२४ श्रावण २०७९, मंगलबार

जसपाले सोध्यो अध्यक्ष ठाकुरलाई २४ घण्टे स्पष्टीकरण

काठमाण्डौँ । जसपाको उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ । यसअघि स्पष्टीकरण दिन भन्दै पत्राचार भएकोमा प्राप्त नभएकाले दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण पत्र पठाइएको हो । 

केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन, २०७३  र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४(५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही हुने चेतावनी दिइएको छ । 

ठाकुरले पार्टी विधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८(३), २५(१),(२) र पार्टी विधानको दफा ४९ को १,२,३,५ र ८ का साथै दफा ५० को १ विपरित काम गरेको आरोप लगाइएको छ । सोही आरोपमा यादव समूहले जेठ ११ गते ठाकुरलाई स्पष्टीकरण सोधेपनि उनले जवाफ दिएका छैनन् । 

यादव पक्षले वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पनि तीन दिनभित्र स्पष्टिकरण दिन पत्र पठाइएको थियो । तीन दिनको दिनको म्याद सकिए पनि अध्यक्ष ठाकुरबाट कुनै प्रतिकृया नआएपछि बाध्य भएर २४ घण्टे स्पष्टीकरण सोधिएको अध्यक्ष उपेन्द्र यादवले बताए । उनका अनुसार महतो, कर्ण र शुक्लालाई पनि सोही व्यहोराको पत्र पुन: पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख