२५ भाद्र २०७८, शुक्रबार

यथा राजा तथा प्रजा !

धर्म र पापलाई सत्यले छुट्याएको हुन्छ । जहाँ सत्य हुन्छ त्यहा धर्म हुन्छ, जहा धर्म हुन्छ त्यहा नैतिकता अनि जहा नैतिकता हुन्छ त्यहा प्रतिज्ञा हुन्छ । प्रतिज्ञा सत्यको बाटोको पहिलो पाइला हो ।

प्रतिज्ञा मन नियन्त्रणको प्रकृया पनि हो । मन नै हो जसले राम्रो र नराम्रो काममा प्रोत्साहित गर्दछ । मनलाई नियन्त्रण गर्न सकीएन भने पापको बाटो समात्न पुगिन्छ । जब राम्रो कामगर्ने प्रतिज्ञा गरिन्छ तब मनलाई नराम्रो कामगर्न प्रतिज्ञाले रोक्छ र मनलाई नियन्त्रण गर्दछ । 

पुजापाठ, प्रार्थना गर्नुमात्र धर्म होइन । पुजापाठ, प्रार्थना त धर्मको बाटोमा हिड्ने एक सानो पाटोमात्र हो । यो आस्थासँग जोडिएको हुन्छ । हामी जो प्रति आस्था राख्छौं उसैको पुजा गर्दछौं । आस्था विचारसँग जोडिएको हुन्छ । विचार विनाको आस्था हुनै सक्दैन । यसकारण धर्म एक बैचारीक आस्था हो ।

यहि बैचारीक आस्थाले मानिसलाई सत्यको अथवा धर्मको बाटो हिडाएको हुन्छ । यहि बाटोले मानिसलाई नैतिकवान, इमान्दार बनाएको हुन्छ । जति बढि जिम्मेवार र अधिकार प्राप्त व्यक्ति हुन्छ त्यतिकै बढि आस्थावान, नैतिकवान हुन जरुरी हुन्छ । किनकी त्यस्तो व्यक्तिहरु जिम्मेवार, इमान्दार र नैतिकवान भएनन भने समाज, राष्ट्रमा बेथिति शुरु हुन्छ । अधिकारको दुरुपयोग हुन्छ । अनि अपराधले घर जमाउछ ।

यहि बैचारीक आस्थाकै कारण हामी कांग्रेस, कम्युनिष्ट, समाजबादी भनेर आफुलाई चिनाउने गर्दर्छौ । हामीले धारणा गरेको चिज नै बास्तबमा धर्मको व्याख्या हो । जुन बैचारिक आस्था हामीले धारण गरेका हुन्छौं अथवा स्वीकारेका हुन्छौं, हो त्यही आस्था, धर्म, राजनीतिलाई हामीले स्वीकार गरेका हुन्छौं ।

यहि बैचारीक आस्थालाई अगाडि बढाउन नेतृत्व लिनेलाई समाजले नेता स्वीकार गरेका हुन्छ, उसको सम्मान हुन्छ र उसलाई कुनै न कुनै रुपमा पुजा पनि गरिरहेका हुन्छ ।

कुनै व्यक्ति तथा नेता कति धार्मिक, नैतिकवान छ भन्ने जाँच्ने उसको आचरण र व्यबहार हो । उसले के बोल्छ त्यो पहिलो कुरा भयो अनि के गरिरहेको छ त्यो दोश्रो कुरा । व्यक्तिले उसको विचारको प्रयोग आचरण र व्यबहारको कसिमा गरिरहेको हुन्छ र आम मानिसले उसलाई उसको आचरण र व्यवहारमा जाँचि रहेकाहुन्छन ।  

राज्ञ धर्मिणी धर्मिष्ठाः पापे पापाः समे समाः।
राजानमनुवर्तन्ते यथा राजा तथा प्रजाः।।

त्यही भएर “यथा राजा तथा प्रजा” भनिएकोछ । देशमा अनैतिक, अत्याचारी, लुटेरा, भ्रष्ट शासक छ भने विस्तारै प्रजाहरु पनि त्यही बाटो तिर लागेका हुन्छन । शासकको नजिक बस्नेहरु झन बढि अनैतिक, अत्याचारी लुटेरा र भ्रष्ट हुन्छन । यो प्रकृया विस्तारै समाजमा फैलिन्छ अनि देश, समाजका व्यक्तिहरु भ्रष्ट, अनैतिक हुन्छन र देश अधोगतीतिर जान्छ ।

यो अबस्थामा देश र समाज भन्दा अधिकार प्राप्त व्यक्तिहरु ठूला ठानिन्छन । नीति, सिद्धान्त भन्दा नेताहरु आर्दश मानिन्छन । शक्तीमा रहेका व्यक्तिहरुको सत्य, निष्ठा जाँचिदैन । शक्तीको नजिक पुग्ने, सम्बन्ध बढाउने र उनीहरुबाट फाईदा लिनेहरुको होड चल्छ । नजिक बस्नेहरु शासकको वरिपरि प्रसंसा र जयजयकारको धुन गुन्जाईरहेका हुन्छन । 

यसरी शासकले आफुलाई सर्बशक्तीवान् सम्झिन्छ । आफुलाई सर्बज्ञानी, विद्धान, महान व्यक्तिको रुपमा देख्न पुग्दछ । उसको समालोचना गर्ने व्यक्ति उसले सबभन्दा ठूलो सत्रु देख्छ । इगो र दम्भले मातिएको यो समयमा राम्रो के हो ? भन्ने नै छुट्याउन कोशिस गर्दैन । अन्तत यस्ता शासक तानाशाहा, निरंकुश भएर निस्कन्छन । यसरी राष्ट्र अन्धकारको युग तिर भाँसिन्छ ।

यसको ठिक उल्टो जुन देशमा शासक धार्मिक, नैतिकबान, इमान्दार हुन्छ पक्कै पनि शासकका नजिक बस्नेहरु पनि शासकको यहि नीति व्यवहारलाई पक्षपोषण गर्ने हुदाँ नैतिकवान, इमान्दार, जिम्मेवार हुन पुग्छन । फलस्वरुप राज्य एक सुन्दर सामाजिक सहिष्णुताले भरिपूर्ण हुन्छ । देश विकासको गतिमा अघि बढ्छ । 

हामीले पढेको र सुनेको दूई पौराणीक राज्यलाई एकचोटी मनन् गर्रौ जसबाट यथा राजा तथा प्रजा ! झन प्रष्ट हुन्छ ।

पहिलो राज्य थियो राम राज्य जसको बारेमा रामायणमा हामी पढ्छौं । जुन राज्यलाई आज पनि आर्दश राज्य मानिन्छ किनकी त्यहाँ धर्म, नैतिकताको आधारमा शासन हुन्थ्यो । जनताको भलाई नै मुख्य आधार मानिन्थ्यो । बहुमतको मात्र होइन एक एक व्यक्तिको कुरा सुनिन्थ्यो । त्यही भएर एक (सामन्य धोवी) व्यक्तिले सितालाई लगाएको आरोपको लागी सिताको अग्निपरीक्षा भएको थियो । 

रामले चाहेको भए महारानी माथि त्यस्तो आरोप लगाएको भनि त्यो धोवीलाई मृत्युदण्ड दिन सक्थ्यो । तर रामले त्यसो गरेनन, उनको माहारानीलाई असल देखाउन राज्य शक्ती प्रयोग गरेनन । त्यही भएर धोवीको आरोपको असत्यता सिता आफैले प्रमाणित गर्नु पर्यो ।

यतिमात्र होइन रामराज्यमा भाईभाई मिलेका थिए । एकले अर्काको सहयोग गर्दथे र देश र जनतालाई न्याय दिनको लागी लागि पर्थे । त्यहि भएर आज पनि हामी रामको त्यो काललाई रामराज्यको संज्ञा दिएकाछौं र आर्दश राजा आर्दश राज्यको रुपमा विश्वमा प्रख्यात छ ।

त्यस्तै अर्को राज्य थियो महाभारतकालीन राज्य जहा घृतराष्ट जस्तो स्वार्थी र दर्योधन जस्तो पापीले राज गरेका थिए । भाई भाई फुटेका थिए । देशमा जताजतै स्वार्थी र पापीहरुको उदय भयो । पद, शक्ती र धनकोलागी युद्ध हुन थाले । नीति सिद्धान्त कानूनहरु मासिए । जुवा जस्तो छलकपटहरु हुन थाले ।

अन्तत महाभारतको युद्ध भयो जुन मात्र सत्ताको लागी थियो । हजारौ मान्छेहरु मरे, जनधन सैनिकहरु मारिए, जनताहरुको कर युद्धमा खर्च भयो, घृतराष्टका सबै सन्तान सकियो । पाण्डबले एउटा सानो गाँउ माग्दा दिन अहंकार गर्ने दुर्योधनले राज्यमात्र होइन सम्पूण भाई सहित ज्यान नै गुमाउनु पर्यो । 

अन्तमा भन्नुस त हाम्रो देशले कुन शासनलाई अंगिकार गरिरहको छ ? हामीले १०/१० बर्षमा संविधान परिबर्तन गरिहेकाछौ र भनिरहेका हुन्छौं यो विश्वकै उत्कृष्ट संविधान तर संबिधान एक कागजको खोष्टो हुन पुग्छ । 

हेर्नूस त आज जनता एक मुठि अक्सिजन नपाएर मरिहरेकोछ । एक छाँक खानको लागी बाग्मती बगरमा लाम लागरिहेकोछ । त्यसकारण आर्दश शासक विनाको राज्य, नीति तथा सिद्धान्त सास विनाको लास हुनेरहेछ न जल्दा बोल्छ, न कुट्दा उठ्छ । अबको लडाई असल शासकको खोजी हो । 

मनोज कुमार कँडेल
अधिवक्ता/बरिष्ठ बालअधिकारकर्मी

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख