहुनाहरूलाई मदनपोखरा दमकडाका साथीहरूले होमस्टे कार्यक्रमअन्तर्गत घरघर लगिसकेछन् । मध्यरात ढल्किसकेको थियो, मिनप्रसाद बन्जाडे सर हामीलाई घर लान पर्खेर बसिरहनुभएको थियो ।

कोठामा हामी तीन जना थियौँ । रामप्रसाद ज्ञवाली, रामदेव पाण्डे र म । रामदेवको नाम सुन्नेबित्तिकै मलाई योगगुरु रामदेवको सम्झना आयो । ‘भारत स्वाभिमान’ को अभियान लिएर निस्केका उनको त्यो लक्ष्य के साँच्चै पूर्ण होला त ? नशामुक्त, भ्रष्टाचारमुक्त भारतकोे निर्माण । बेइमान राजनीतिज्ञहरूलाई देशभरबाट वहिष्कार र विस्थापित गर्ने अभियान । विदेशमा अवैधरूपमा जम्मा गरिएका चालीसौँ लाख करोड रुपियाँ फिर्ता ल्याउने प्रण । विदेशी कम्पनीबाट निर्माण भएका सामग्रीहरू वहिष्कार गर्ने अनि भ्रष्ट र बेइमानहरूलाई सत्तामा जान नदिएर योग्य, इमान्दार, असल व्यक्तिहरूलाई मात्र आगामी चुनावबाट सत्तामा पठाउने उद्घोष । आध्यात्मिक र आर्थिकरूपमा समृद्ध बनाएर विश्वमा महाशक्तिको रूपमा आदर्श-भारतलाई स्थापित गर्ने सङ्कल्प । के रामदेवको त्यो सपना सँाच्चै सफल होला त ? असम्भव त छैन होला तर सम्भव गराउन पनि कम कठिन त हुँदैन ।

बिहानी घामले उठायो । घरको पछिल्लो ढोकाबाट बाहिर निस्केँ । आहा…! माडी फाँटको माटोमाथि उभिइरहेको रहेछु म । खेतमा फिरफिरेले घुमीघुमी पानीको मसिनो फोहरा चारैतिर छोड्दै जमिन नरम र उर्वर बनाइरहेको थियो । हरहरि वाफ उठिरहेथ्यो माटोबाट । पातलो कुहिरो मन्द चालले भुईं छाड्दै माथिमाथि बेगिन थालेको थियो । आत्मविभोर थिएँ म ।

दृष्टिविहीन भाइबैनीको छात्रावासबाट बिहानै निम्तो आयो । त्यहाँ पुग्नेवित्तिकै ‘ मेरो प्यारो ओखलढुङ्गा’ गाउन उनीहरूले अनुरोध गरे । मलाई खुसी र अचम्म लाग्यो, २०३१ सालमा रेडियो नेपालमा हामीले रिकर्ड गरेर गाएको युगकवि सिद्धिचरणज्यूको ‘प्यारो ओखलढुङ्गा’ मैले धेरै समयपछि गाएँ । भाइबैनीहरूकै आग्रहमा ‘बलिदान’ का गीतहरू पनि सुनाएँ । छुट्टनिे बेलामा दृष्टिविहीन कलाकार भाइबैनीहरूले पनि गाए । उनीहरूको गहन गीत सुनिसकेपछि सगर्व मेरो मनले भन्यो, ‘आहा…! चेतनाले देश जुरुक्क उठेको छ ।’

दमकडा मा.वि.को छेवैको समीको बोट देखाउँदै शिक्षक साथीले भन्नुभयो “आजभन्दा उन्नाइस वर्षअघि तपाईंले यही रुखमुनि बसेर ‘सुनको दिन एक उदाउँछ रे’ गाउनु भएको थियो तर त्यो दिन त अझै उदाएन नि दाइ !” भन्नुभयो । उहाँ लाई भने -“भाइ, कालो रात ढलेको त देखिहाल्नुभयो । सुनौलो उज्यालो पूर्ववाट फैलिसक्यो तर सूर्य उदाउन चैं बाँकी नै छ । त्यो अवश्य उदाउँछ । प्रकृतिको नियम कसैले उलङ्घन गर्न सक्दैन । अवज्ञा गर्न दुस्साहस गर्नेहरू आफ्नै मूर्खताको कारण लोप हुनेछन् ।”

हिजो राति धुनी बालेर गीत गाउँदै गर्दा एक हूल भाइहरू आएका थिए । त्यसमध्ये एक जनाले मलाई भने- “सरले दमकडा स्कुलमा गीत गाउँदा तीन कक्षामा पढ्थेँ । अहिले त्यही स्कुलमा शिक्षक भएर विद्यार्थीहरूलाई पढाउँदैछु ।” अर्का भाइले पनि आफ्नो परिचय दिए- “सरको गीत सुन्थेँ उहिले, अहिले चैं सुनाउने काम गर्छु ।” “कस्तो गीत सुनाउनु हुन्छ ?” “गीत हैन, सप्ताह पुराण सुनाउँछु ।” अचम्ममा पारे भाइले मलाई । “धर्मैले भए पनि समाज र देशको सेवा गरौँ । सामन्ती संस्कृति र संस्कारको ठाउँमा जनतालाई हित गर्ने स्वस्थ विचार, व्यवहार रोपौँ, फैलाऔँ । यो नै धर्मभित्रको महान धर्म हो ।” उज्यालो चेहरा पार्दै मीठो हाँसो हाँसे भाइले ।

लामालामा बसहरू काठमाडौँ र्फकन ठीक्क परे । बालसाहित्यका साथीहरूलाई मदनपोखराले बिदा गर्‍यो । मैले चैं बालबालिकाहरूलाई बालगीत सुनाउन दमकडाको रिभर भ्याली स्कुल जानुपर्ने भयो ।

खाना खाने समय भयो । खाना खाँदाखाँदै रामप्रसाद ज्ञवालीजीको हिजोको उत्सुक प्रश्नको चर्चा उठ्योे “हैन हौ, यो ठाउँको नाम दमकडा कसरी र किन राखियो ? यसको खास अर्थ चैं के होला ?” मिन सरले आफ्नै अनुमानको कुरा गर्नुभयो -“खै मैले पनि बुझ्न त धेरै खोजेको हुँ तर खास अर्थ भेट्न सकिनँ । उहिले राणाका पालामा यही बाटो भएर बुटौल, परासीतिर झर्थेरे बराजुहरू । माडी फाँट पार गरेर ठाडो उकालो चढ्नुपर्दा कडासँग दम चल्ने भा’कोले यसको नाम दमकडा राखेको हो कि !” भातको स्वादसँगै हा..हा..हा.. हाँसोको स्वाद मिसियो ।

रिभरभ्याली स्कुलको आँगनभरि विद्यार्थीहरू भरिभराउ थिए । गीतहरूले साना कक्षाका विद्यार्थीसँग आत्मीयता बढाउन सजिलो बनायो । साँच्चै हो, गीतहरूले अप्ठयारा र असजिलाहरू फुकाइदिन्छन् । स्कुलका बालबालिकाले हामीलाई नभेटे पनि हामीले रचना गरेका थुप्रै गीतहरूसँग उनीहरूको भेटघाट भइसकेको रहेछ । रिभर भ्याली स्कुलका विद्यार्थीहरूका स्वरहरूसँग स्वर मिलाएर थुप्रै गीतहरू गाएँ –

‘कखगघ एविसिडी लेख्ने बानी राम्रो
रिसाउने, कराउने, रुने बानी नराम्रो
खाजा खाने बानी राम्रो,
भोकै बस्ने नराम्रो
कोचीकोची धेरै खाने बानी पनि नराम्रो…।’

‘इलमीका बारीमा
अङ्गुरका झुप्पा
अल्छेलाई ख्वाउँछन् लोप्पा …। ‘

स्कुलछेउकैै सितल छाहारीमा बसेर मदनपोखराका वुद्धिजीवी, अभिभावक र शिक्षक-शिक्षिकाहरू हाम्रा गीतहरू सुनिरहनुभएको थियो । उहाँहरूमध्ये प्रायः सबैलाई म चिन्दथेँ । गीत गाउँदागाउँदै आँखा जुझ्न पुग्दा आत्मीय मुस्कान छोड्नुहुन्थ्यो उहाँहरू ।

साथीहरू बराबर भनिरहनुहुन्छ- “मदनपोखरामा एउटा भिन्नखाले विशेषता छ – यहाँ बी.ए, एम.ए. पढेका, संस्कृतमा पनि शास्त्री, आचार्य गरेका विद्वानहरू आफँै भारी बोक्छन्, घाँस काट्छन्, गाइभैँसी गोठालो गर्छन्, भकारो सोहोर्छन्, हलो जोत्छन्, डोकोमा सागसब्जी तरकारीहरू राखेर बजारमा बेच्न जान्छन् । गाउँघरका सारा काम आफैँ गर्छन् । श्रम गर्न केही लाजलज्जा अप्ठयारो मान्दैनन् । हेर्दा मामुली मान्छेजस्ता देखिने तर कुरो र कामसँगै योग्यता, क्षमता बुझ्दा, वाफ’रे कता हो कता माथि …!” यी सब सुन्दा मलाई बराबर लागिरहन्छ, नेपालका सारा गाउँ, जिल्ला, अञ्चल वा भनौ पूरै देशले यो स्वभाव र संस्कृति आफूमा सारे नेपाल कति चाँडै समृद्ध र स्वाभिमानी हुन्थ्यो होला ! पञ्चायती व्यवस्थामा समेत नाम कमाएको थियो यो गाउँले । नमूना गाउँ भनिन्थ्यो मदनपोखरालाई ।

आहा..! वनजङ्गलमाझ सफा घरआँगन, हरेक घरको आँगनमा एकोटा फलैँचा । पाहुनाहरूलाई स्वागत सत्कार गर्ने शिष्ट, सभ्य, विनम्र स्वभाव र संस्कृति । आदरणीय पाठकहरू, मदनपोखरा एफ.एम.ले मलाई धेरै पटक लगेको छ आफू रहेको त्यो ठाउँमा । हरिया जङ्गल, सफा चौतारा, भर्खरै बढारेकाजस्ता वनभित्रका चौडा रातमाटे सडकहरू । विद्यालय, क्याम्पस, रेडियो स्टेसनको धनी र कफीखेतीमा प्रसिद्ध छ यो मदनपोखरा । कृषिमा पनि नयाँनयाँ प्रयोग गर्न सधैँ अग्रसर … । ” यी सब हुनुमा घण्टप्रसादज्यू र समाजका अन्य विशाल हृदयका असल मानिसहरूको धेरै ठूलो योगदान छ । हामी र हाम्रा सन्तान सबैले सधैँ उहाँहरूको गुन मान्नुपर्छ” भन्छन् मदनपोखराका गुनिला बासिन्दाहरू । धेरै वर्षअघि घन्टप्रसादज्यूसँग मदनपोखराकै एउटा घरको आँगनमा सँगै बसेर मोही खाएको सम्झना छ मसँग । आहा..! असल मानिसहरूसँगको एकछिनको उठ्वस् पनि कति प्यारो र गहकिलो !

मदनपोखराको अर्को एउटा विशेषताको बारेमा पनि राधाकृष्ण शर्मा सर बराबर भनिरहनुहुन्छ- “यहाँको समाजमा काङ्ग्रेस, एमाले, माओवादी र अरू पार्टीका मान्छेहरू हरेक छन् । तर राजनीतिक आस्थामा कसैले कसैलाई अपमानजनक व्यवहार गर्दैनन् । सामान्य छलफल र वादविवाद त हुनु पनि पर्छ, हुन्छ पनि । तर आफ्नो पार्टी भनेर अहङ्कार र दम्भ प्रदर्शन गर्दैनन् । एकआपसमा उँचनिचको व्यवहार पनि गर्दैनन् । मेरो पार्टीले भनेको भन्दै दवाव हाल्ने, धम्क्याउने, गाउँको विकास र एकतामा भाँजो हाल्ने, षडयन्त्र गर्ने क्यै गर्दैनन् । पार्टीका आदेशले गाउँ, समाज, परिवारको एकता, प्रगति-उन्नति बिगार्ने काम हुन्छ भने यहाँका मान्छेहरू पार्टीको त्यस्तो अहितकारी आदेशको अवज्ञा गर्छन् । आफ्नो पार्टीका लाइन स्वीकार्न र लागू गराउन जवरजस्ती गर्दैनन् । सर्वप्रथम त यहाँका गाउँले र बुद्धिजीवीहरू पार्टीभन्दा माथि रहेर गाउँ, समाज, देश र नयाँपुस्ताको भलाई हेर्छन् । यसरी नै यहाँ हरेक राम्रा कामहरू एक भएर सम्पन्न हुने गर्छन् । तपाईं पनि धेरै पटक आएर यहाँ कार्यक्रमहरू दिइरहनुभएको छ, तपाईंलाई कस्तो लाग्छ, हामीलाई भन्नुहोला । क्यै गल्ती कमजोरीहरू भए हामी स्वीकार्छौं, सुधार्छौं ।” राधाजीका कुराहरू सुनिसकेपछि पूरा देशले सुन्ने गरी मलाई चिच्याएर भन्न मन लाग्छ “सुन ए नेपाली जनता हो, राजनीतिक पार्टीहरूले वीभत्सरूपमा भत्काएका छन् हाम्रो देश, समाज र परिवारहरूलाई । आफूहरू यस्तो छियाछिया, टुक्राटुक्रा हुनुको कारण बुझेर, यस्ता अनेकौं विकृत षडयन्त्र र पीडाबाट मुक्त हुन मदनपोखराबाट यो संस्कार र संस्कृति हामीले कहिले सिक्ने ?” हामीलाई कति समय लाग्ने हो कुन्नि यो राजनीतिक ठगी, विश्वासघात झेल्दै यिनका माखेसाङ्लोबाट उम्किन ? अहिले त राजनीतिक ठगीले झन् आक्रान्तै पारेको छ हामी नेपालीलाई । तानसेन सितलपाटीमा केही दिन अघिमात्र गाउँका एक जना बूढा मान्छे रिसले बम्केको सम्झन्छु म “मुखले शान्ति र संविधान भन्ने, काम सार्न चैं अनेकको अत्तो थाप्ने ? भत्ता पचाउन टाइम थप्ने यिनका लीला कसले बुझेको छैन हँ ? खाली एकआपसमा दोषादोष गर्‍यो, जनतालाई मूर्ख र उल्लु बनायो । सत्तामा जान एकआपसमा मारामार मच्चाएर नाटक देखाउने, खान र फाइदा लिन चैं सबै एक ढिक्का ! हेर न जिल्लामा जनताका लागि आएका विकासका बजेट पनि यिनीहरू मिलिजुली भागशान्ति बाँडेर खान्छन्, लाज नभएका नकचरा, लाजपचाहाहरू ! जता पनि, जे गर्न पनि यिनीहरू आआफ्नो पार्टीको कोटा चलाउने ! जनतालाई त फास्स न फुस्स ! अनि यिनका पार्टीभित्र घुसेपछि जे गर्न पनि पाइने ? जति अपराध गरे पनि छूट ? जान्न पनि कति जानेको, बाहिर जनसभामा चैं मुख छाडाछाड्, भित्री मिटिङमा चैं मितमित भेट भएझैँ हँसिला र खुसिला ! गाउँमा त भोगिएकै हो, टी. भी.को पर्दामा पनि हेरिया’छ यिनका कृष्णचरित्र ! यति देखेँभोगेपछि पनि राजनीति भनेको बेइमानी र नेता भन्ने बेइमानहरू हुन् भन्ने कुरा प्रष्ट भएन र बाबु ?” बूढाले भोगेदेखेका कुराहरू चैं साँचा हुन् तर वास्तवमा राजनीति भनेको बेइमानी होइन सेवाको उच्चस्रोत हो अनि नेता चैं बेइमान होइनन् सम्पूर्ण देशको भलाईमा जुट्ने विशाल हृदयका संरक्षक, सम्पूर्ण देश र देशवासीको हितमा लाग्ने इमान्दार, चरित्रशील, जिम्मेवार महान् अभिभावक हुन् । तर दुर्भाग्य हाम्रो देशमा यस्तो छैन । राजनीतिलाई फोहोरी, भ्रष्ट र बदनाम पारिएको छ । तर अब सारा जनता मिलेर, पार्टीभन्दा माथि उठ्दै सर्वप्रथम राजनीति र नेतालाई शुद्ध पार्ने शुद्धीकरण अभियान चलाउनुपर्छ । अशुद्धहरूलाई पन्छाउनु पर्छ र शुद्धहरूलाई सेवाका लागि सम्मानपूर्वक नेतृत्व दिनुपर्छ ।

रिभर भ्याली स्कुलले दिएको ‘मायाको चिनो’ हातमा लिएर मूलबाटो भेट्न उकालो लाग्दा ठूलो रुखमुनिको वातावरण शान्त थियो । रुखमाथि हेरेँ, हाँगाहरूमा कतै कतै थोरै चमेराहरू झुन्डिरहेका देखिए । “ओहो सर, खै यहाँका हजारौंँ हजार चमेराहरू ! दिउँसै कत्रो कोलाहल हुन्थ्यो ।” मिन सरले रुखमाथि हेर्दै भन्नुभयो “खै हामी पनि अचम्मै छौँ, कसरी चमेरा मासिदैछन्… ! चमेरा मासिने कारणहरू खोज्दै यिनलाई जोगाउने अभियानमा अहिले गाउँ लागेको छ । त्यस्तै गिद्धहरूको संरक्षण गर्न पनि । अनि हाम्रो गाउँको सौन्दर्य र गौरव भनेकै सामुदायिक वनजङ्गल हो । यिनको संरक्षण र व्यवस्थित गर्न हामी अझ कटिवद्ध भएका छौं ।” मिनप्रसाद सरको मोटरसाइकल मलाई बोकेर तेर्सो कुद्न थाल्यो । नासपाती र आरूका फूलहरू देख्ता थाहा लाग्थ्यो वसन्त ऋतु छपक्क छाएको छ । दमकडा फाँटबाट देखिने पारी डाँडाहरू हेर्दा उहिले हाम्रो घरमा बज्ने जमानाको ग्रामोफोनको सम्झना आयो । जसमा कालो गोलो चक्का फन्फन्ती घुम्दै गाउँथ्यो । ‘तानसेन रमाइलो डाँडा बाबुसा’ब, तानसेन रमाइलो डाँडा ।’ मित्रसेन उहिले तानसेन आउनुहुँदा रच्नुभएको अनि बालखैमा सुनेसिकेको त्यो गीत पारीको तानसेन डाँडो हेर्दै मेरो मनले पनि एकनासले गाइरहेको थियो- ‘तानसेन रमाइलो डाँडा बाबुसा’ब, तानसेन रमाइलो डाँडा ….!

(मधुपर्क २०६८ साउन अंकबाट)

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख