८ आश्विन २०७९, शनिबार

किमको देशमा छचल्किएको आँसु

मान्छेको जिवनमा अनवरत जारी रहेको यात्रामा जे जस्ता घटनाहरुले बिथोले पनि कहिले काँही ऐतिहासिक ठाउँ र मनोरम दृश्यहरुसंग खेल्न पाउदा एउटा बेग्लै आनन्द प्राप्त हुने रहेछ भन्ने कुरा भियतनामको यात्राबाट अनुभव भयो । पढाईको सिलसिलामा जापान रहँदा “किम” नाम गरेकी महिला भियतनामी साथीसंग मेरो राम्रो मित्रता गाँसिन पुग्यो । हाम्रो खाली समय भएको बेला भियतनामको संस्कृति, रीति रिवाज, रहनसहन, प्राकृतिक सौन्दर्यता तथा भियतनाम र अमेरिका बीचको युद्धको बारेमा उनकै मिठो स्वरबाट सुन्ने मौका मिलेको थियो । त्यहि बेलादेखि भियतनाम प्रतिको मोह बढेर गएको थियो मलाई । यस पटक समय पनि छ र “किम” को मायालाई फेरी एकपटक ताजा बनाउने उद्देश्यको साथ भियतनाम यात्राको लागि आफुलाई तयार पारेको थिए ।

एक महिना लगाएर भियतनामको बारेमा जानकारी संकलन गरेँ । कहाँ कहाँ घुम्ने, कहाँ बस्ने र कुन माध्यमको प्रयोग गर्दा बढी भन्दा बढी त्यहाँको प्रकृतिसंग नजिक हुनुका साथै आफुले बोकेको खल्तीको पैसा पनि कम खर्च होस भन्ने मुख्य उद्देश्य थियो मेरो । प्रायः साथीहरु विदेश घुम्न जाँदा महंगो होटलमा बस्ने । म्याक डोनल, स्टार बक्स तथा महंगो रेष्टुरेन्टमा गएर खाएको कुरा सुनाउँछन् । तर म त्यस कुराको विपक्षमा छु । बसाई, यातायात र खानामा कम खर्च गर्ने र त्यसको सट्टा बढी भन्दा बढी त्यहाँको घुम्नुपर्ने ठाउँहरुमा नबिराई घुम्ने । जसले गर्दा हामीले त्यहाँको धेरै जानकारी प्राप्त गर्न सक्छौ । जुन देशमा गएर त्यहाँको लोकल स्वाद चाखेनौ भने, त्यहाँको रहनसहनमा केही दिन भएपनि घुलमिल हुन सकेनौ भने त्यहाँ जानुको औचित्य व्यर्थ हुन्छ जस्तो लाग्छ । बर्गर, पिज्जा, पास्ता र अरु युरोपियन खाना त यही नेपालमै खाए भयो ।

भियतनाम जाने भनेर आफुलाई तयार त पारेँ । तर समस्या आइप¥यो भिसाको । मेरो योजना अनुसार बैंकक पुगेर त्यहाँबाट बस चढेर क्यामबोडिया र क्यामबोडियाबाट भियतनामको “हानोई” जाने योजना थियो । बसबाट जाँदा मुख्य त प्राकृतिक सौन्दर्यताको प्रत्यक्ष अवलोकन गर्न पाइने र खर्च पनि कम लाग्ने । तर क्यामबोडियाको बोडरमा हामी एसियालीहरुकोलागि अन यराइभल भिसा उपलब्ध नहुने रहेछ । जसकारण नेपालमा रहेको भियतनामको काउसुलेट अफिस बाट नो अब्जेक्सन लेटर लिएर भियतनामको एयरपोर्टमा नै भिसा लिनुपर्ने हुँदा भियतनामको “हानोइ” नगई “होचिमिन” सिटीको योजना बनाए । अबको नयाँ रुट थियो, बैंककबाट आकाशमार्ग हुँदै “होचिमिन” पुग्ने र त्यहाँबाट हानोईमा केही दिन बिताएर बसको माध्यमबाट क्यामबोडिया पुग्ने ।

बैंककबाट एक घण्टाको फ्लाइटमा भियतनामको “होचिमिन” एयरपोर्ट मा प्लेनले अवतरण गर्दासम्ममा प्रिय साथी “किम” ले उनको देशको बारेमा वर्णन गरेको कुरालाई सम्झिँदै सकेको जति आफैले अनुभव गर्ने अभिलाषाका साथ एयरपोर्ट भित्र प्रवेश गरे । भिसा अन अराइभल भएकोले गर्दा काठमाण्डौबाट लिएर गएको फोटो, नो अब्जेक्सन लेटर र भिसाको लागि लाग्ने शुल्क तिरेपछि भिसा प्राप्त भयो । इमिग्रेसनको चेक जाँच सक्काएर करिब आधा घण्टा त्यहि एयरपोर्ट भित्र बाटो तथा होटल सम्म जाने रुटको म्याप डाउनलोड गरेँ । एयरपोर्ट देखि होटल सम्म कति नं. को बस तथा कति भाडा लाग्छ आदि सबैको पहिला नै नेटबाट जानकारी लिईसकेको हुनाले एयरपोर्ट बाट बाहिर निस्कनासाथ सबै जानकारी अनुरुप सजिलै होटल पुगे । बैंकक एयरपोर्टमा छँदै नेटबाट होटल बुक गरीसकेकोले गर्दा होटलका स्टाफ मेरै प्रतिक्षामा थिए । वेलकम ड्रिंग्स पिएर रुमतिर लागे म । एयरपोर्ट भित्रै छँदा घरमा तथा साथी भाईहरुलाई भियतनाम सकुशल आइपुगेको जानकारी दिइसकेको थिए । त्यसैले रातको एक बजिसकेको हुनाले ओछ्यानमा घुस्री हाले ।

बिहान चाँडै आँखा खुल्यो । म बसेको रुममा अरु विदेशीहरु पनि थिए । एउटा रुममा चौध जना सुत्न मिल्ने गरि ओछ्यानहरु मिलाएर राखिएको थियो । ओछ्यान बाटै आँखा घुमाए । कोही मस्तले सुती रहेका थिए भने कोही फ्रेस हुँदै थिए । एउटै रुममा चौध जना थियौ हामी तर शान्त थियो रुम । उठ्ने जाने क्रम भईरहँदा पनि अरुलाई दखल नहोस भनेर सबैले सकेको ध्यान पु¥याई रहेका थिए । ओछ्यानबाटै जापानमा रहेकी साथी “किम” लाई म्यासेज गरेर तिम्रो देशमा छु भनेर जानकारी दिए । उनी पनि खुशी हुँदै यात्रा सफलताको लागि कामना गरिन ।

सामानहरु छोड्ने बानी ज्यादै भएकोले गर्दा पासपोर्ट, पैसा र चाहिने कागजपत्र एउटा सानो ब्यागमा छुट्टै बोकेको थिए । कागज पत्र र पैसा मिलाए पछि पासपोर्ट खोलेर हेर्दा पो थाहा पाए कि मलाई सिंगल इन्ट्री भिसा दिइएको रहेछ । प¥यो फसाद । जुन उत्सुक्ताका साथ उठेको थिए त्यो क्षणभरमा सेलाएर गयो मेरो । जम्मा बाह्र दिन, सात दिन भियतनाम र पाँच दिन क्यामबोडियामा बिताएर बसबाट भियतनाम फर्केर भियतनामबाट प्लेन चढेर बैंकक फर्कने योजना अनुसार प्लेन टिकेट लिएको थिए । अब समस्या के भयो भने एकपटक भियतनाम बोडर क्रस गरेपछि फेरी फर्कनलाई अर्को भिसा लिनुपथ्र्यो । जुन क्यामबोडियाको बोडरमा भिसा उपलब्ध नहुने थियो । अब मसंग दुईवटा विकल्पहरु मात्र थिए । पहिलो, किनी सकेको प्लेन टिकटलाई त्यागेर भियतनामबाट कयामबोडिया र क्यामबोडियाबाट स्थलमार्ग हुँदै बैंकक जानु । जसको लागि फेरी बस भाडा खरीद गर्दा छुट्याएको बजेट बढ्न जान्थ्यो । दोस्रो, क्यामबोडिया जाने सपनालाई त्यागेर बाह्र दिन नै भियतनाममा बिताएर बैंकक फकर्नु । दिमागले लगभग काम नै गर्न छाड्यो । त्यही ओछ्यानमै बसेर ट्रिप एडभाइजर तथा अन्य साइडहरुमा गएर खोज्न थाले केही उपाय निक्लन्छ कि भनेर । फेरी “किम” लाई म्यासेज गरेर खबर गरे । उनले मसंग भएको नो अब्जेक्सन लेटरलाई फोटो खिचेर पठाउन भनिन् । केही क्षण पछि उनले यो बताइन कि त्यस चिठ्ठीमा नै एक तर्फी भिसाको लागि मात्र लेखिएको रहेछ । जसअनुरुप नै एक तर्फी भिसा दिएका रहेछन् । जुन कुरा नेपालका ट्राभल एजेन्सीहरुले मलाई बताएका थिएनन् । उनले नेपालको ट्राभल एजेन्सीले मिलाउन सक्छन् कि भनिन् । जुन सम्भव थिएन ।

मनलाई दुखी पार्दै दोस्रो विकल्पलाई रोजेँ मैले । अबको बाह्र दिन भियतनामलाई नजिकबाट चिन्ने अभिलाषाका साथ आफुलाई तयार पारेँ । बिहानको नास्ता होटलमा नै खाएर निस्के “होचिमिनलाई” आफ्नो बनाउन । मध्य गर्मी महिना भएकोले गर्दा पनि चर्को घाम लागिरहेको थियो । त्यसमा ब्याग गह्रौं । तर गर्मी भन्दा पनि “किम” को देशमा भएको अनुभवले गर्दा खुशी महशुस भईरहेको थियो । बाटा बाटामा बेच्न राखिएको नरिवल पानी र भियतनाको लोकल कोल्ड कफी पिउँदै अगाडी हिँड्दै रहेँ ।

आजको पहिलो गन्तव्य थियो “वार म्युजियम” । लगभग पैतालिस मिनेटको हिँडाई पछि वार म्युजिमयम पुगे । सत्र वर्ष सम्म चलेको भिषण युद्ध जो भियतनाम र अमेरिका बीच भएको थियो । यही “होचिमिन” सिटीलाई केन्द्र बनाएर युद्ध भएको थियो जसमा लाखौंले आफ्नो ज्यान गुमाएका तथा अंगभंग भएको त्यहाँ उल्लेखित दस्तावेजबाट थाहा भयो । चार तल्लाको भवनमा बनाइएको थियो उक्त म्युजियम । जहाँ त्यस बेलाको युद्धमा प्रयोग भएका हातहतियार देखि ध्वस्त भएका फाइटर प्लेनका पार्टपुर्जाहरुलाई व्यवस्थित तरिकाले सजाइएको थियो । साथै हजारौं संख्यामा तस्विरहरु पनि । फिल्महरुमा मात्र देखेको थिए त्यस्ता हात हतियारहरु मैले तर प्रत्यक्ष आफ्नै आँखा अगाडी देख्न पाउँदा आफुनै युद्धस्थलमा छु भन्ने लागि रह्यो । एक पछि अर्को गर्दै दुई तल्लामा रहेका ति हात हतियारहरु हेर्दै जब तेस्रो तल्लामा पुगे । त्यहाँबाट मेरो मन तथा दिमागमा अघिसम्म जुन उत्सुक्ता थियो एक एक गरेर बिलाउँदै गयो । त्यहाँ भित्तामा टाँगिएका युद्धका तस्विरहरु जुन युद्धका क्षणमा लिइएको थियो । कलिला स–साना बालबच्चाहरुका हृदयविदारक तस्विरका साथै कसैका टाउका चुडिएका, हातखुट्टा नभएका, पेटका आन्द्रा बाहिर निस्किएका र रुँदै कराउँदै भाग्दै गरेका मान्छेहरुका हजारौं तस्विरहरुले प्रष्ट बोली रहेको थियो की ति क्षणहरु कति कष्टदायक र भयानक थिए भन्ने । अब मेरो ध्यान मेरो महिला साथी “किम” तथा कलेज र होस्टेलमा रहेका भियतनामी साथीहरुका पुर्खाहरुलाई सम्झिन पुगे । शब्दमा बयान गर्न नसक्ने थिए उहाँहरुले भोगेका दुःख पिडाहरु । मेरा दुई आँखाहरुमा टिलपिल गरेका आँशुहरुलाई पुछ्दै बाहिर निस्के । त्यहाँ टाँगिएका पुरै तस्विरहरुलाई हेर्ने साहस जुटाउन नसकेकोले गर्दा बाँकी तस्विर तथा भिडियोको क्लिप्सहरुलाई त्यही छाड्दै तल ओर्ले । बाहिर ठुलो ठाउमा त्यस युद्धको बेला प्रयोग भएका फाइटर प्लेन, हेलिकप्टर, साना जहाजहरु, ट्रयाङ्ग तथा पानीमा चल्ने बोटहरुलाई रङ्गहरु लगाएर नयाँ स्वरुप दिएर राखिएको रहेछ । ठुला ठुला बम बारुदका गोलाहरुलाई पनि सजाएर राखिएको थियो । विदेशीहरुको उपस्थिति बढी थिए । सबै तस्विर खिच्नलाई ब्यस्त देखिन्थे । दुई घण्टा जति समय दिएर र केही तस्बिर खिचेर निस्के मनबाटै भावपूर्ण श्रद्धान्जली दिँदै ति वीर योद्धाहरुलाई ।

अबको पालो रहेको थियो “पोष्ट अफिस” । बाहिरबाट हेर्दा नेपालमा रहेका राणाकालीन दरवार जस्तै भएतापनि जब भित्र प्रवेश गरेपछि थाहा भयो कि त्यो पनि “म्युजियम” रहेछ भनेर । जहाँ भियतनाममा पहिला प्रयोग भएका पुराना पैसाका सिक्काहरु र कागजी नोटहरुलाई मिलाएर राखिएको थियो भने अर्को तर्फ पुराना खेती गर्न प्रयोग गरिने पुराना कृषि औजारहरु । साथै क्रमिक विकास हुने क्रममा के कस्ता सामानहरुका विकास हुँदै गएको थियो भियतनाममा भन्ने सबै सामानहरु राखिएको थियो । जस्तैः स्कुलका लुगाहरु, क्यामेरा, विवाहमा लगाउने लुगाहरु, टाइपराइटर देखि चढ्ने साइकल सम्म ।

त्यहाँबाट बाहिर निस्कदा भोकले कोट्याउन थाली सकेको थियो । केही बेर हिँडीसकेपछि मिठो बास्नाको चाल पाई हाल्यो नाकले । “भिएन गा” नुडलको अर्डर गरे जो भियतामको मिठो खानामा पर्दथ्यो । ठुलो बाउलमा ल्याएर मेरो अगाडी राखि दिइन साउनीले । साथमा हरियो साग जस्तो केही पत्ताहरु, मुला, काँक्रो र कागती । चार थरीको सस । मेरा सानो टेबल लगभग अटाई नअटाई भई सकेको थियो । साथमा ग्रिल चिकेन पनि मगाए । किमले खानाको लिस्ट नै म्यासेन्जरमा पठाई दिएकी थिइन तिमीलाई यो यो खाना मन पर्न सक्छ । अरुमा बिफ तथा तिमीले नखाने खाना पर्न सक्छ भनेर । उनको एक नं. मा परेको खाना थियो “भिइन गा” । मनमनै किमलाई मिठो खानाको सुझावका लागि धन्यवाद दिंदै लागे अगाडी बाटो तर्फ ।

“इनडिपेन्डेन्स प्यालेस” अर्को गन्तव्य मेरो । ठुला गार्डेन, छेउछेउमा युद्धमा प्रयोग भएका जहाज र ट्रयाङ्ग राखिएको थियो । सफा र व्यवस्थित तरिकाले संचालन गरिएको क्याफे पनि । जुन कौतुहुलका साथ भवनमा प्रवेश गरेको थिए । त्यस्तो केही पाइन मैले त्यहाँ । युद्ध हुनु पूर्व राष्ट्रपतिको निवास रहेको तथा ठुला ठुला तस्विरमा नेताहरुका तस्विरहरु थिए । ठुला मिटिङ्ग हलहरु तथा बस्ने अरु कोठाहरुलाई सरसर्ती हेरे र निस्के बाहिर ।

हातमा कोल्ड कफी पिउँदै कानमा पुरानो “तिमी जुन रहरले ममा फुल्न आयौ” नारायण गोपालको गीत सुन्दै हिँडी रहे । “होचिमिङ्ग” सिटी भियतनामको सबैभन्दा ठुलो शहर थियो । राजधानी “हानोइ” भएता पनि विदेशीहरुलाई बढी “होचिमिङ्ग” सिटीले तानेको भन्ने कुरा त्यहाँ पुगेपछि थाहा भयो । एक त्यहाँको खुल्ला जीवनशैली, नाइट लाइफ र विभिन्न ऐतिहासिक स्थलहरु । पुरै व्यवस्थित रुपमा बनाइएका थिए बाटाहरु । छे छाउमा जतन गरेर रोपिएका बोट विरुवाहरु । ठुला ठुला भवनहरु जो फ्रान्सले शासन गरेको बेला बनाएको थियो । ति भवनहरुमा प्रष्ट फ्रान्सको शिल्पकलाहरु झल्कि रहेका थिए । नेपालमा राणाकालीन दरवारहरु जस्तै । फ्रान्सले बनाएका भवनहरुमा सरकारी कार्यालय तथा बैंकहरु रहेको थियो । बाटोमा भेटे जति त्यस्ता भवनहरुको अवलोकन गरे ।

बाटाबाटामा राखिएको स्ट्रिट फुडहरुको आँखाले स्वाद लिँदै तथा केही अनौठा देखिने खानाको तस्विर लिन पनि भ्याए । अब फेरी पेटले खाना मागी सकेको हुनाले “किम” को दोस्रो नं. को खाना खोज्न थाले । “बान खोट” चामलको पिठोलाई नरिवलको दुधमा घोलेर तेलमा कचौरी आकारमा पकाउने । त्यस माथि स्रिम्प (झिङ्गे माछा) र पातलो आकारको नुडल हालेर त्यसलाई सदालको पत्ताले रोल गरेर त्यस माथि माछाको रातो प्रकारको सस हालेर खाने । दालभात खाई रहेको म, त्यस्ता अनौठा खाना खाँदा जिब्रोले पनि अचम्म मानेको अनुभव भईरह्यो । आगोमा पोलेको माछा जसलाई देख्दा नखाई बस्न नसकेकोले गर्दा त्यो पनि मगाएर खाएँ । घडीले पाँच बजिसकेको संकेत ग¥यो । संधै बाइकमा यता उता गर्ने गरेको मैले पुरै सात घण्टा पैदल हिँडेछु । रातको बसाई कहाँ हो अझै ठेगान नभई सकेकोले “फ्रि वाइफाई” भएको क्याफेमा छिरेर कफि पिउँदै राम्रो तथा सस्तो होस्टेल खोज्न थाले “बुकिङ डट कम” मा गएर । एकदिनमा एउटा होटेल अर्को दिन अर्को नयाँ होटलमा बस्ने योजना बनाएको थिए । जसले गर्दा नयाँ नयाँ मान्छेहरु चिन्ने जान्ने तथा के कस्तो व्यवस्था रहेछ त्यहाँ विदेशीहरुकोलागि भन्ने बुझ्न खोजेको थिए । सामान एक झोला मात्र थियो त्यसैले बोक्न गाह्रो हुन्छ भन्ने पनि थिएन । मुख्य लुगाहरु बैंककमा नै राखेको थिए । “टुक टुक” चढेर लागे आजको होस्टेल तर्फ । “होचिमिङ्ग” सिटीमा नेपालीहरुको रेस्टुरेन्ट छ भन्ने सुनेता पनि अझै देखिएको थिएन । होस्टेलमा सामान राखी हल्का फ्रेस भएर निस्के “होचिमिङ्ग” को नाइट लाइफको अनुभव बटुल्न ।

“बुई भिएन” स्ट्रिट जो नाइट लाइफको लागि प्रख्यात थियो । काठमाण्डौको ठमेल जस्तै । बसेको होस्टलबाट पाँच मिनेटको हिँडाइमा नै पुगिने बुई भिएन स्ट्रिट । हजारौको संख्यामा विदेशीहरु जो कोही बारमा बसेर वियर पिउँदै थिए, कोही सडक छेउमा राखिएको मेचमा बसेर खाना खाँदै त कोही ओपन डिस्कोमा नाचीरहेका । त्यहाँ विदेशी पर्यटकहरुको तुलनामा ठमेलमा देखिने पर्यटक केही पनि होइन । बाटोमा हिँड्न पनि मुस्किल थियो पर्यटकहरुले । विभिन्न लाइट तथा लाउड म्युजिकका आवाजले पुरै एरिया नै कुनै डिस्को थेक हो कि भन्ने भान परिराखेको थियो मलाई । शान्त ठाउँमा बस्न रुचाउने भएतापनि कहिले काँही रमाइलो हुन्छ अरुले हाँसेको र रमाइलो गरेको देख्दा । हातमा क्यान वियर बोकेर चुस्स चुस्स पिउँदै डुली रहेँ । घुम्दा घुम्दै रातको एक बजेको पत्तो नै पाइन ।

बिहानीको शितल हावाले गालामा आएर प्याट्ट हिर्काए जस्तो भयो । बिस्तारै उठेर छेउमै रहेको सानो बार्दलीबाट सुर्यको दर्शन गरे । “होचिमिङ्ग” शहर शान्त थियो । हिजो रातीको ति सब दृश्यहरु यही भएको थियो भनेर पत्याउन गाह्रो भइरहेको थियो । आफुलाई चाँडो तयार पारेर निस्के होस्टेललाई धन्यवाद भन्दै ।

“बान” अर्थात फ्रेन्च ब्रेड मा बेकन, लेटस, पोर्क हालेर बनाइएको स्यान्डवीच जस्तै । जुन त्यहाँको बिहानको नास्ता थियो । हुन त बिहान, दिउँसो र राती खाएको देखेको र आफैले पनि मिठो भएकोले खाएको थिए । “कु चि” टनेल जुन अमेरिका संग युद्ध हुँदा बनाइएको सुरुङ्ग थियो । सात किलोमिटर लामो सुरुङ्ग थियो त्यो । त्यहाँको गाइडले ग्रुप गु्रप बनाएर घुमाउने रहेछन् । त्यहाँ रहेका ठुला ठुला बन्करहरु, हात हतियारहरु हेर्दै हामी अगाडी बढ्यौं । जब त्यस लामो सुरुङ्गमा पस्दा यस्तो लाग्यो कि म आफै कुनै सिपाही हुँ । अझ शुल्क तिरेपछि बन्दुकहरु पनि चलाउन पाउने रहेछ । दिनभरी नै घुम्दा पनि मन अघाएको थिएन त्यहा मेरो । कसरी दुःखका साथै चलाखी पूर्ण तरिकाले त्यत्रो ठुलो र लामो सुरुङ्ग बनाएको देख्दा जिब्रो टोक्न मन लाग्थ्यो ।

“बेन थान मार्केट” होचिमिङ्गको सबैभन्दा पुरानो बजार थियो । एउटै घरको छत मुनी लुगा देखि खानाको सबै कुराहरु पाइन्थ्यो त्यहाँ । काठमाण्डौको इन्द्रचोक जस्तै । एक छेउबाट पसरेर अर्को छेउ निक्लन मलाई पुरै एक घण्टा लाग्यो । सस्तो तथा एउटै छत मुनी सबै कुरा पाउने भएकोले गर्दा पनि त्यहाँको लोकल बढी थिए ।

१९८० मा फ्रेन्चको पालामा निर्मित चर्च “नोटेर दाम क्याथङ्गेल बेसलिका अफ साइगोन” जो सुन्तला रङ्गमा सजिएको थियो । डाउन टाउनमा अवस्थित उक्त चर्च सबैभन्दा ठुलो र भव्य लाग्यो मलाई । हुन त बुद्ध धर्म मान्नेहरुको बाहुल्यता रहेपनि क्रिश्चियन धर्म मान्नेहरु पनि त्यतिकै भेटे । ठाउँ ठाउँमा रहेका साना ठुला चर्चहरुबाट पनि सजिलै अनुमान लगाउन सकिन्थ्यो । फ्रेन्चहरुले बनाएकोले पनि होला सायद फ्रान्सेली कलाहरुको बढी झलक पाइन्थ्यो ति चर्चहरुमा । मिलाएर राखिएको लामा लामा मेचमा बसेर त्यहाँको सुन्दरतालाई नियाली रहेँ केहीबेर ।

क्यामबोडिया जाने समय पनि अब भियतनाममै बिताउने भएकोले गर्दा पनि समय प्रशस्त थियो । अझ भियतनामको प्राकृतिक ठाउँहरुमा घुम्न बाँकी नै थियो । “आइलाण्ड” को धनी देश भियतनाम जसमध्ये “हौउलोङ बे” संसारको उत्कृष्ट आइलाण्ड मध्ये पर्छ । जसलाई आफ्नै आँखाले हेरेर अनुभव लिनलाई आतुर थिए । “हानोइ” को प्राकृतिक सुन्दरतालाई मानस पटलमा अतार्नलाई त्यतिकै ब्याकुल थिए । “मेकोन डेल्टा” मा डुङ्गामा चढेर त्यहाँको पानी माथिको मानव बस्थिलाई क्यामरामा लुकाउन चाहेको थिए ।

“बिटेक्स्को” टावर अर्थात “साइगोन स्काई डेस्क” । २६२.५ मि उचाई रहेको भियतनामको दोस्रो ठुलो टावरको उनान्नपचास तलामा बसेर दुर्वीनका माध्यमबाट होचिमिङ्गलाई हेर्दाको क्षणलाई जति बयान गर्दा पनि कम थियो । विकास कुन गतिमा दौडिरहेको छ त्यहाँ भन्ने अनुमान लगाएँ । शान्त तरिकाले बगीरहेका समुन्द्रमा तैरिरहेका ठुला ठुला जहाजहरु, तछाड मछाड गर्दै हुँइकिरहेका चिल्ला तथा सफा सडकहरुमा गाडीहरु, ठुला ठुला होटलका छत माथि बनाइएको स्विमिङ्ग पुलमा पौडीरहेका मान्छेहरु, बन्दै गरेका गगनचुम्बी भवनहरुलाई पुरै समय लगाएर टावरको माथिबाट फन्को लगाई लगाई नियाली रहेँ ।

ठुला ठुला सपिङ्ग महलहरुमा पनि पुग्न भ्याएँ । विस्तारै सुर्य अस्ताउँदै जाँदा नदीका छेउहरुमा व्यवस्थित तरिकाले बनाइएको ठाउँहरुमा बसेर चिसो वियर पिउँदै बगीरहेको नदीलाई हेर्न पाउनुको मज्जा बेग्लै थियो । विस्तारै रात पर्दै जाँदा पार्कहरुमा मान्छेहरुको भिड बढ्दै जान्थ्यो, कसैलाई कसैको मतलब थिएन । जोडीहरु माया साटासाट गरिरहेको भेटिन्थे । कोही आफ्ना साना नानीहरुसंग रमाइरहेका त कोही आफ्नै तालमा नाची रहेका ।

“डा कु” खुट्टाले हानेर खेल्ने खेल सानामा चुंगी खेलेको सम्झना दिलाउँथ्यो । त्यहाँ साँझ परेपछि गु्रप गु्रप बनाएर उक्त खेल खेलेको देख्दा अनुरोध गरेर खेलमा सामेल भएको थिएँ । आज भोली भन्दा भन्दै पुरै ६ दिन बिताइसकेको थिएँ होचिमिङ्गमा । “बुन थिट न्वाङ” होस वा “बन मि” जस्ता त्यहाँका खाना त्यहीँका लोकल मान्छेहरुसंग बसेर खाँदाको आनन्द छुट्टै थियो । विदेशीहरुलाई गाह्रो नहोस् भनेर ठाउँ ठाउँमा सानो कोठा जस्तो बनाइएको थियो । जसमा फ्रि इन्टरनेट, मोबाइल चार्ज गर्ने र हरेक जानकारी त्यहाँबाट फ्रिमा उपलब्ध गराइन्थ्यो । साँझ त्यही बसेर मोबाइल चार्ज गरी रहँदा त्यहीको एक महिला स्टाफसंग मेरो कुरा भयो । मेरो भिसाको समस्याले गर्दा क्याम्बोडिया जना नमिलेको कुरा भन्दा उनले मेरो पासपोर्ट मागेर खोई को संग उनकै भासामा कुरा गरिन । केही क्षणमा उनले मलाई त्यहाँ रहेको ट्राभल एजेन्सीमा गएर बुझेको खण्डमा नो अब्जेक्सन लेटर बनाउन सकिने कुरा भनिन् । उनले भने बमोजिम नजिकै रहेको ट्राभल एजेन्सीमा बुझ्दा यो थाहा भयो कि उक्त लेटर बनाउन त सकिन्छ तर बढी खर्च गर्नुपर्ने थियो कारण त्यस दिन शुक्रबार परेकोले । शनिबार र आइतबार छुट्टी हुने, सोमबार बनाएर क्याम्बोडिया जाँदा समय अपुग हुने । अघिसम्म क्याम्बोडिया जाने कुरालाई माया मारिसकेको हुनाले यही भियतनाम मानै कसरी कहाँ कहाँ जाने भन्ने थियो तर जान मिल्ने कुरा थाहा भए देखि एकपल्ट फेरी क्याम्बोडियाको ठाउँहरु घुम्न थाल्यो आँखा वरीपरी । तीन घण्टामा उक्त लेटर बनाएर ल्याइदिने र त्यसै रात क्याम्बोडिया जानुपर्ने सुझाव दिए । लेटर त बनाउला तर पछि बोर्डरबाट भित्र पस्न दिएन भने गर्ने के त ? जस्ता अनेकौं प्रश्न खेली रह्यो मनमा । जति नै शंका उपशंका गरेपनि क्याम्बोडिया जाने इच्छाको जित भयो र पैसा बुझाएर रातीको गाडीमा क्याम्बोडिया जाने भएँ । रात पर्न धेरै बाँकी भएकोले निस्के फेरी डुल्नलाई ।

“पपेट थिएटर सो” जुन पानीमा पुतलीहरु नचाएर देखाउने नाच । पुतलीहरुमा बाँधिएका नदेखिने मसिना डोरीहरु जुन माथि बसेका मान्छेहरुले चलाएर संगीतको तालमा नचाइने नाच । हुन त यो भन्दा पहिला जापानमा हुदा नै हेरीसकेको अनुभव थियो मलाई । समय पनि थियो र किमले हेर्न नछुटाउनु रमाइलो हुन्छ भनेकोले खानाको मज्जा लिँदै उक्त नाच हेरेर रमाइलो लिएँ ।

आफ्नै हेलचेक्राइले गर्दा जुन उद्देश्यले भियतनाम आएको थिए त्यो पुरा हुन सकेन । नेपालमै भिसाको बारेमा राम्ररी बुझेको भए थोरै समयमा बढी ठाउँहरु हेर्ने मौका पाउँथे मैले । जुन कार्यक्रम अनुसार यो यो ठाउँ यसरी घुम्छु भन्ने मेरो योजना सबै तलमाथि हुन गयो । जे होस् अरु शहर घुम्न नपाए पनि जति “होचिमिङ्ग” मा बिताए त्यसलाई आत्मसाथ गर्दै भविष्यमा मौका मिलेको खण्डमा बाँकी शहरहरु घुम्ने अभिलाषाका साथ क्याम्बोडियाको लागि बसतिर लम्के ।

धुम्बाराही, काठमाण्डौ

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख