२१ श्रावण २०७९, शनिबार

नेपालमा किन घटेन कोरोनाबाट मृत्यु हुने दर?

काठमाण्डौँ । पछिल्लो साता कोभिड–१९ संक्रमण दर घट्दै गए पनि मृत्युदरमा उल्लेखनीय सुधार नआएको विज्ञहरूले बताएका छन् । संक्रमण दर घट्दै गएकाले अस्पतालमा शय्या पाउन खासै समस्या छैन । मृत्यु भने दैनिक एक सय हाराहारीभन्दा घट्न सकेको छैन ।

मंगलबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा ३२.०७ प्रतिशत अर्थात् ३ हजार ८ सय ७० जनामा संक्रमण देखिएको छ भने १ सय ८ जनाको मृत्यु भएको छ । ‘मृत्युदरमा उल्लेख्य सुधार हुन अझै बाँकी छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने, ‘संक्रमण दरमा भने सुधारोन्मुख लक्षण देखिन्छ ।’

संक्रमणको पहिलो लहर कम हुने बेला यस्तै अवस्था देखिएको उनको भनाइ छ । ‘तर पहिलो लहर पिकमा हुँदासमेत आज (मंगलबार) जति मृत्यु भएको छ, त्यसको करिब एकतिहाइ मात्र मृत्यु भएको तथ्यांक छ,’ उनले भने ।

अझै केही समय स्वास्थ्य सावधानी आवश्यक रहेको जनाउँदै उनले छिमेकी मुलुक भारतमा समेत संक्रमण कम हुँदै गएकाले त्यसको सकारात्मक प्रभाव नेपालमा पर्ने विश्वास व्यक्त गरे ।

भारतमा मंगलबार २ हजार १ सय ३० जनाको मृत्यु भएको छ । ४.५० प्रतिशत अर्थात् १३ लाख ३ हजार ७ सय २० जना सक्रिय संक्रमित छन । नेपालमा मंगलबार १ सय ८ जनाको मृत्यु भएको छ । १३.९० प्रतिशत अर्थात् ८२ हजार ७ सय ३६ जना सक्रिय संक्रमित छन् ।

कान्तिपुर दैनिकले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख