८ आश्विन २०७९, शनिबार

वास्तु शास्त्रकाे परिचर्चा :ज्योतिष तथा वास्तुविद् अचार्य पं. श्री बलराम उपाध्याय खकुरेल

काठमाडौं चैत्र२७गते

वास्तु शास्त्र

संसारमा धेरै किसिमका प्रयोजनका लागि धेरै शास्त्रहरु तयार भएका छन् । आफ्नो आफ्नो क्षेत्रमा सबै शास्त्रहरुको उत्तिकै महत्व छ । सबैको महत्व ठूलो हुुँदा हुँदै पनि जुन कुरा मानिसको अत्यावश्यक हुन्छ, त्यस विषयलाई समेटेर बनेको शास्त्रहरु चाहीँ युगौँ युगसम्म रहिरहन्छन् । मानिसका आधारभूत आवश्यकता भनेको गाँस, वास र कपास यही ३ कुरा हुन् । यी ३ कुरा बाहेक अन्य कुरा पनि मानिसलाई सरल र सुखि जीवन बिताउनको लागि चाहिन्छ । तर अन्य विषयहरु भने नभए पनि मानिस बाँच्दछ । मानिसका लागि बस्नको लागि घर अत्यावश्यक हुन्छ । यस बाहेक पनि हरेक किसिमका कामकाजका लागि विभिन्न संरचनाहरुको आवश्यकता पर्दछ । यही अत्यावश्यक विषय घर वा संरचना निर्माणको बारेमा प्राचिन ऋषीमुनीहरुले धेरै मिहेनत गरेर तयार पारेको ग्रन्थको नाम वास्तु शास्त्र हो । सानो झुपडी देखि लिएर ठूला ठूला दरवारको निर्माण समेत कसरी गर्नुपर्छ भन्ने कुरा यस शास्त्रमा निकै राम्रो चर्चा गरिएको छ । यति मात्र नभई कुलो, नहर, तटबन्ध, बगैँचा, बाटोघाटो समेत कसरी र कहाँ बनाउनु राम्रो हुन्छ भन्ने कुरा वास्तु शास्त्रमा चर्चा गरिएको छ । वास्तु शास्त्र धेरै पुरानो शास्त्र हो । पछिल्लो समयमा लुप्त हुन लागिसकेको वास्तु शास्त्रका मान्यताहरु फेरी सबैले अपनाउन थालेका छन् । वास्तु शास्त्रको निर्देशन अनुसार बनाएको हरेक संरचनाको प्रयोगले त्यसबाट पाउने प्रतिफल धेरै हदसम्म माथिल्लो हुन्छ । त्यसैले त प्राचिनकालमा हाम्रा पूर्खाहरुले वास्तुशास्त्रलाई आफ्नो जीवनमा अँगालेका थिए । त्यसैको प्रभावले नै धेरै उमेरसम्म पनि निरोगी र आनन्दित भएर जीवन बिताउँथे । सामान्य मानिसको प्राचिन कालका सामान्य घरहरु त अव विभिन्न समयका प्राकृतिक प्रकोपहरुले या बसाइँसराइका कारण देख्न मुश्किल भइसक्यो । तर पनि प्रचिनकालका दरवारहरु हेर्न सकिन्छ । पुराना दरवारहरु हेर्ने हो भने ति दरवारहरुमा वास्तु शास्त्रको अधिकतम प्रयोग भएको देखिन्छ । काठमाण्डौ को वसन्तपुर दरवार, भक्तपुरको दरवार, पाटनको दरवार हेर्ने हो भने यहाँ वास्तु शास्त्रका प्रयोग भएको पर्याप्त देखिन्छ । वास्तु शास्त्रका अनुसार पूर्व र उत्तर दिशाको बिच भाग इशान दिशामा पानि र देवताका लागि राम्रो स्थान हो । यी दरवारहरुको पूर्व उत्तरको दिशामा नाग पोखरी र मन्दिर राखिएको छ । यसै गरि पूर्व उत्तरको स्थान होचो हुनुपर्छ । संरचनाको मूख्य बीचको भाग कहिले पनि ढाकिनु हुँदैन । त्यसकारण ति दरवारहरुको मूख्य भागलाई मुल चोक भनिन्छ र यस भागलाई माथिबाट ढाकिएको हुँदैन । यस्ता उदाहरणहरु प्रशस्त देखिन्छ । तर वास्तु शास्त्र अनुसार कुनै पनि संरचनाको निर्माण देश, काल तथा परिस्थिति अनुसार फरक फरक हुन्छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने हिमाल, पहाड तथा तराईका भूभागमा बनाइने संरचनाहरु एउटै प्रयोजनका लागि भए पनि स्थान अनुसार फरक फरक किसिमको हुन्छ । जस्तै तराई क्षेत्र अत्याधिक गर्मि हुने क्षेत्र हो त्यसकारण यस्ता भूभागहरुमा दक्षिण फर्केको घरलाई त्यती राम्रो मानिँदैन । तर यही घर यदि हिमाल तथा पहाडी भूभागहरुमा बनाउने हो भने दक्षिण फर्केको हुनुलाई राम्रो मानिन्छ । यसको एउटै उद्देश्य के हो भने, मानिसको जीवनमा ग्रह तथा आकाशिय पिण्डहरुको सकारात्मक उर्जा सकेसम्म धेरै परोस् र मानिसले शान्ति र आनन्दका साथ आफ्नो जीवन यापन गर्न सकोस् भन्ने नै हो । घर वा संरचना वास्तु शास्त्रको उपेक्षा गरेर मनलाग्दो तरिकाले बनाइएको छ भने त्यसमा बस्नाले मानिसलाई अशान्त, क्रोधि जस्ता खराव स्वभावहरु दिन्छ । शौचालय तथा भान्सा कोठा गलत ठाउँमा बनाइएको छ भने यसले घरमा अलच्छिन र मृत्यु समेत दिन सक्छ । त्यसकारण जहिले पनि घर बनाउँदा वास्तु शास्त्रको विचार राम्रो सँग गर्नुपर्छ ।तर कतिपय वास्तु शास्त्रका कुराहरु भने जुनसुकै ठाउँमा गए पनि एउटै हुन्छ । कहिल्यै परिवर्तन गर्न मिल्दैन । जस्तै घरको भर्याङ्ग जुनसुकैै ठाउँमा बनाउँदा पनि माथील्लो भागमा जाँदा दाहिने घुम्ने नै हुनुपर्छ । पूजा कोठालाई पूर्व उत्तरको स्थानमा नै बनाउनु पर्छ । शौचालयलाई दक्षिण पश्चिम वा उत्तर पश्चिम तिर नै बनाउनु पर्छ । भान्सा घर पूर्व दक्षिणको कुना मा नै बनाउनु पर्छ । यस्तो तरिकाले बनाएको घर वास्तव मा नै निकै उर्जा दिने घर हुन्छ । यस्तो घरमा बस्नाले मन पनि प्रसन्न र आर्थिक प्रगति पनि निकै राम्रो हुन्छ । कतिपय अवस्थामा यी भनिएका स्थानहरुमा यी बताइएका संरचनाहरु राख्न नमिले पनि त्यसका विकल्पहरु छन् । विकल्पको बाटो अपनाउन भने आफुखुशी हुँदैन, जान्ने वास्तुविद्को सल्लाह लिएर मात्र वैकल्पिक बाटो अपनाउन सकिन्छ ।

अचार्य पं. श्री बलराम उपाध्याय खकुरेल
ज्योतिष तथा वास्तुविद्

सम्पर्क ः ९८५१२४४३९४, ९८०८८१२०४५

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख