२ असार २०७८, बुधबार

चार दिनको बीचमा कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएपछि विराटनगरको एक परिवार उजाडिएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएको हो । 

परिवारका अभिभावक आमा, छोरा र बुहारीको चारदिनको बीचमा संक्रमणका कारण मृत्यु भएको आफन्त अरुण न्यौपानेले बताए । न्यौपानेका अनुसार परिवारका चार सदस्यमा कोरोना संक्रमण भएपछि  ८१ वर्षीय आमा, ६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

तर चार दिनको बीचमा उनीहरु मध्ये संक्रमणका कारण मंगलबार छोरा, विहीबार आमा र शुक्रबार बुहारीको मृत्यु भएको छ । उनीहरुका छोरो भने  अस्पतालमा उपचाररत रहेका छन् । संक्रमणका कारण आमा बुबाको मृत्यु भएपनि छोरा अस्पतालमा रहेकाले दागवत्ती दिनपनि छोराले नपाएको आफन्त न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख