४ कार्तिक २०७८, बिहीबार

आख्यान लेखनमा मेरो अनुभव र अभिमत : दिल साहनी

आख्यान त नाटकमा पनि हुन्छ । आख्यान त कवितामा पनि हुन्छ । रामायण महाभारत महाकाव्य हुन् । काव्य हुन् । कविता हुन् । साथसाथै आख्यान पनि हुन् । रामायण महाभारतमा कथा पनि छन् । उपन्यास पनि छन् । भए पनि आज हामीले आख्यान भने पछि मुलत कथा र उपन्यासलाई बुझ्दछौँ । कथा लेखनको अनुभव मसित छ । उपन्यास लेखनको अलिकति अनुभव पनि मसित छ । तर मैले कोरेको कुनै पनि उपन्यास पुस्तकारमा प्रकाशित नभएको हुनाले म कतै पनि उपन्यास लेखकको रूपमा चिनिएको छैन । चिनिने कुरो पनि भएन । म नेपाली साहित्य जगतमा कथाकारको रूपमा चिनिएको छु । मेरा अहिलेसम्म सैनिक समाचार, आमा, उदय, दीयो, बाटो, मादल, पसिना, कथामंच, जनमुक्ति, चासो, रूपरेखा, मधुृपर्क, गरिमा, मिर्मिरे, मातृभूमि, युगज्योति, नन्दन, कलम, जनघोष आदि जस्ता दुई दर्जनभन्दा बढी पत्रिकामा कथाहरू प्रकाशित भैसकेका छन् । मेरा अहिलेम्म चार कथा सङ्ग्रहहरू – युगपुरुष, खरानी गाउँ, क्यान्टोनमेन्ट तथा शिलाङका कथा प्रकाशित भैसकेका छन् । यस बाहेक भारतीय नेपाली कथा, असमको कथा यात्रा, प्रख्यात नेपाली कथा आदि जस्ता सामूहिक कथा सङ्कलनमा पनि मेरा कथाहरू समावेश गरिएका छन् । यी सब कुराले नै मलाई कथाकारको रूपमा चिनाएका होलान् । आख्यानकारको रूपम चिनाएका हृुन् । यसैले नै मलाई प्रगतिशील लेखक सङ्घले आख्यानका लेखनको सम्बन्धमा मेरो अनुभवलाई आख्यान लेखनको प्रशिक्षणको विषय बस्तु बनाएको होला ।

मलाई लाग्दछ कथा लेखनको लागि सर्वप्रथम कथाप्रति रुचि हुनु पर्दछ । मलाई अचम्भ लाग्दछ, म सानैदेखि कथा मन पराउँथेँ । लेख पढ गर्न नजान्दा पनि मलाई कथा सुन्न मन पर्दथ्यो । गाउँमा कथा भन्नुलाई शास्त्र हाल्नु भनिन्थ्यो । मलाई सर्वप्रथम मेरै आमाले राति सुत्ने बेलामा कथा सुनाउनु हुन्थ्यो । शास्त्र हाल्नु हुन्थ्यो । मैले अहिलेसम्म आमाले सानामा सुनाएको टुहुरी छोरीको कथा संझिरहेको छु । त्यो कथा मैले यस्तै दुई वर्ष अघि आमालाई फेरि सुनाउन लगाएको थिएँ । तर आमासित कथाहरूको ठूलै स्टक हुने कुरा भएन । यसैल सुत्ने बेलामा शास्त्र हाल्न परे उनै उनै कथा दोहोराउनुको कुनै विकल्प हुँदैनथ्यो । आमाले मलाई सुनकेशी रानीको कथा सुनाएको कुरा पनि म संझिन्छु । भ्यागुताको छाला काढी डम्फू बजाउँला हाम्री दिदी सुनकेशी रानी तिम्लाई कहाँ भेट्टाउँला जस्तो गीत मैले आमाकै मुखबाट सुनेको हूँ । ओर्लन ओर्लन सुनकेशी रानी विवाहको लगन टल्यो नि है – जस्ता कुरा आमाले हामीलाई गाएर नै सुनाउनु हुन्थ्यो । हाम्रा घरमा साइली सानीमा वा कान्छी सानीमा आएमा मैले उनीहरूलाई पनि शास्त्र हाल्न लगाउँथेँ । कथा सुनाउन लगाउँथे ।

स्कूल गएर अक्षर फोर्न सक्ने भए पछि मैले हाम्रो घरको आँटीमा राखेको टिनको बाकसमा थुप्रै किताव भेटेँ । ती कितावहरू बुबाका थिए । कति किताब दाइले पल्टनबाट ल्याएका पनि हुँदा हुन् । बुबाको मृत्यु पछि मेरा कान्छा बुबाका छोरा माइला दाइले नै बाकसबाट कति पुस्तकहरू निकालेर हिनामिना पारिदिएछन् । नेपाली कांगजमा मुद्रित मुलुकी ऐन पनि उनले कहाँ पुृराइदिएछन् । बाकसमा धार्मिक पुस्तकहरू पनि थिए । तर मेरो ध्यान खासै ती पुस्तकतिर आकर्षित भएन । मैले त्यहाँ मधुमालतीको कथा भेटेँ । मलाई मधुमालतीको कथा ढुंगा खोज्दा देउता मिले जस्तो लाग्यो । हाम्रो घरको आँटीलाई मैले लाइबे्ररी बनाएर मधुमालतीको कथा अत्यन्त धेरै रुचि राखेर पढेँ । मेरा बुबाले बीरसिक्काको कथा पनि पढ्नु भएको थियो रे । यो कुरा मैले आमाबाट चाल पाएको हुँ । बीरसिक्का बाँसखोलाका कुनै ठकुरीले लगेको हुनाले मैले त्यसको मुख हेर्न पाइनं ।

लामो समयसम्म इडियामा बस्दा मैले चन्दामामादेखि धर्मयुगसम्मका पत्रिका खोजी खोजी पढेँ । म सरिता र नई कहानियाँ जस्ता पत्रिकाको नियमति पाठक पनि भएँ । मैले कादम्बिनी तथा रिडरस डाइजेस्ट जस्ता पत्र पत्रिका पनि नियमित रूपमा नै पढेँ । त्यति मात्र होइन म असममा हाई स्कूलमा पढ्दा हिन्द पकेट बुक्सको नियमित पाठक पनि भएको थिएँ । म हिन्द पकेट बुक्सको घरलु लाइबे्ररी योजनाको सदस्य नै भएँ । मैले प्रत्येक महिनामा पोस्ट अफिसबाट हिन्द पकेट बुक्सका किताबको पार्सल प्राप्त गर्दथेँ र आफ्नो अध्ययनलाई जारी राख्दथेँ । म त्यहाँ स्कूलमा पढ्दा सोभियत भूमिको वार्षिक ग्राहक बनेको थिएँ । पाएसम्म म नेपाली पत्र पत्रिका र उपन्यास कथा सङ्ग्रह आदि खोजी खोजी पढदथेँ । लोकरामा नै मैले आमा उदय रूपरेखा आशा सुमन प्रभात भानु आदि जस्ता नेपाली पत्रिकाहरू प्राप्त भएसम्म पढ्ने गरेको थिएँ ं । त्यतिबेला नै मैले लीलबहादुर क्षेत्रीको उपन्यास बसाईं भेटेर पढेको थिएँ । मैले बसाई पढे पछि त्यसका प्रतिक्रिया लेखेर लीलबहादुर क्षेत्रीका नाममा पोष्ट गरिदिएको थिएँ । मैले लोकरामा नेपाली उपन्यास नपाएर आमालाई बाग्लुृङ बजारबाट उपन्यास खोजेर पठाइदिन भनेको थिएँ । उहाँले मलाई आँसु उपन्यास पठाइदिनु भएको थियो । त्यो उपन्यास खासै नाम चलेको उपन्यास थिएन । तै पनि मैले रुचिसाथ पढेको थिएँ ।

असमको लोकरा चारदुवारतिरका नेपालीहरू नेपाली पत्र पत्रिका पढ्न मन पराउँथे । उनीहरू हिन्दी आसामी तथा बंगाली भाषाका पत्रि पत्रिका र पुस्तकहरू पनि खोजी खोजी पढ्दथे । असम राइफल्सका लाहुरेहरूले पनि नेपाली साहित्य अध्ययन गर्ने वातारवण बनाएका थिए । उनीहरू छुट्टी गएर पल्टनमा हाजिर हुन आउँदा पत्रपत्रिका उपन्यास आदि बोकेर आउँथे । त्यहाँका नेपालीहरू त्यस्ता पत्रिपत्रिका र उपन्यास कथाका पुस्तकहरू डुलाई डुलाई पढ्दथे । कसैले एउटा उपन्यास प्राप्त र्यो भने त्यो सारा गाउँलाई पुग्दथ्यो । लोकरा चारदुवारतिरका अधिकांश नेपालीहरू कुनै पनि भाषाका गंभीर साहित्यिक पत्र पत्रिका र पुस्तक पढ्नुभन्दा पनि हिन्दीका सस्ता बजारु उपन्यास पढ्ने गर्दथे । त्यतिबेला त्यहाँका नेपालीहरूले निकै रुचि राखेर पढ्ने बजारु उपन्यासका चर्चित लेखकहरू थिए – कुशवाहा कान्त, प्रेम वाजपेयी, प्यारेलाल आवारा आदि । म पनि सुरु सुरुमा यिनै लेखकहरूले लेखेका बजारु उपन्यासतिर आकर्षित भएको थिएँ । त्यतिबेला लोकराका नेपालीहरूले बढी रुचि राखी पढ्ने हिन्दी उपन्यासमा गुुरुदत्तका उपन्यास पनि मानिन्थे । गुरु दत्तका उपन्यासमा फिल्म पनि बनेका हुनाले तिनको लोकप्रियता बढेको थियो ।

लोकराको फिप्थ असम राइफल्समा क्लर्कभा भर्ती भएका तेलिया गाउँ (शोणितपुर जिल्ला) का निधिप्रसाद उपाध्याय र फिप्थ आसाम राइफल्सकै हिन्दी स्कूलमा शिक्षकमा भर्ती भएका बिहाली (शोषितपुर जिल्ला) का तारा तिम्सिनासित मेरो घनिष्ठ सम्पर्क भयो । उनीहरू कथा लेख्थे र अध्ययन पनि गर्दथे । हामीहरू परस्परमा कथा कसरी लेख्ने भन्ने विषयमा छलफल गर्दथ्यौँ । मेरा सहपाठी दार्जीलिङका इन्द्र सुब्बा पनि मसित साहित्यका सम्बन्धमा चर्चा गर्दथे । उनले कलम नचलाए पनि मैले लेखेका कुृरा रुचिसाथ सुन्दथे र प्रतिक्रिया जनाउँथे । त्यसले मलाई मसाला दिन्थ्यो । त्यतिबेला नै गुवाहाटी विश्वबिद्यालयमा अंग्रेजीमा एम ए अध्ययन गरिरहेका चारदुवारका लीलाबहादुर राईसित पनि मेरो अत्यन्त आत्मीय सम्बन्ध भयो । उनी कलम त चलाउने थिएनन् तर साहित्यको अध्ययनमा चुर्लुम्म डुबेका व्यक्ति थिए । उनी नेपाली हिन्दी आसामी बंगाली र अंग्रेजी भाषाका पुस्तक र पत्र पत्रिका खुब पढ्दथे । मेरो उनीसित साहित्य सम्बन्धमा घण्टौ घण्टौँसम्म कुराकानी हुन्थे । मैले कथा लेख्न र प्रकाशित गर्न असमको लोकरा चारदुवार (पहिले दरं अहिले शोणितपुर जिल्लामा पर्ने) बाट नै प्रारम्भ गरेको हूँ । यसैले पनि मैले आख्यान लेखनको अनुभवको कुरा गर्दा मेरो यस पृष्ठभुमिलाई पनि बिर्सन हुँदन ।

लोकरा असमबाट म शिलाङमा पुगेँ । आख्यान लेखनको लागि शिलाङ अत्यन्त उपयुक्त ठाउँ थियो । शिलाङ कथा लेखनको लागि उर्वर भूमि थियो । दोस्रो विश्वयुद्धताक नेपाली भाषामा सुन्दरी समर्पण झण्डा आदि जस्ता चारबटा कथा लेखेर निकै चर्चित बनेका गोर्खा हाई स्कूल अपर शिलाङका प्रधान अध्यापक भोलानाथ गुरुङको आख्यान लेखनको थलो पनि यही शिलाङ थियो ।

दोस्रो विश्वयुद्ध ताक शिलाङकै अर्का आख्यानकार बबुर रानाले सपना कि विपना नामको लघु उपन्यास लेखेर नेपाली आख्यान साहित्यको जग बसालेका थिए ।

म शिलाङमा पुग्दा त्यहाँ मुख्यत कथा लेखनमा सक्रिय रहेका कथाकारहरू थिए – संतुलाल शंकर, कमल बगाले, जङ्गबहादुर थापा, अर्जुन निरौला, माया ठकुरी, दुर्गाप्रसाद अधिकारी, बिक्रमबीर थापा । पछि कथा लेखनमा कलम चलाउनेहरूमा अघि बढेका थिए – पोखरेल पीताम्बर, बिक्रम थापा, तुलसी क्षेत्री,, दल बहादुर घले, कमल राई, धनकेशर गुरुङ आदि । शिलाङबाट नै मेरै सम्पादनमा पहिलो कथा पत्रिका कथामंच प्रकाशित भएको थियो । शिलाङबाट प्रकाशित भएका पत्रिका उषा आशा सुमन मादल तरुण बिद्यार्थी, जनमुक्ति, जनशक्ति पसिना प्रवास आदिले कथा लेखनको क्षेत्रमा ठूलो भूमिका खेलेका थिए ।

म नेपाल आएर भैरहवा बुटवलमा स्थायी रूपले बस्न थाले पछि कथा लेखनको क्षेत्र साँगुरिएको जस्तो लाग्दथ्यो । तर पनि यस क्षेत्रमा बसेर कथा लेख्न कम्मर कसेर लागेका कपिल लामिछाने, गुरु दत्त ज्ञवाली, रुद्र ज्ञवाली, ऋषि भुसाल, दुर्गाप्रसाद अधिकारी प्रदीप प्रधान आदि सक्रिय रहेको हुनाले कथा लेखनको बातावरण अनुकूल नै रह्यो । फेरि यसै क्षेत्रमा बसेर प्रदीप नेपालले पनि कथा लेख्ने गर्दथे । गुल्मीमा नै बसे पनि कमल श्रेष्ठका कथाहरू बुटवलबाट प्रकाशित हुन्थे । यसैले बुटवल भैरहवा कथा लेखनको लागि उर्वर भूमि नै रह्यो । बुटवलमा बसेर नै जङ्गबहादुर शाहले उपन्यास विश्वामित्र लेखे । यस उपन्यासले पनि बुटवलको आख्यान साहित्यको गतिलाई अघि बढायो ।

यो त भयो मेरो आख्यान लेखनको पृष्ठभुमि । अब म कथा लेखनको सम्बन्धमा मेरो अनुभवबारे छलफल गर्न चाहन्छु ।
मलाई लाग्दछ कथा तीन प्रकारको पृष्ठभूमिबाट जन्मेका हुन्छन् । कथाकारले कुनै कथा पुरै कल्पनामा आधारित रहेर लेखेको हुन्छ । कुनै कथा केही कल्पनामा आधारित र केही सत्य घटनामा आधारित हुन्छन् । फेरि केही कथा पुरै सत्य घटनामा आधारित हुन्छन् । म ठान्दछु पुरै कल्पनामा आधारित कथाले बास्तविक जीवनलाई त्यति गहिरिएर समात्न सक्दैनन् । यसैले कथाकारले वास्तविक घटनालाई विषयबस्तु वा आधार बनाएर कथा लेख्न सक्नु पर्दछ । वास्तविक घटनामाथि आधारित रहेर लेखिएका कथाले नै मानव जीवनको सामाजिक यथार्थलाई प्रतिबिम्बित गर्न सक्दछन् । हुन त पुरै कल्पनामा आधारित रहेर लेखिएको कथाको आधार पनि वास्तविक जगत नै हुन्छ । फेरि पनि त्यसको वास्तविक घटनासित खासै सम्बन्ध हुँदैन । बरु त्यसले कुनै सत्य कुरा भन्नको लागि काल्पनिक कथाको तानाबाना बुनेको हुन्छ ।

सत्य घटनामा आधारित कथाहरू लेख्दा कल्पनाको सहारा पनि लिनु पर्ने हुन्छ । वास्तविक जीवनका घटनामा कल्पनाको जलप नदिने हो भने कथा कथा जस्तो हुँदैन । त्यो लेख निबन्ध वा रियोर्ट जस्तो हुन्छ । कुरा के भने कुनै पनि मान्छेको जीवन वा उसका जीवनमा घटेका सत्य घटना कथा जस्ता भएर पनि कथा नभएका हुन सक्दछन् । वास्तवमा ती कुराहरू त कथाको महल तयार पार्ने कच्चा पदार्थ मात्र हुन् । कच्चा पदार्थको कला संयोजनले नै कथाको आकार मात्र होइन आत्मा समेत बन्न सक्दछ । अन्यथा कुनै पनि मान्छेको जीवनका कथा वा उसका जीवनमा घटेका घटना नून नलागेको तरकारी जस्ता हुन्छन् । बेलबुट्टा नभरेका झ्याल ढोका जस्ता हुन्छन् । साज सज्जा नगरेका कोठा जस्ता हुन्छन् । रंग रोगन नगरेका घर जस्ता हुन्छन् ।

कथाकारले काल्पनिक घटनामा आधारित बनाएर कथा लेख्दा वास्तविक घटना जस्ता बनाएर पेश गर्नु पर्ने हुन्छ । फेरि वास्तविक घटनामा आधारित रहेर कथा लेख्दा काल्पनिक घटना हृुन् भन्ने पार्न सक्नु पर्दछ । आखिर कथाकारले लेख्ने कथा उनीहरूकै वरिपरि घुमेका पात्र पात्रा हुन्छन् । तिनीहरूका बारेमा कथा लेख्दा काल्पनिक कुरालाई जोड्न सकिएन भने कथाका पात्र पात्रालाई चिन्न सक्ने मान्छेले कथालाई कथाको रूपमा नलिएर जीवनी वा संस्मरणको रूपमा लिन पनि सक्दछन् । कुरा त्यति मात्र होइन कसैको जीवनलाई केन्द्र बिन्दु बनाएर कथा भन्दै जस्ताको तस्तै प्रस्तुत गर्न थाल्दा त्यो कथा नभएको हुन सक्ने मात्र होइन लेखकको कथाको पात्रसित असझदारी पनि बढ्न सक्दछ । त्यसैले कथाकारले कुनै पनि पात्रको बास्तविक कुरा वा घटनालाई कथाको साँचोमा ढाल्दा कल्पनाको तानाबुना बुन्न सक्नु पर्दछ । बेलबुट्टा भर्न सक्नु पर्दछ । यसले गर्दा वास्तविक कुरा पनि काल्पनिक कुरा जस्तो हुन जान्छ र काल्पनिक कुरा पनि एकदम वास्तविक कुरा जस्तो हुन पुग्दछ । कसैको पनि वास्तविक कथालाई काल्पनिक कथा जस्तो बनाएर प्रस्तुत गर्नु सक्नु ठूलो चुनौतीको कुरा हो । वास्तवमा वास्तविक जीवनका घटनालाई काल्पनिक घटना वा कथाका रूपमा र काल्पनिक घटना वा कथालाई बास्तविक घटना वा कथा जस्तो बनाएर प्रस्तुत गर्न सक्नुमा नै कथाकारको सफलता झल्किन्छ । कुरो यो पनि छ कुनै खास पात्र पात्राको वास्तविक जीवनलाई आधार बनाएर बिना कल्पना कथा लेख्न थाल्दछु भने पनि कथाको रूप दिनलाई कल्पनाको सहारा लिनै पर्ने हुन्छ । यस अर्थमा हामी के भन्न सक्दछौँ भने वास्तविक घटनाहरूका श्रृंखलामा आधारित कथामा कल्पनाको जलप हुन्छ र कल्पनाको महलमा खडा गरिएको कथामा वास्तविक जीवनका बाक्लै छिटा परेका हुन्छन् । कथा भनेको कल्पना र यथार्थको संयोजन हो ।

कुनै पनि कथाकारले कोठामा बसेर होइन समाजमा डुबेर कथा लेख्न सक्नु पर्दछ । किनभने कथाका जीवन्त पात्र पात्राहरू अँध्यारा र एकान्त कोठामा होइन मानवको बाक्लो बस्तीमा भेटिन्छन् । शहरको भीडमा भेटिन्छन् । निर्जन जङ्गलमा होइन मानव समाजमा भेटिन्छन् । भेटिन त कथा पशु पक्षी तथा भूत प्रेतमा पनि भेटिन सक्छन् । काल्पनिक स्वर्ग र नर्कमा पनि भेटिन सक्दछन् । तर जीवन्त कथा त मान्छेमा नै भेटिन्छन् । संंघर्षशील मान्छेको जीवनमा भेटिन्छन् ।

कथाका आफ्नै तत्व हुन्छन् । ती तत्वको अभावमा कथा कथा जस्तो हुँदैन । कथाको थिम विषय बस्तु, .पात्र पात्रा, पलट, दुष्टि बिन्दु, भाषा शैली आदि कथाका तत्व हुन सक्दछन् । तर कथाकारले कथा लेख्दा कथा तत्व कण्ठ पारेर कथा लेख्दैन । बरु अरूका कथा पढेर कथाकारले कथाका आवश्यक तत्वलाई अचेत रूपमा नै ग्रहण गरेको हुृन सक्दछ । कुरा के भने कथाकारले अरूका कथा पढेर कथा त यस्तो पो हुने रहेछ भन्ने कुरा वा कथा त यसरी पो लेखिने रहेछ भन्ने कुरा चाल पाउँछ । कथा पढ्दा वा कथा लेख्दा कथाकारलाई कथाका तत्वबारे विशेष बोध हुन जान्छ ।

कथा लेख्न त्यति सजिलो हुँदैन । कथा लेखेर पनि त्यो कथा नहुन सक्दछ । लामो अभ्याय पछि मात्र कुनै कथाकारले राम्रा कथा लेख्न सक्दछ । लिखतका ढाँचा जाने पछि लेखनदासलाई कुनै पनि प्रकारको लिखत लेख्न सजिलो भए जस्तै कथाकारलाई कथा लेखनको शिल्प जाने पछि कथा लेख्न सजिलो हुन जान्छ । कथाकारको मन मस्तिष्कमा कथाको शिल्प वा साँचो कोरिए पछि जुनसुकै घटनाले पनि सजिले वा स्वत स्फूर्त रूपमा कथाको रूप लिइसकेका हुन्छन् । भनौँ सिद्धहस्त कथाकारले कुनै पनि घटनालाई कथाको रूपमा हेरेको हुन्छ । कथाको रूपमा देखेको हुन्छ । मात्र आवश्यक हुन्छ त्यसलाई कोर्न ।

कथा वास्तविक जीवनका घटनामा आधारित भए पनि वा काल्पनिक जगतको उपज भए पनि त्यसमा विरोधाभास हुृनु हुँदैन । त्यसमा संगति मिलेको हुनु पर्दछ । त्यसमा तारतम्य मिलेको हुनु पर्दछ । त्यसमा स्वाभाविकता हुनु पर्दछ । कथामा विरोधाभास भयो वा संगति मिलेन भने त्यसले पाठकलाई खल्लो बनाउन सक्दछ । कथाकारले वा कथाको पात्रले एक ठाउँमा आफूले भनेका कुरा अर्को ठाउँमा बाझिने खालका बतायो भने त्यसमा संगति मिल्दैन । कथाका कुरा वा घटना विरोधभासपूर्ण हुन जान्छ । उदाहरणको लागि कुनै पात्रको उमेर पाँच अगाडि तीस वर्ष बताइको छ भने पाँच पछि पैतीस वर्ष बताउन जरुरी हुन्छ । कुनै कथामा हिउँ परेको बर्णन छ भने पुष माघ महिना उल्लेख गर्न ठीक हुन्छ । बैशाख जेठमा हिउँ परेको बर्णन ग¥यो भने त्यसले नेपालको पर्यावरण वा पृष्ठभूमिसित मेल खान सक्दैन । भर्खर गाउँबाट आएको पात्रले राजधानीमा संभ्रान्त परिवारले बोल्ने भाषा बोल्यो भने त्यो यथार्थपरक हुँदैन । पढेलेखेको पात्रले पढेलेखेको पात्रले जस्तो बोल्न आवश्यक छ । त्यसरी नै अनपढ पात्रले शिक्षित व्यक्तिले जस्तै कुरा ग¥यो भने त्यो अस्वभाविक हृुन जान्छ । यो पनि संगति नमिलेको बिरोधाभासपूर्ण कुरा हुन जान्छ । अस्वाभाविक हुन जान्छ । कथामा चैतमा जन्त भएका चित्रण ग¥यो भने त्यो नेपाली समाज र संस्कृतिसित मेल नखाने कुरा हुन सक्दछ । फागुन चैतमा हुरी चलेको दृश्य संगतिपूर्ण हुन्छ । असार साउनमा बादल लागेको र झरी परेको दृश्य उपयुक्त हुन्छ । कुरा के भने कथाकारको हरेक विषयमा व्यापक ज्ञान तथा अनुभव हुन जरुरी छ । कथाकारले विबाहको बर्णन गर्न प¥यो भने विबाह पद्धति वा संस्कृति र संस्कार जानेको हुनु पर्दछ । कथाकारले कुनै रोग वा रोगीको विषयमा कथा लेख्न थाल्यो भने उसलाई त्यस सम्बन्धमा राम्रो ज्ञान वा अनुभव हुन जरुरी छ । अन्यथा उसको कथा जीवन्त हुँदैन । यथार्थपरक हुँदैन । कथाकारले अदालतको घटना बर्णन गर्न प¥यो भने उसले अदालतको प्रक्रिया र कानून सम्बन्धी ज्ञान आवश्यक हुन जान्छ । भन्नुको अर्थ के हो भने कथाकारले जुन विषय घटना स्थान पृष्ठभूमि परार्यबरण पात्र पात्रा आदिलाई मध्यनजर राखेर कथा लेख्दछ उसलाई तिनको यथार्थ ज्ञान भएको हुनुपर्दछ जसले गर्दा कुनै कुरा कतै नबाझोस् । नखट्कियोस् । विरोधवासपूर्ण वा संगति नमिलेको नहोस् । सबै कुरा स्वाभाविक र यथार्थपरक नै लागोस् । ठीक ठाक लागून् । ढाँटेको कुरा काटे मिल्दैन भन्छन् । कथाकारलाई ढाटेका कुरा पनि मिल्ने तरिकाले भन्न सक्नु पर्दछ । काल्पनिक कुरा पनि यथार्थ कुरा जस्ता बनाएर प्रस्तुत गर्न सक्नु पर्दछ ।

कथाकारले कथामा पात्र पात्रालाई सम्बोधन गर्दा कुनै तपाइं र कतै तिमीको प्रयोग गरेको हुन सक्दछ । कतै तिमी त कतै तँ वा ऊ पनि प्रयोग गरेको हुन सक्दछ । जसलाई सुरुमा जुन सर्वनाम शब्दले सम्बोधन गरिन्छ अन्त्यसम्म त्यही सर्वनामले सम्बोधन गर्नु पर्दछ । सुरु सुरुमा कथा लेख्दा यस किसिमको त्रुटि भएको हुन सक्दछ । त्यसरी नै कथाकारले कथा लेख्दा कालको पनि ख्याल गर्न आवश्यक हुन्छ । कुनै कता पुराका पुरा बर्तमान कालमा पनि लेख्न सकिन्छ भने कुनै भूतकालमा पनि । फेरि कथा आवश्यकता अनुसार बर्तमान भूतकाल वा भविष्यकालमा पनि लेख्न पर्ने हुन्छ । कथा जुन कालमा लेखे पनि त्यो संगतिपूर्ण हुनु पर्दछ । बर्तमान कालमा भन्नु पर्ने कुरा भूतकालमा वा भूतकालमा भन्नु पर्ने कुरा बर्तमानकालमा भनियो भने त्यो अस्वभाविक हुन जान्छ । व्याकरणीय दृष्टिले त्रुटिपूर्ण हुने कुरा त छँदै छ ।

हरेक कथाले कुनै न कुनै अर्थ बोकेको हुन्छ । कथाकारले कथा लेख्दा कुनै न कुनै कुरा झल्काउन कथा लेखेको हुन्छ । आधुनिक कथामा कथाकारले कथाबाट भन्न खोजेको कुरा छायामा राखिएको हुन सक्दछ । कथाकारले कथा लेख्दा भरसक भन्न खोजेको कुरालाई पर्दामा राख्न खोज्दछ । पाठकले कथाकारले पर्दामा राखेको कुरालाई अनावरण गर्न सक्नु पर्दछ । कथाकारले कथाको माध्यमबाट पाठकसामु कुनै न कुनै संदेश संम्पेषण गर्न चाहन्छ । त्यस्तो संदेश पाठकले कथाको सांगोपांगो विश्लेषण गरेर मात्र उद्घाटित गर्नु पर्ने हुन्छ । कथाकारको कथा लेख्दा आफूले भन्न चाहेको कुरा चवाएर वा गुजुल्टाएर भन्छ भने पाठकले त्यसलाई छर्लङ्ंगाएर वा गांठो फुकाएर बुझ्न पर्ने हुन्छ । वास्तवमा कथाकार र पाठकहरूको बीचमा एक प्रकारले लुकामारी चल्छ । कथाकारले भन्न खोजेको कुरा नभनीकन भन्न चाहन्छ भने पाठकले कथाकारले वास्तवमा नभनी भन्न खोजेको कुरा के हो अनुसन्धान गरेर पता लगाउनृु सक्नु पर्दछ । कथाकारले आफूले भन्न खोजेको कुरा चोरले चोरेको माल समान लुकाए जस्तै लुकाउन खोज्दछ भने पाठकले पृुलिसले चोरेको माल समान अनुृसन्धान गरेर पता लगाए जस्तै पता लगाउन सक्नु पर्दछ । यसै प्रसंंगमा मैले एउटा अंग्रेजी विषयको शिक्षण विधि सम्बन्धी सेमिनारमा एकजना अंग्रजी विषयका प्राध्यापकले बर्जिनिया उल्ःफको सर्च लाइट कथा वर्षौं बषौँदेखि विद्यार्थीलाई पढाइरहे पनि आफूले त्यो कथा कत्ति पनि नबुझेको स्वीकारोक्ति प्रकट गरेको कुरा स्मरण गर्न पुग्दछु । वास्तवमा आधुनिक कथामा कथाकारले भनेका कुरा बुझे पनि कथाकारले त्यसो भनेर के भन्न खोजेको हो भन्ने कुरा नबुझिन पनि सकिन्छ । बुझे जस्तो लागे पनि गलत बुझिएको हुन सक्दछ ।

कथाकारले समाजमा कथाका लागि थुप्रै सामाग्री भेट्दछ । तर उसले आफूले भेटे जतिका सबै सामाग्रीलाई कथाको रूपमा व्यक्त गर्दैन । उसले समाजमा भेटेका वा देखेको जुन सामाग्रीमा उसले केही दम देख्दछ वा केही नबीनतम कुरा भेट्दछ त्यसलाई मात्र कथाको माध्यमबाट उद्घाटित गर्न खोज्दछ । जुन घटना वा कुराले कथाकारलाई झक्झकाउँदैन त्यस घटना वा कृुरालाई उसले आफ्नो कथाको विषयबस्तु बनाउँदैन । कुरा के भने कुनै विशेष घटना वा कुराले मात्र लेखकलाई कथा लेख्न उत्प्रेरित गर्दछ । कथाकारले आफूलाई छोएको कुरालाई मात्र कथा लेखनको विषयबस्तु बनाउने हुृनाले कथाकारसित कथाका प्लट वा विषयबस्तुृ सीमित हुन सक्दछन् । बास्तवमा कथाकारलाई आफू प्रभावित भएको घटना वा कुराले नै कथा लेख्न उत्प्रेरित गर्दछ । फेरि स्वयं कथाकार प्रभावित भएको घटना वा प्रसंगले पाठकलाई पनि प्रभावित पार्न सक्ने संभावना रहन्छ ।

कथाकारले कथाको प्लट वा सामाग्री खोज्न पनि सक्दछ । तर प्राय जसो कथाकारले कथाको प्लट वा सामाग्री खोज्नुभन्दा पनि कथाको प्लट वा सामाग्री नै कथाकारलाई खोज्दै आइरहेको हुन्छ । भन्नुको अर्थ के हो भने कथाका प्लट वा कथा लेखनका सामाग्री कथाकारका अगाडि आफैँ उपस्थित भएका हुन्छन् । मात्र कथाकारले तिनलाई देख्न र बटुल्न आवश्यक हुन्छ । फेरि कति अवस्थामा कथाको प्लट वा कथाको विषयबस्तु कथाकारले अप्रत्याशीत रूपमा प्राप्त गरिरहेको कुरा पनि कथाकारलाई थाहा हुँदैन । धेरै पछि मात्र कथाकारले अनुभूत गर्दछ वास्तवमा फलानो विषयमा कथा लेख्न पनि सकिन्छ । बास्तवमा फलाना विषय वा घटनाको त एउटा राम्रो कथा बन्न सक्दछ । कुरा के भने कथाकारले कथाका विषय बस्तु थुपारेको वा प्राप्त गरेको चाल नै पाउँदैन । कथाकारसित नै कथाको सामाग्री गाढधनको रूपमा थुप्रिएको हुन सक्दछ । स्वयंं कथकारलाई आफूसित गाढधनको रूपमा रहेको कथाको सामाग्रीका सम्बन्धमा कुनै ज्ञान नभएको पनि हुन सक्दछ । उसले आफैँले आफूमाथि उत्खनन गरेमा मात्र त्यस्तो गाढधनको रूपमा रहेको सामाग्रीमा उसको हातमा पर्न सक्दछ ।

कथाकारले कथा लेख्दा पाठकहरूमा कथा पढ्नलाई उत्सुकता जगाउने तरिकाले कथा कोर्नु पर्दछ । पाठकले कथा पढ्दा कथाले अब के मोड लिन्छ भन्ने कुरा पहिले नै अनुृमान लगाउन सक्ने अवस्था रह्यो भने त्यस किसिमको कथा फर्मुला प्रकृतिको कथा हुन सक्दछ । फर्मुला प्रकृतिको कथामा मौलिकताको अभाव रहन्छ । नवीनताको अभाव रहन्छ । यसैले यस्तो कथा कमजोर कथा हुन पुग्दछ । कथाले कुनै न कुनै रहस्य बोकेको हुन्छ । अथवा कथाकारले कथामा भन्न खोजेको कुरालाई रहस्यको रूपमा प्रस्तुत गर्दछ । यसैले पाठकले कथामा लुकेको रहस्य उद्घाटित गर्नको लागि कथा सर्तकता र सचेतापूर्वक अध्ययन गर्दछ । कथाकारले कथामा रहेको रहस्य नै वास्तवमा कथाको संदेश हुन सक्दछ ।

अपराधीले कुनै अपराध गर्दा आफ्नो अपराधको कुनै न कुनै चिन्ह छोडेको हुन्छ भने जस्तै कथाकारले पनि कथाको खास संदेश वा रहस्य बुझ्नको लागि पाठकहरूको निम्ति कुनै न कुनै संकेत छोडिदिएको हुन्छ । कथाकारले छोडेको संकेत पता नलगाई कथाले दिन खोजेको संदेश बुझ्न सकिन्न । कुरा के भने कथाभित्र लुकेको वा बन्द गरेर राखेको संदेशलाई खोल्ने चाबी कथामा नै हुन्छ । कथाकारले चाबी चिनेर कथाको बन्द बाकस खोल्नु पर्ने हुन्छ । त्यसमा लुकाएर राखेको संदेश पता लगाई उद्घाटित गर्नु पर्ने हुन्छ । कथा बुझ्नु भनेको कथाको मर्मलाई बुझ्नु हो । कथाको मर्म नै कथाको संदेश हो । मंत्र हो ।

कथाको शीर्षकले पनि कथा बुझ्नलाई चाबीको काम गर्न सक्दछ । यसैले कथाकारले कथाको शीर्षक राख्दा त्यसले कथाको मूल मर्मलाई प्रतिबिम्बित गर्छ कि गर्दैन भन्ने कुरामा विचार पुराउनु पर्ने हुन्छ ।

निश्चित रूपमा कथा समाज वा मान्छेको जीवनको सिंगो चित्र होइन । यसले त जीवनको एउटा घटना वा क्षणलाई प्रतिबिम्बित गर्दछ । कथा निकै लामा पनि हुन सक्दछन् । निकै छोटा पनि । तर एक कम चिया पिउँदा पढेर सिध्याउन सकिने कथा बढी लोकप्रिय यस कारणले पनि हुन्छ कि मान्छेहरूसित धेरै लामो कथा पढिरहने समय हुृँदैन । समय भए पनि पाठकहरू थोरै समयमा धेरै कुरा बुझ्न चाहन्छन् । लामो कथा देखे भने उनीहरू त्यसलाई नपढ्न पनि सक्छन् । लघु कथाले छोटो समयमा धेरै कुरा भन्न सक्ने हुनाले पनि पाठकहरू यस किसिमका कथा पढ्न रुचाउँछन् ।

उपन्यास र कथामा प्रकारमा नभएपनि आकारमा अन्तर हुन्छ । कथा र उपन्यासको अन्तरका बारेमा चर्चा गर्दा जहिले पनि मैले त्रिविवि आयोगको अन्तरवार्ता बस्दाको एउटा प्रसंगलाई स्मरण गर्न पुग्दछु । अन्तरवार्ताको सिलसिलामा प्रा डा श्रीधर लोहनीले मलाई उपन्यास र कथाकोबीचमा रहेको अन्तर बारे प्रश्न गरेका थिए । मैले त्यसको जवाब दिंदैँ भनेको थिएँ —यदि उपन्यास घर हो भने ….। मेरो उत्तर नटुंगिदै डा, लोहनीले भनेका थिए – कथा चिमनी हो । वास्तवमा मेरो मनमा चिमनीको बिम्ब थिएन । शायद डा.लोहनीको मनमा पनि चिमनीको बिम्ब थिएन । तर मैले उपन्यास घर हो भन्दा उनलाई कथा चिमनी जस्तो लाग्यो । उनले कथालाई चिमनी बताएको कुरालाई समर्थन गर्दै मैले तुरुन्त भनेको थिएँ – हो यदि उपन्यास घर हो भने कथा चिमनी हो । वास्तवमा कथा चिमनी हो भन्ने कुरा स्वर्त स्फूर्त रूपमा भनिएको भए पनि मलाई यो बिम्ब सठीक लागेको छ । निश्चित रूपमा उपन्यास घर हो भने कथा चिमनी नै हो ।

कथा राम्रो हुनु वा नहुनुमा प्रस्तुतिको पनि निकै ठूलो हात हुन्छ । वास्तवमा प्रस्तुति कथाको निकै ठूलो कला हो । लेखकले कुन कुरा कहाँ भन्दा वा राख्दा आकर्षक हुन्छ त्यो जान्नु पर्दछ । कुन कुरा कहाँ भन्ने र कतिबेला भन्ने कुरा प्रस्तुतिकै कुरा हो । कथाको प्रस्तुति राम्रो भएन भने कथाको विषय बस्तु जति राम्रो भए पनि कथा राम्रो नहुन सक्दछ । कथाको प्रस्तुतिलाई कुनै घर वा कोठाको डिकोरेसनसित पनि तुलना गर्न सकिन्छ । घर वा कोठा डिकोरेसन गर्ने सबै आवश्यक र उपयुक्त सामाग्री उपलब्ध भएर मात्र पुग्दैन । कुन कुरा कहाँ सजाउने भन्ने कुरा घर वा कोठाको डिकोरेसन गर्ने व्यक्तिले राम्ररी जान्दछ । डिकोरेसन कलामा दक्ष व्यक्तिले मात्र घर वा कोठाको राम्रो डिकोरेसन गर्न सक्दछ । कुनै मखण्डी व्यक्तिले घर वा कोठाको डिकोरेसन ग¥यो भने त्यो घर वा कोठा एउटा गँवार व्यक्तिले आफ्नो अनुहार सुन्दर बनाउन जथाभावी क्रिम पाउडर दले जस्तो हुन्छ । अनुहारभरि जथाभावी क्रिम पाउडर थुपारे जस्तो हुन्छ ।

निश्चित रूपमा कथाको अन्त्य अत्यन्त प्रभावशाली हुन जरुरी हुन्छ । यस कारण पनि कि अन्त्यमा उल्लेख कुराले पाठकको मन मस्तिष्कलाई पछिसम्म झंकृत पारिरहेको हुन्छ । कथाको अन्त्य विजुलीको करेन्टले दिने झट्का जस्तो हुन आवश्यक हुन्छ । यस्तो झट्काले मात्र पाठकको मन मस्तिष्कलाई पछिसम्म झंकृत पार्न सक्दछ । मन मस्तिष्कलाई एक प्रकारले खल्बलाउन सक्दछ । उथल पुथल पार्न सक्दछ ।

कथाकारले कथाको चित्र मात्र प्रस्तुत गर्नु पर्दछ । त्यसको अर्थ लगाउने जिम्मा पाठकमा छोडिदिनु पर्दछ । कथाकार कथामा बोल्दा बोल्दै पनि मौन रहन्छ । जहाँ कथाकार मौन रहेको छ त्यहाँ पाठकहरू बोल्दछन् । वास्तवमा कथाकारले पाठकलाई बोल्न लगाउन नै आफू मौन रहेको हुन्छ । कथामा कथाकारले नै सबै कुरा भन्यो भने त्यो कथा फितलो हुन्छ । सपाट हुन्छ । पहिले पहिलेका कथामा कथाकार नै बोल्दथे । पाठकहरूलाई बोल्नलाई कुनै ठाउँ छोडिदिने थिएनन् । तर आधुनिक कथामा कथाकार बोल्दछ पाठकलाई बोल्न पर्ने अवस्था सृजना गर्न । पाठकलाई बोल्न वाध्य गराउन ।

कथा काल्पनिक भएर पनि वास्तविक हुन्छन् । सत्य हुन्छन् । यदि कथाकारले काल्पनिक कथा लेखेर पनि पाठकले त्यस कथालाई वास्तविक कथाको रूपमा ग्रहण गर्न सकेनन् भने त्यस कथालाई राम्रो कथाको रूपमा स्वीकार गर्न सकिन्न । कथा यथार्थ वा वास्तविक हुृनको लागि त्यो जीवनको नजिक हुनु पर्दछ । समाजको नजिक हुनु पर्दछ । हाम्रा बिचारको नजिक हुनु पर्दंछ । हामं्रा भावनाको नजिक हुनु पर्दंंछ । हाम्रा अनुभव र अनुभूति नजिक हुनु पर्दछ । यसैले त कथा जति काल्पनिक भए पनि वास्तविक जस्तो हुन्छ ।
मैले कथा लेख्दा सत्य घटनालाई आधार बनाए पनि तिनलाई काल्पनिक रंग दिने प्रयास गरेको छु । मैले यसो गर्नाको खास कारण मैले र मेरा सम्पर्कका व्यक्तिहरूले मैले कुन घटनालाई वा कुन व्यक्तिलाई पात्र बनाएर कथा लेखेँ भन्ने कुरा चाल नपाउनृु भनेर नै हो । यसरी कथा लेख्दा मैले कथामा चित्रित गरेको घटना वा व्यक्ति जो पनि हुन सक्दछ । यसरी कथा लेख्दा मैले लेखेको कथाका कुरा पाठकहरूले मेरा कथामा मात्र होइन समाजमा पनि खोजिरहन्छन् । सबै कुरा उदांगो भयो भने पाठकहरू खोज्नु पर्ने कुनै कुरा हुँदैन । बुझ्न पर्ने कुनै कृरा हुँदैन । थाहा गर्नु पर्ने कुनै कुरा हुँदैन । यसले गर्दा कथा फितलो हुृन जान्छ । तर कति अवस्थामा मैले चाहेर पनि कथाको घटना वा पात्र पात्राहरूलाई लुकाउन सक्दिनं । यस कारण कि कति कथासित सम्बन्धित घटना वा पात्र पात्रा सार्वजनिक भैसकेको हुन्छन् । सार्वजनिक नभए पनि मेरा सम्पर्कका धेरै व्यक्तिलाई थाहा भैसकेका कुरा हुन्छन् । मैले जुनेली सार्की शीर्षकमा एउटा कथा लेखेको छु । यो कथा हामीले शिलाङबाट प्रकाशित गरेको पत्रिका जनमुक्तिमा छापिएको छ । यो कथाको पात्र साँचो व्यक्ति हो । ऊ गुल्मीको जुन्याबाट जमानामा शिलाङतिर लागेर त्यतै बिलाइरहेको पात्र हो । हराइरहेको पात्र हो । हामीले नयाँ चेतना बिक्री बितरण गर्न नेपालीहरूको बाहुल्य भएको नयाँ बंगलामा लाग्ने हाटबजारमा जाँदा त्यस पात्रलाई भेटेका थियौँ । मलाई लाग्यो जुनेली सार्की आफैँ मेरा अगाडि कथाको एउटा जीवित पात्र भएर उभिएको थियो । मैले थोरै मेहनतले त्यसलाई कथाको रूप दिएको हुँ । यस कथालाई हालै मैले बुटवलबाट प्रकाशित गरेको कथा सङ्ग्रह शिलाङ कथामा संगहित गरेको छु । पछि मैले यो कथा पढ्दा मलाई लाग्यो यस कथामा पाठकले बोल्ने कुनै ठाउँ नराखेर म आफैँ बोलिरहेको छु । त्यसेले मैले कथामा थोपरेका वा म आफैँ बोलेका कुरालाई हटाइदिएर प्रकाशित गरेको छु । अब जुनेली सार्कीमा म बोल्ने ठाउँमा म बोलेको छु । पाठकलाई बोल्न छोडेको ठाउँमा स्वयं पाठकहरू नै बोल्ने छन् । मैले यस कथाको नालीबेली खोले पछि यस कथाबारे धेरै कुरा सार्वजनिक भयो । अन्यथा यस कथाका नालीबेली मसित नयाँ चेतनाको बिक्री वितरण गर्न गएका साथीहरूले र नयाँ बंगला क्षेत्रमा जुनेली सार्कीलाई चिन्ने जान्ने व्यक्तिले मात्र चाल पाउन सक्दथे ।

मेरो कथा सङ्ग्रह खरानी गाउँमा प्रकाशित कैयौँ कथा सत्य घटना वा पात्र पात्राहरूसित सम्बन्धित छन् । तिनीहरू वास्तविक जगतबाट प्रस्तुत गरिएका घटना वा पात्र पात्रा हुन् । यो कुरा बेग्लै हो कि मैले वास्तविक घटनालाई कथाको आवरण दिन र प्राण दिन काल्पनिक घटना र पात्र पात्राहरूको पनि मदत लिएको छु । मैले बर्मेली, पल्लेदार, अनागरिक, चिहान, खरानी गाउँ आदि कथाहरूका वास्तविक घटना वा पात्रहरूलाई काल्पनिक घटना वा पात्रको तानाबाना बुनेर प्रस्तुत गरेको हुँ । सिंगार पटार गरेर प्रस्तुत गरेको छु । त्यसरी नै क्यान्टोनमेन्टमा समावेश गरिएका जुंगे सर, दाई आतंकवादी, गढवाली हवल्दार, मुद्दा, बबाल, आमाको आँशु आदि जस्ता कथामा चित्रित सत्य घटना वा पात्रलाई मैले काल्पनिक घटना वा पात्र पात्राको भेषमा प्रस्तुत गर्ने जमर्को गरेको हुँ । मेरा यी कथामा म बोल्नु पर्ने ठाउँमा बोलेको छु र म मौन रहन पर्ने ठाउँमा मौन रहेको छु । जहाँ म मौन छु मलाई विश्वास छ पाठकहरू नै बोल्नेछन् ।

मेरा कति कथाहरूमा मैले वाध्य भएर सत्य घटनालाई सत्य घटनाको रूपमा प्रस्तुत गरेको छु । यसको अर्थ हो त्यसमा चित्रित कथाका पात्र पात्राहरूको नाम परिवर्तित गरिएको भए पनि घटना सत्य तथ्यमा आधारित भएको हुनाले त्यसलाई मैले काल्पनिक बनाउन थालेँ भने त्यस घटना वा पात्रहरूलाई नजिकबाट देखेका जानेका आम पाठकहरूले सत्य तथ्य बंगाएको वा गलत सूचना प्रसारित गरेको रूपमा बुझ्न सक्नेछन् । मेरो कथा यथार्थ भएर पनि यथार्थ जस्तो हुन सक्ने छैन । मेरा सर्वप्रथम गरिमामा प्रकाशित चिहान र चिनिया केटी कथा यस मार्कका कथा हुन् । मेरो अप्रकाशित दंगा पनि त्यस्तै प्रकारको कथा हो । मैले कथामा केही काल्पनिक कुरालाई जोडजाड गरे पनि कथाको विषयबस्तु सत्य घटनामा आधारित छ । हो पुरै काल्पनिक घटना तथा पात्र पात्रालाई विषयबस्तुृ बनाएर लेखिने कथाहरूमा लेखक स्वतन्त्र र स्वच्छन्द तरिकाले कल्पनाको आकाशमा बिचरण गर्न सक्दछ । सत्य घटना वा पात्रहरूलाई केन्द्रमा राखेर लेखिने कथामा कथाकार कल्पनाको जगतमा खासै विचरण गर्न पाउँदैन । सत्य घटना र पात्रहरूले उसका हातखुट्टा बाँधिदिएका हुन्छन् । उसका कल्पनाको पखेटा काटिदिएका हुन्छन् । हो, यस्ता कथामा उसले कल्पनाका ठुटे पखेटा फटफटाउन त निश्चय नै खोज्दछ । तर कल्पनाको बेग मारी आकाशमा स्वतन्त्रपूर्वक उड्न सक्दैन ।

मुलुकमा निरंंकुश शासन सत्ता भएको अवस्थामा वा अभिव्यक्तिको स्वतन्त्रता नभएको बेलामा कथाकारले सत्य उद्धाटन गर्न चाहेमा त्यसलाई घुमाउरो तरिकाले प्रस्तुत गर्नु पर्ने हुन्छ । आधुनिक युगको कथालाई पनि लोककथा वा परिकथाको रूपमा पनि प्रस्तुत गर्नु पर्ने हुन्छ । मिथ, एलिगरी वा रूपकको रूपमा प्रस्तुत गर्नु पर्ने हुन्छ । मेरो मिमाको प्रतिमा त्यस्तै कथा हो । मैले यो कथा एकजना बालिकाको सम्झनामा बनाएको मुर्ति हटाई राजाको शालिक बनाएको सत्य घटनालाई विषयबस्तु बनाएर कथा लेखेको हुँ । सत्ताले अबैधानिक मानेको विषयमा कथा लेख्दा मैले काल्पनिक पात्र पात्रा र काल्पनिक राज्यको परिकल्पना गर्नु परेको हो । मेरो यो कथा खरानी गाउँमा प्रकाशित भएको छ । मेरो यस कथालाई मन पराएर कथाकार माया ठकुरीले पोखराको गण्डकी बोर्डिङको बोर्डमा पनि राखिदिएको कुरा सुनेको हूँ । मिमाको प्रतिमालाई हामी भविष्य कथाको रूपमा पनि लिन सक्दछौँ । मैले मेरो काल्पनिक कथामा परिकल्पना गरेको कुराले पछि साँचो घटनाको रूप लियो । यस अर्थमा मेरो यो कथा भविष्य बाणी जस्तो भयो ।

मेरो खरानी गाउँमा नै प्रकाशित अर्को कथा डमसी राजधानीमा गाईको मासु खान पाउनृु पर्छ भन्ने सम्बन्धमा उठेको आवाजको तीव्र बिरोध भइरहेको अवस्थामा लेखिएको थियो । यस कथालार्इं मातृभूमिले प्रकाशित गरेको थियो । मातृभूमिले हिम्मत गरेर मेरो कथा डमसी प्रकाशित गरिदिएको भए पनि ठाउँ ठाउँमा गाईको मामुको सट्टामा त्यस्तो मासु लेखेको थियो । यसबाट के कुरा स्पष्ट हुन्छ भने कति कथा निरंकुश सत्ताको कोपभाजनबाट जोगिंदै लेख्नु पर्ने हुन्छ भने कति कथा खास खास समाज समूह वा समुदायको कोपभाजनबाट बच्दै लेख्नु पर्ने पनि हुन सक्दछ । यसको अर्थ के हो भने कथा लेख्नु ठूलो जोखिमको कुरा पनि हो । ज्यानकै जोखिमको कुरा पनि हो ।

निश्चित रूपमा पत्रकारले सूचनाको स्रोत खोल्न नचाहे जस्तै कथाकारले पनि कथाको स्रोत खोल्न चाहँदैन । तर यदि कथाकारले व्यापक रूपमा सार्वजनिक भएको विषयमा कथा लेख्छ भने त्यसलाई लुकाउन संभव हुन्न । फेरि सत्य तथ्य घटनामा आधारित यस किसिमका कथा लेख्दा बढी कल्पनाको उडान भ¥यो भने त्यो जानकार पाठकको लागि सुपाच्य हुँदैन । त्यस्तो कथा जति यथाथवादी भए पनि पाठकहरूले यथार्थवादी कथाको रूपमा ग्रहण गर्दैनन् । पाठकहरूले काल्पनिक कथालाई पनि सत्य कथाको रूपमा अध्ययन गर्दछन् । यदि उनीहरूले कथाकारले सत्य कथालाई पनि काल्पनिकताको रंग रोगन दिएर प्रकाशित गरेको देखे भने उनीहरूले त्यसलाई कवाफमा हड्डीको रूपमा लिन सक्दछन् । उनीहरूका गासमा ढुंगा लाग्न सक्दछ ।

कथा लेखनमा बर्गीय दृष्टिकोणले महŒवपूर्ण मात्र होइन निर्णायक भूमिका खेल्दछ । बर्गीय समाजमा बर्गीय दृष्टिकोण हुनु स्वभाविक कुरा नै हो । फेरि बर्गीय दृष्टिकोण कुनै न कुनै दार्शनिक सैद्धान्तिक बिचारबाट निर्देशित हुन्छ । साहित्य र कलाको क्षेत्रमा प्रगतिवादीहरूले समाजवादी यथार्थवादी दृष्टिकोणबाट निर्देशित रही साहित्य र कलाको सृजना गर्दछन् । समाजवादी यथार्थवादको दार्शनिक आधार द्वन्द्वात्मक भौतिकवाद नै हो । यसको अर्थ के हो भने प्रगतिवादी लेखकहरूले समाजका उत्पीडित बर्ग मजदुर किसान वा सर्वहाराबर्गको स्वार्थको पक्षपोषण गर्दछन् । जवकि सामन्तवादी वा पूंजीवादी बर्गीय दृष्टिकोणबाट निर्देशित लेखकहरूले सामन्त पूंजीपति वा शोषक र शासक बर्गको स्वार्थको पक्षपोषण गर्दछन् । यसरी दुई विपरीत बर्गीय दृष्टिकोणले निर्देशित भई घटना वा पात्र पात्रका क्रियाकलापलाई हेर्दा कथामा फरक फरक चित्र कोरिएको हुन सक्दछ । सामन्त वा पूंजीवादी दृष्टिकोणले निर्देशित भएका लेखकहरूले सामन्त र पूैजीपतिलाई सकारात्मक पात्र पात्रको रूपमा प्रस्तुत गर्ने छन् । उनीहरूलार्ई आदर्श पात्र पात्राको रूपमा प्रस्तुत गर्नेछन् । यसको ठीक उल्टो सर्वहाराबर्गीय बर्ग दृष्टि राख्ने प्रगतिवादी लेखकहरूले समाजका उत्पीडित बर्ग मजदुर किसान वा सर्वहाराबर्गलाई आदर्श पात्रको रूपमा चित्रण गर्दछन् । उनको हितको पक्षपोषण गर्दछन् । उनको पक्षधरता प्रदर्शित गर्दछन् ।

म सुरुका दिनमा कुनै खास दृष्टिकोण नबनाई कथा कोर्दथेँ । फेरि पनि म शुस्मा दिनमा जान अनजान रूपमा मुख्यत बुर्जुवा दृष्टिकोणाबाट प्रभावित भई कथा कोर्दथेँ । यसैले मेरा सुरुमा कथामा बुर्जुवा बिचारको छाप परेको देखिन्छ । पछि माक्र्सवादी दर्शनबाट प्रशिक्षित भए पछि मैले सर्वहारा बर्गीय दृष्टिकोणबाट निर्देशित भई आख्यान लेखनमा लागेको हुँ । मेरो पहिलो कथा सङ्ग्रह युग पुरुषका प्राय धेरै जसो कथामा बुर्जुवा बिचार अभिव्यक्त भएको छ । यसैले माक्र्सवादी विश्व दृष्टिकोणबाट प्रशिक्षित भए पछि मैले तिनको आलोचना गरेको थिएँ । मेरो मेरै कथाको आलोचनाको लेख असमबाट प्रकाशित हुने पत्रिका युवकमा छापिएको थियो । त्यस आलोचनामा मैले कति कथालाई सकारात्मक रूपमा लिएको पनि छु ।

कुनै पनि आख्यान बर्गीय दृष्टिकोणबाट मुृक्त हुँदैनन् । जुनसुकै आख्यनमा पनि प्रत्यक्ष अप्रत्यक्ष वा सचेत वा अचेत रूपमा बर्गीय छाप परेकै हुन्छ । यो स्वभाविक कुरा पनि हो । बर्ग विभक्त समाजमा हरेक लेखक यो वा त्यो बर्गको प्रतिनिधि हुन पुग्दछ । यो वा त्यो वर्गको प्रवक्ता हुन पुग्दछ । ऊ बर्ग निरपेक्ष हुनै सक्दैन । निश्चित रूपमा कुनै वर्गीय बिचार वा खास दर्शनबाट निर्देशित नभएको लेखक आख्यान लेखनमा ढुलमुल देखिन सक्दछ । उसका कति आख्यान लेखनले सचेत अचेत रूपमा अभिजात बर्गको सेवा गरेको हुृन सक्दछ भने त्यसरी नै कति आख्यान लेखनले सचेत अचेत रूपमा श्रमजीवी बर्गको सेवा गरेको । बर्गीय बिचारमा दृढ र द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले दीक्षित लेखकमा यस किसिमको बिरोधाभास पाइदैन । यस किसिमको ढुलमुले प्रबृत्ति पाइंदैन । उसले प्रतिबद्ध रूपमा एउटा बर्गको खास गरी श्रमजीवी बर्गको हितलाई ध्यानमा राखेर प्रगतिवादी आख्यान सृजना गर्दछ । यस्तो आख्यानले मान्छेमा जीवन र भविष्यप्रति आशा जगाउँछ । आस्था जगाउँछ । निरन्तर क्रान्ति र परिवर्तनप्रति समर्पित हुने भावना जगाउँछ । मान्छेलाई सङ्घर्षशील र जुधारु बनाउँछ । यस्ता आख्यानले समाजको रूपान्तरमा निकै महŒवपूर्ण भूमिका खेल्न सक्दछ । व्यक्ति समाज देश र यो सारा संसारलाई नै फेर्ने सवालमा क्रान्तिकारी भूमिका खेल्न सक्दछ । यस्तो आख्यानले समाज यस्तो छ भन्नुभन्दा पनि समाज यस्तो हुनु पर्दछ भन्ने संंदेश दिन्छ । दिशा निर्देशित गर्दछ । यस अर्थमा समाजवादी यथार्थवादी आख्यानमा क्रान्तिकारी रोमान्सवादको स्प्रिट प्रस्फुटित भएको हुन्छ । प्रतिबिम्बित भएको हुन्छ ।

( प्रलेस – वर्ष १९ पूर्णाङ्क २१, असोजमा प्रकासित)

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख