चीनले दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौँ । चीनले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौँ आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी विमानले बेइजिङबाट उक्त परिमाणको खोप काठमाडौँ ल्याइपुर्याएको हो ।
खोप ल्याएको उक्त जहाज दिउँसो १ बजेर ४८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। निगमको जहाज खोप लिन सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको थियो ।
आजै, चीनको स्वायत्त क्षेत्र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको १ लाख डोज खोप चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले काठमाडौं ल्याउँदैछ ।
बुधबार पनि कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले बाँकी १ लाख डोज खोप ल्याउने बताइएको छ । चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो ।