६ आश्विन २०७९, बिहीबार

विचार : धुलिखेलको प्रेम (विक्रम सुब्बा)

म आफ्नै किसिमले घुम्छु भन्ने थाहा पाएर कहिले काहीँ सोध्छन् – ‘नेपालमा तपाइँको फेवरेट ठाउँ?’ म जवाफ दिन्छु – ‘पोखरा, गोदावरी र धुलिखेल ।‘ सोध्ने – ‘किन, कारण के हो?’ म – ‘यी ठाउँ सफा छन् । मेरो निम्ती सफा-सुग्घर भएर बस्ने मानिस सभ्य हो । यी तीन ठाउँमध्ये धुलिखेल पुगेपछि मेरो परिवारकै जस्तो होटल सन्चालकसँग बसेर खान्छु । उनका कुरा सुन्छु । उनका व्यवहारहरू अध्ययन गरेर होटल व्यवसायीका राम्रा पक्षहरु र सुधार गर्नु पर्ने पक्षहरू थाहा पाउँछु, सिक्छु ।‘ सोध्ने – ‘अरे किविजी, के त धुलिखेलमा फोहोर कतै कहीँ पनि छैन? धुलिखेलमा तपाइँलाई घरकैजस्तो खाना खुवाउँने को हो तेस्तो Guest friendly होटल व्यवसायी?’’

म – ‘भौगोलिक अवस्थिती (Geo-location)ले गर्दा धुलिखेल, पोखरा र गोदावरी सफा छन् । धुलिखेलमा घाम उदाएपछि दिनभरि घाम लाग्छ । जाडो महिनामा यो न्यानो अमुल्य प्राकरतिक स्रोत हो । तापक्रममा पनि बढी उतार-चढाव हुँदैन । यस्तो ठाउँलाई, विशेष गरेर वृध्दवृध्दाको निम्ती उचित बासस्थान (Habitat) मानिन्छ किनभने वृध्दवृध्दाको शरिरले तापमानको धेरै डिग्री उतार-चढाव सहन सक्दैन । सफा र तापक्रम धेरे घटबढ नहुने ठाउँमा टुरिष्टहरू आराम (Relax)गर्न चाहान्छन् । होटलहरूले न्यानो-आरामदायी ‘प्याकेज’ बनाएर Promotion गरे चल्छ । किनभने जाडो महिनामा मधेशमा शीतलहर चल्छ, मानिसहरू घमैलो पहाडी ईलाका तिर आउँन थालेकाछन् । काठमाण्डुको तुलनामा धुलिखेलको हावा धेरै उच्च Quality को छ भनेर जाँदा-जाँदै साँगा कटेपछि, बनेपाबाट उता लागेर २८ किलो पछि सास फेर्दै थाहा हुन्छ । कुनै Particle Mass MeasurementTool (PMMT) चलाएर हावा कतिको प्रदुषित छ वा छैन भनेर जाँच्नै पर्दैन । यो स्वच्छ हावा पनि धुलिखेललाई प्रकृतिले दिएको सम्पदा र सम्पती हो ।

मलाई घरकैजस्तो खाना मसँगै बसेर खुवाउँने होटल व्यवसायी मेरो पृया भाइ प्रेम कण्ठ हुन् । उनको ‘धुलिखेल लज रोसोर्ट’ छ । यो रोसोर्ट खोल्नुभन्दा अघि हामी ‘धुलिखेल लज’ भन्ने धुलिखेल बजारको होटलमा गोष्टी, सेमिनारहरूमा आउँथ्यौँ । तेतिबेलै मैले प्रेम भाइलाई भेटेको – ‘कालो-कालो केटो तर फर्स्याइलो, मुस्कुराएर र गललल आँखै चिम्सो हुने गरी हाँस्दै बोल्ने होटल मालिकमध्ये एकजना । म सम्झन्छु, एक पटक कार्यक्रम सकिएपछि काठमाण्डु फर्किने बेलामा परिमल झा र मलाई ‘दाइहरूलाई विशेष अनुरोध छ’ भनेर हालको रिसोर्ट निर्माण स्थल पुर्‍याए । आफ्नो Plan brief गरेपछि सोधे – ‘मेरो Plan कस्तो छ? दाइहरु Workshop, Seminar हाँक्ने-चलाउँने Consultants तथा जानिफकारहरूको Input पनि लिन चाहन्छु ।‘ मैले भनेँ – ‘हेर प्रेम भाइ, अहिले सम्म काठमाण्डुका मानिसहरू धुलिखेल Workshop, Seminar गर्न आउँनुको मुख्य कारण मध्ये क) सरकारी तथा NGO का मानिसले काठमाण्डु छोडेर यहाँ सम्म आएपछिको पाउँनेDA भत्ता पनि आकर्षण हो, तीतो सत्य यस्तै छ । काठमाण्डुमै Workshop गरे भत्ता दिन नियमले मिल्दैन; ख) दोस्रो कुरा काठमाण्डु(हल्लागुल्ला)बाट ‘ब्रेक लिएर’ मानिसहरू १-२ रात फुत्त बाहिर निस्कन पनि चाहान्छन् । त्यसैले Working ब्रेकफाष्ट, लन्च, लोकल रक्सीसँगको रिशेप्शन-साँझ र लोकल कुकुराको मासुसँगको डीनर त एकदमै Pleasant option हो; ग) तेस्रो कुरा तिम्रो हँसिलो-फर्स्याईलो बोली-चाली, गेष्टहरुलाई टेबल टेबलमा भेट्ने ‘खाना कस्तो छ?’ भनेर सोध्ने रGuest ले चाहेजस्तो खानामा Improve गर्न खोज्ने गर्छौ । Guest हरू ‘होटल मालिकसँगै बसेर खाएको’ भनेर दंग पर्छन्, फोटो खिच्छन् जुन उनका साथी-भाइलाई पनि देखाउँछन् । यस किसिमको प्रवर्धन शैली सबैभन्दा प्रभावसाली वीधी हो भनेर सन्सारमै मानिन्छ । म ईण्डोनेशीयाको जाकार्ता पुग्दा एउटा ५ तारे होटलको ‘कुक’ले आएर ‘हेलो सर, म यहाँको कुक हुँ । तपाइँको सूप मैले बनाएको हो । कस्तो छ? तपाइँले भनेजस्तो भएको छैन भने भन्नु होला, म अर्को पकाईदिन्छु‘ भन्यो । म त दंगै परेँ । पछि थाहा भयो कुकलाई हरेक दिनको ब्रेकफाष्ट, लन्च र डीनरको बेला २-४ जनासँग यसरी Interaction गर्न होटलले नै तालिम दिएको रहेछ ।

साथी परिमलले पनि आफ्नो कुरा थप्यो – ‘प्रेम, नेपालमा बिदेशीको सहयोगमा चलेका Projectहरू, NGOs हरू र सरकारी कर्मचारीहरू Workshop, Seminar का प्रमुख Target group हुन् । केही मात्रामा आन्तरिक र बाह्य ‘पर्यटक’ पनि आउलान् । त्यसपछि कहिले काहीँ बिहा, भोज गर्नेTarget group हरूको Need पनि Cater गर्नु पर्ने हुन्छ । Workshop, seminar को हिसाबले नेपालमा कुनै होटलले Hall हरू बनाएका छैनन् । उनले पार्टी खान, मिटिङ गर्न र भाषण गर्न मात्रHall हरू बनाएकाछन् । तेसैले Workshop, Seminar सुहाउँदो र परेको बेला अरु Purpose मा समेत प्रयोग गर्न मिल्ने (२ सय देखि २५० आँट्ने) ठूलो Hall एउटा, १०० जना अँट्ने Hall एउटा, ३०-५० अँट्ने एउटा सानो मिटिङ Hall एउटा बनाउँन सके र तिनलाई राती बस्नको निम्ती ३०-४० वटा कोठा भए गज्जब चल्छ । तेसपछि Pricing तर्फको कुरा गर्ने हो भने – NGOs हरूको निम्ती अलि सस्तो कोठा या एउटै कोठामा ३-४ जना सुत्ने डोरमेट्री टाइपका कोठाहरू समेत भए सस्तोमा धुलिखेलमा कार्यक्रम गर्न चाहनेलाई पनि Offer गर्न सकिन्छ ।‘ प्रेम भाइले हाम्रो कुरा मन पराएको कुरा गरे । निर्माण स्थलको धुलैधुलो टेक्दै हामी उकालो लाग्यौँ । परिमलको पेट ठूलो र ‘मर्निङ वाक’ नगर्नेले गर्दा धूले-उकालो चढ्न निकै सकस भयो । त्यसपछि सम्झन्छु – प्रेम भाइको होटलको भुइँ तल्लाको ‘नगाउँ हल’ बन्दा बन्दै हामीले CECI Nepal नामक Canadian INGO कोWorkshop गर्‍यौँ । त्यसपछि नगाउँ हल खाली नहुँदा रेष्टुरेण्टलाई नै ‘ट्रेनिङ हल’ बनाएर पनि कार्यक्रम चलायौँ । हालको ठूलो हल बन्यो । जुन नेपालकै Workshop hall मा Best मध्ये एक हल हो । सौभाग्य मेरो, कालान्तरमा धुलिखेल जिविसको आवधिक (पहिलो ७ वर्से) योजना विकास गर्ने काममा कन्सल्टेन्ट-सहजकर्ताको रुपमा मेरा मित्र सिताराम प्रसाइँसँग हमीले यहीँ १५० जनाको भव्य Workshop गर्‍यौँ । तेतिखेर सापकोटा जी जिविस सभापति थिए । शायद उनी जिविस महासंघका पनि अध्यक्ष थिए । उनलाई जिविस सभापतिहरू मध्ये ‘विकास’ बुझ्ने मानिस पनि भनिन्थ्यो । यही Workshop को Documentation गर्न जिविसका DB Basnet (हाल धुलिखेल नगरपालिकामा कार्यरत छन् उनी) सँग भेट भयो । DB Basnet कम्प्युटर Workshop outputहरूलाई Documentation गर्न असाध्यै राम्रो भएकोले हामीले (छुट्टि लिएरै) अनेक (हामीले २१ जिल्लामा आवधिक योजना बनाएका मध्ये) जिल्ला विकास समितिका आवधिक योजना विकास गर्ने टीममा उनलाई सामेल पनि गर्‍यौँ । हामी, शायद डडेलधुराको Workshop गरिरहेको बेला हुनु पर्छ, फिल्डमै हुँदा DB को हजुर बुवा बितेको समाचार आयो । हामि सँगै रोयौँ । के गर्ने भनेर DBलाई सोध्दा – ‘अब हजुरबुवा बितिनै सक्नु भयो । म जाँदाजाँदै लाश जलाई सकेको हुन्छ ।Workshop २ दिन बाँकी छ । Workshop सकेरै जान्छु ।‘ भनेर निर्णय सुनाए । हामील अझै सोच, काम गर्न गारो हुन्छ जस्तो लाग्छ भने भन’ भन्दा – ‘होइन सर, मैले गरेको निर्णय नै व्यवहारिक छ । काम सकेर फर्केरै जान्छु घर ।‘ भने । उनका यस्ता अनेक गुणहरूले गर्दा उनलाई टीममा राख्दा सारै ढुक्क हुन्थ्यो ।

धुलिखेल बारेका मेरा Observations सुनेर मानिसहरू कोही हाँस्थे । कोही सहमत हुन्थे । धुलिखेल म अनेक किसिमका कार्यशाला गोष्टीको मोडरेटर भएर, Trainer, Resource personका रुपमा, पारिवारिक भेटघाटको निम्ती, प्रेम भाइले बोलाएकोले, जन्मदिन मनाउँन, कसैलाई ट्रिट दिन, Kathmandu University High School (मेरी छोरी अदिती सुब्बाले स्कुल यहीँ पढेको हुनाले)को Annual functions मा, स्कुलका Principle Mr Warlow सँग भेटघाट गर्न, पटकपटक एकान्तमा बसेर कविता लेख्न, आदिको निम्ती गएकोछु, बसेको छु । Assignment को काम सकेपछि १ दिन थप बसेर प्रेम भाइ र बनेपाका मित्र बलराम जीसँग मर्निङ वाक गर्ने गरेकोछु, यिनै दुइजनासँग बसेर आनन्दसँग खानपिन गर्दै गलललल हाँस्दै Quality समय बिताएर फर्किने गरेको छु । मेरो जेठो छोरा (रवी) र बुहारी (लक्ष्मी) पहिलो पटक (उतै बिबाह गरेर) अमेरिकाबाट आउँदा नगरकोटमा ब्रेकफाष्ट, धुलिखेलमा (प्रेम भाइसँगै) लन्च खाएर गोदावरीमा साझको डिनर खाने गरि १ दिनको Round trip गर्दा १ दिन रमाइलोसँग बितेको गज्जब अनुभव भएको थियो । त्यसपछि पनि छोरा बुहारीहरू नेपाल आउँदा हामी यो Round trip गर्दछौँ । एक पटकको मेरो जन्म दिन (January 3) मा छोरा बुहारीले Birth day treat भनेर खान-घुम्न हामी दुबै बुडाबुडीलाई नगरकोटमा ब्रेकफाष्ट, धुलिखेलमा French red wine सहितको लन्च खुवाएका थिए । यो Round trip मा आफै गाडी हाँक्दै कतै कतै गाडी रोकेर दृश्यावलोकन गर्दै १ दिन Quality time बिताउँदा पनि अबिस्मरणीय भएको थियो । अचेल बेलुकीको खाना खान मैले छोडेकोले गोदावरी भिलेज रिसोर्टको साँझको डीनर नखाई नगरकोट र धुलिखेलको Round trip गर्छौँ ।

यस पटक

काम गर्न छोडेको (retired) पनि ४-५ वर्ष भयो । यस वीचमा प्रेम भाइसँग भेट्ने क्रम पातलो भएको थियो । दुइ महिना अघि भाइले ‘काठमाण्डुबाट ब्रेक लिएर आउँनुस् दाइ’ भनेर विशेष अनुरोध गरेपछि म र साथी प्राडा जंगब चौहान कार्तिक ११ (२८ अक्टोबर २०१७ शनिबारको दिन) १ दिनको निम्ती धुलिखेल पुग्यौँ । पुग्ना साथै प्रेम भाइले १-१ वटा कोठाको चावी थमाएर भने – ‘तपाइँहरूको लागी साउना चालु गर्न लगाएकोछु । कोठामा चेक ईन हुनुहोस् र साउनामा बसेर, नुहाएर ३ बजे हामी रेष्टुरेण्टमा भेटौँ ।‘ तोके बमिजिम हामी कोठामा गयौँ सामान थन्क्याएर साउनामा बस्यौँ । नुहायौँ र रेष्टुरेन्ट ३.३० बजे पुग्यौँ । प्रेम भाइ त्यहीँ हामीलाई पर्खिरहेका थिए, भने – ‘दाइहरूसँगै खाने भनेर मैले लन्च खाएकै छैन ।‘ मैले ग्रीन सलाद मगाएँ । प्रेम भाइ र मित्र जंगबले मम लिए । मम र सलादसँग कोदोको लोकल अर्ग्यानिक ‘अईला’ पनि खाइयो । प्रेम भाइले – ‘दाइ, आजै आएको बँदेलको गज्जबको मासु छ । अलि अलि खाने हो?’ भने । लोभ लागिहाल्यो, कोलोस्टरोलको डरले, म २ पीस सम्म खान्छु’ भनेँ । मित्र जंगवले मम थप्न मनपराउँनु भयो । मैले ग्रीन सलाद एउटा थप्न लगाएँ । ३ जना बसेर अनेक रमाइलो कुरा गर्दै गललल हाँस्दै खाँदाखाँदै हाम्रा बनेपाका मीत्र बलरामलाई फोन गरियो । उनी त चितवन पुगेका रहेछन् । भोलि आइपुग्छु भन्ने कुरा गरे । बलरामजी भोलि आउँने भनेपछि हामी थप १ रात , कार्तिक १२ गते (अक्टोबर २९, २०१७ मा) पनि बस्नु पर्ने भयो ।

दोस्रो दिन, बिहान मर्निङ वाक छँदै थियो । ब्रेकफाष्टमै (९ बजे) साहित्यकार तथा ‘जनमत’ मासिकका संपादक मित्र मोहन दुवाल बनेपाबाट आउँनु भयो । उहाँसँग मित्र जंगब चौहान र भाइ रघु मैनालीको सहयोगमा कवि नरेश शाक्यको सस्मरण संग्रह प्रकाशन गर्ने बारे सल्लाह भयो र छपाई कार्यको जिम्मा दुवालजीलाई नै दिईयो । दुवाल जीले मेरा लेख प्रकाशित भएका ‘जनमत’का अंकहरू (जनमत २०७३ असार अंक र २०७४ असार अंक) लगायत ‘जिउँदो शहीद मुकेश कायस्थ – बिम्ब प्रतिबिम्बहरू २०७३’ र दुवालजी कै लेखहरूको संग्रह ‘अक्षर बिम्बहरू’ आदि पनि दिनुभयो ।

छलफल-सल्लाह सकिएपछि हामी धुलीखेल बजार घुम्न निस्क्यौँ । बजारमा ८५ वर्षे बरिष्ठ कवि पंकज कुमार चित्रकारसँग उहाँकै नेवारी रेष्टुरेण्टमा भेट्न पस्यौँ, मैले तातो पानी खाएँ, दुवाल जी र मित्र जंगबले लेमन टी खानु भयो । कवि पंकजको घरै अघि एउटा बेगनबेलिया फूलको बोटमा छपक्कै सुन्दर फुल फुलेको देखेर मित्र जंगबले आफुले पनि नर्सरीबाट ल्याएर तेस्तो फूल घरमा रोप्ने निर्णय गर्नु भयो । मैले कवि पंकजलाई स्वास्थ्यबारे हालचाल सोधेँ । अहिलेसम्म कुनै रोग लागेको रहेनछ । खानामा दाल भात तरकारी नै हो तर थोरै थोरै ठिक ठिक समयमा ४-५ पटक खाने गर्दा मात्र पचाउँन सकिने कुरा गर्नु भयो । रातीको खानासँग १ ग्लास ‘अईला’ चाहीँ नियमित खाने गरेको रहेछ । नियमित र लिमिटमा खाए ‘अईला’ त औषधी नै हो भन्ने कुरा गरियो । ८-९ घण्टा सुत्ने गरेको र हरेक दिन ३०-४० मिनेट हिँड्ने गरेको कुरा पनि पंकजले भन्नु भयो । चिया खाएर कवि पंकजसमेत भएर हामी बजारतिर अलि अघि घुम्दै साहित्यकार पारिजातको उपन्यास “उसले रोजेको बाटो”का मुल पात्र पूर्णमान श्रेष्ठलाई भेट्न गयौँ । उहाँको ‘नौरंग’ रेष्टुरेण्ट रहेछ । उहाँले आफुले तैयार गरेका चित्रहरू भित्तैभरि टाँगेको देखाउँनु भयो । अर्ग्यानिक अम्बा १-१ वटा खुवाउँनु भयो । हामी बिदा भएर निस्कियौँ ।

कवि पंकजसँग पनि विदा भएर धुलिखेलको पुरानो शहर घुमेर फर्केपछि बस अड्डाबाट दुवालजी बनेपातिर लाग्नु भयो । हामी लन्च खान होटल पुग्यौँ । मैले लन्चमा सिरिफ एउटा स्याउ र ग्रीन टी खाएको देखेर प्रेम भाइ र मित्र जंगब छक्क पर्नु भयो । उहाँहरूले स्पागेटी खानु भयो । खानापछि एकछिन आराम गरेर धुलिखेल नगरपालिकाले होटल व्यवसायीहरूलाई बोलाएको ‘धुलीखेलमा पर्यटन विकासका निम्ती छलफल’ बैठकमा जाने कुरा आयो । मित्र जंगब र म बाहिरियालाई पनि लैजाने कुरा भाइ प्रेमले गरेपछि ‘कुरा सुन्न जाउँ न त !’ भनेर गयौँ । यसरी आन्तरिक पर्यटकलाई समेत छलफल सुन्न संलग्न गराएको शायद यो नै पहिलो घटना हो कि? थाहा छैन ।

धुलिखेल नगरपालिकाका मेयर, उर्जाशील पृय भाइ अशोक बेन्जुले सबैलाई स्वागत गरेर भेटघाट, छलफलको उद्देश्य प्रष्ट पारिसकेपछि परिचय गराउँनु भयो र सबैले पालो पालो धुलीखेलमा पर्यटन विकासका चुनौती तथा गर्नु पर्ने कामहरुका बारेमा आफ्ना कुराहरू राखे । सबैसँग सल्लाह-सुझाव लिने (जसलाई Direct Democracy को अंग भनिन्छ) बेन्जु भाइको तरिका मलाई राम्रो लाग्यो । धेरैबेरपछि ‘म आन्तरिक पर्यटकले पनि बोल्न पाइन्छ?’ भनेर सोधेँ । ‘बोल्नुस्’ भनेर अनुमति पाएपछि मैले भनेँ –

१। धुलीखेलको ‘हावा’को क्वालिटी काठमाण्डुकोभन्दा स्वच्छ छ । मानिसलाई तान्ने धुलिखेलको एउटा राम्रो पक्ष यो पनि हो । डाँडामा बसेकोले गर्दा काठमाण्डुको कचौरा आकारमाझैँ धुलिखेलमा धुलो-धुवाँ अड्केर बस्दैन, छिट्टै हावाले Dilute गरिदिने भएकोले ‘सफा’ गर्न धुलिखेललाई प्राकृतिक अवस्थितिले नै सघाउँछ । अलिअलि फोहोर कतै कतै देखिन्छ तर त्यो ज्यादै थोरै लगानी गरेर सफा गर्न सकिन्छ । नगरपालिका र नगरवासीले PPP मोडलमा काम गर्ने हो भने एकदमै उपयुक्त हुने देखिन्छ ।

२। धुलिखेलमा जाडो (कार्तिक, मंसिर, पुस, माघ र फागुनको आधा जति) महिनामा विहान सबैरै देखि छर्लंग्गै उदाएर दिनभरि घाम लागिरहन्छ । तापक्रम धेरै घट-बढ हुँदैन र पर्यटकहरू लगायत सबैले विहान सबेरैदेखि न्यानो घाम ताप्न पाउँदा काठमाण्डुको हिटरले भन्दा प्राकृतिक न्यानो दिएको महसुस गर्छन् । गर्मी महिनामा पनि काठमाण्डुभन्दा धुलिखेलको तापक्रम शीतल हुन्छ । यो (गर्मी र जाडो दुबै मौसममा) मानिसको निम्ती उपयोगी हावा-पानी पनि धुलिखेललाई प्रकृतिले दिएको ‘प्राकृतिक पुँजी (Natural Capital)’ हो, धुलिखेलले निशुल्क पाएको अमुल्य सम्पदा हो । यसलाई पनि Selling point का रुपमा राखेर Promotion गर्न सकिन्छ । विशेष गरेर वृध्द-वृध्दा पर्यटकहरूको शारिरिक अवस्थाको निम्ती धुलिखेलको घमैलो-न्यानो गज्जब पक्ष हो ।

३। धुलिखेलको अर्को अमुल्य संपदा नजिकैको हरियो जंगल हो । यस जंगललाई (मेयर अशोक बेन्जुले भने अनुसार भुटानले मुलुकको जंगल ६०% बाट नघटाई कायम राख्ने भनेर निर्णय गरेजस्तै) नघटाई बरु बढाएर संरक्षण गर्नु पर्छ । वातावरण मैत्री किसिमले (एउटा रुख पनि नमासि) जंगल भित्र भित्र (गाडी, मोटरसाइकल लान नमिल्नेगरि भित्रभित्रै केही स-साना मठ, मन्दिर, गुम्बा तथा ढुंगे धाराहरू, फल्चाहरू समेतले सजाएर) Walking trail हरू बनाए पर्यटकहरूको आधा दिन जति Stay day बढ्ने देखिन्छ ।

४। धुलिखेलको पिकनिक स्पटबाट डाँडाको देविस्थान मन्दिर सम्म केवल कार राख्ने हो भने धुलिखेलको आकर्षणमा थप बृध्दि हुनेछ । यस किसिमको रमाईलो पूर्वाधार थपिए (धुलिखेलका होटलहरूले पालो पालो) देवीस्थानकै डाँडामा बसेर पारीको हिमाल सृंखला र वारिपरिको सुन्दरLandscape को दृश्यावलोकन गर्दै ब्रेकफाष्ट, लन्च खान पाए पर्यटकहरूलाई गज्जब मजा आउँने पक्का छ । याद रहोस्, ललितपुरको समिट होटलले पाटन मंगल बजारको म्युजियम भित्रको रेष्टुरेण्टमा ब्रेकफाष्ट, लन्च खुवाउँने गरेकोछ । जसले गर्दा पर्यटकहरु मंगल बजारको कलाकृति हेर्दै दंग परेर खान खन्छन् ।

५। यहाँ बिलगेट्स फाउण्डेशनको समेत सहयोगमा पर्यटन विकासको काम हुने कुरा सुनियो । शायद तेस्ता ठूला र Tangible लगानी गर्न चाहनेहरूसँग Negotiation गरेर Wonder and Amusement Park निर्माण गर्न सके धुलिखेलमा एउटा गज्जबको Crowed pulling आकर्षण थपिनेछ जसले काठमाण्डुका नेपालीहरुलाई समेत तान्नेछ ।

६। सफा हावा, पानी, बाटो पर्यटनका नभइ नहुने पूर्वाधार हुन् । धुलिखेलमा हावा सफा छँदैछ । बाटो पनि ठुलो फराकिलो बन्नेवाला छ । रह्यो पानी । जनसंख्याको चाप बढ्दै जाँदा वा पर्यटकहरूको संख्या बढ्दै जाँदा हाल कुशादेवीबाट ल्याएको पानीले मात्र पुग्ला नपुग्ला? अर्को ठाउँको पनि पानी ल्याउँनु पर्ने हुन्छ । कुशादेवीकै पानीको स्रोत नसुकोस् भनेर पानीका मुहानहरूमा संरक्षण गर्न वृक्षारोपण नगरे पानी सुक्दै जाला भन्ने Risk factor लाई पनि ध्यान दिनु जरुरी देखिन्छ ।

७। धुलिखेलको पहिचान – ‘पर्यटन’, ‘शिक्षा’ र ‘अर्ग्यानिक (तरकारीहरू, लोकल दुध-दही तथा मह) खानाहरूको गाउँले शहर’ हुन्छ होला । कुनै सरकारी निकायको योजना बिना नै नीजि क्षेत्रका होटलहरूले पर्यटनको विकास गर्न योगदान पुर्‍याएकाछन् भने काठमाण्डू विश्वविध्यालयले गर्दा धुलिखेल शिक्षाको केन्द्र पनि बनेकोछ । तेस्तै, हरेक होटलहरुले ‘लोकल कुखुराको मासु-अण्डा, लोकल र अर्ग्यानिक साग-सब्जी, लोकल दूध-दही र लोकल मह खान पाइने शाहर धुलिखेल हो’ भनेर Branding गरेर (मलेशीयाले पर्यटन विकासको निम्ती Malaysia Truly Asia भने जस्तै, एक उदाहरण: Dhulikhel: Nepalese Village City जस्तो किसिमले प्रचार गर्न) सके एउटाIdentity Project हुन सक्ने संभावना देखिन्छ ।

८। धुलिखेल, बनेपा, पनौती काठमाण्डुको नजिकैको सफा र गाउँले सहरहरू भएकोले बिस्तारै (सफा, शान्त ठाउँमा राती सुत्ने) यी गाउँले शहरहरूमा राती बस्ने र बिहान ब्रेकफाष्ट खाएर काठमाण्डु काम गर्न जाने किसिमको प्रचलन सुरु हुने देखिन्छ । यो पनि एउटा संभावनाको बजार हो । विदेशीहरू नेपालमा काम गर्न आएर १०-१५ दिन या १-२ महिना बस्ने परे उनीहरूको राती सुत्ने ठाउँ धुलिखेल, बनेपा र पनौती रोजाई पर्छन् नै । यो नयाँ संभावनाको बजारलाई पनि Cater गर्न सकिने भयो । यसको निम्ती Holiday homes हरू (भाँडा-वर्तन, पानी-बिजुली, कोठा राखिदिने उनिहरू आफैले पकाएर खाने) पनि सन्सारमा चलेको व्यवसाय हो । यो सँगै यस्ता घरमा बस्नेलाई गाडी र ड्राइवर पनि चाहिन्छ । त्यो पक्ष पनि जोड्न सकिन्छ ।

९। धुलिखेलबाट-बनेपा-पनौती-धुलिखेलको (ब्रेकफाष्ट खुवाएर हिँडाउँने, पनौतिमा लन्च प्याक खुवाउँने) एउटा १ दिनको Round village walk को पनि व्यवस्था गर्न सकिन्छ । जसले पर्यटकहरूलाई नेपाली गाउँ हेर्ने अवसर दिन्छ भने केही Village guide ले रोजगारी पाउँछन् र पर्यटकहरूको १ दिन Stay day बढ्छ । य किसिमका Round village walk अरु पनि Design गर्न सकिन्छ होला ।

१०। धुलिखेलको पुरानो मौलिक शहर एकदमै आकर्सक छ । यसलाई संरक्षण तथा विकास गरेर“Breakfast in Newari town”, “Reception in Newari Town” जस्ता आकर्षक तरिकाहरू निकालेर काम गर्न सकिन्छ । हाल खुबै राम्रो काम गरिरहेका पुरी जी लाई १-२ वटा नेवारी घर दिएर Heritage Restaurant को Concept मा चलाउँन सकिन्छ । याद रहोस्, पाटनको ‘नेवा छेँ’ (३५० वर्ष पुरानो घर) प्राय सँधै १-२ महिना बस्ने गरी नेपालमा काम गर्न आएका विदेशी विशेषज्ञहरू र १-२ हप्ता बस्ने पर्यटकहरूको छनौटको ठाउँ बनेकोछ । जुन ‘छेँ’ मा नेवरी सुकुलहरूको भुइँ-ओछ्यान राखेर आकर्षक बनाईएकोछन् तर टोइलेट आधुनिक बनाईएकोछ ।

११। धुलिखेल, बनेपा र पनौतीको एकिकृत विकासको निम्ती Out of the box सोच्न पनि सकिन्छ होला । जस्तै: काठमाण्डूबाट १-२ वटा मन्त्रालयहरू धूलिखेल, बनेपा र पनौती सार्ने काम किन नगर्ने? उदाहरणको लागी शिक्षामन्त्रालय काठमाण्डु विश्वविद्यालय नजिकै राखे के बिग्रन्छ? तेस्तै कृषि मन्त्रालयलाई पनौतीमा र उद्योग मन्त्रालयलाई बनेपामा स्थानान्तरण गरे के फरक पर्छ? कला सँस्कृति मन्त्रालय ललितपुर सारे झन उपयुक्त हुन्छ । यसको निम्ती सबै संबन्धित (धुलिखेल, बनेपा, पनौती र ललितपुर नगरपालिकाहरूले मिलेर) अभियान (Lobbying) गर्न सकिन्छ । यसरी केही मन्त्रालयहरू काठमाण्डु बाहिर (तर १ घण्टाको Drive मा काठमाण्डुको सिंहदरवारमा प्रधानमन्त्रीसँगको बैठकमा हाजिर हुन पुग्न सकिने ठाउँहरूमा) सारे आर्थिक लगायत क्षेत्रीय विकास (Regional Development)को अवधारणा विकेन्द्रीकृत (Decentralized) पनि हुन्छ र काठमाण्डुमा हाल भइरहेको जनसंख्याको चाप, यातायातको जाम, पानीको अभाव, धुवाँ-धुलो पनि कम हुन्छ । अजै पनि चन्द्र शमसेरको सिंहदरवारमै सबै मन्त्रीहरू बस्ने चिन्तन किन कायम राख्ने…?

सर्जकको ब्लगबाट

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख