२ भाद्र २०७९, बिहीबार

मध्यरातमा महतोको स्पष्टिकरण, यसरी गरे आफ्नो बचाउ

काठमाडौं । राष्ट्रघात हुने गरी विखण्डनकारी अभिव्यक्ति दिएको भन्दै नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको व्यापक आलोचना भएपछि शनिवार मध्यरातमा विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएका छन्। विवादास्पद अभिव्यक्तिले आलोचित भएका महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको जनाएका छन्। राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता समेत रहेका उपप्रधानमन्त्री महतोले आफ्नो अभिव्यक्ति बङ्ग्याएर गलत प्रचार भएको समेत दाबी गरेका छन्।

शनिवार राति विज्ञप्ति निकालेर उनले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको र यसबारेमा कसैलाई पनि भ्रममा नराख्न आग्रह गरेका हुन् । ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसाथ गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, महतोले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रवार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्ति दिएका थिए। त्यसको आलोचना भइरहेकै बेला शनिवार फेरी अर्को कार्यक्रममा त्यही अभिव्यक्ति दोहोर्याएपछी उनी विरुद्ध आक्रोश पोख्दै युवाहरू सडकमा उत्रिएका थिए। 

उनले विज्ञप्ति मार्फत आफू संविधानप्रति प्रतिबद्ध रहेको र त्यसको मर्म अनुरुप राष्ट्रिय एकता एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनी स्पष्ट पारेका हुन् । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख