४ भाद्र २०७९, शनिबार

फौजीकिराले मकैबाली नष्ट गरेपछि दोहोरो चिन्तामा किसान

गलेश्वर । कोरोना भाइरसको दोस्रो लहरको संक्रमणले थलापरेका बेला खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेका छन् ।

म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् ।

जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका कतिपय किसान अहिले कोरोनाको चपेटमा परेका छन् । कतिपय संक्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् ।

यही बेलामा किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको हो । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका २ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताउनुभयो ।

बगरफाँटको ४ सय रोपनी क्षेत्रफलको फाँटमा फौजी किराले मकैवाली कामै नलाग्ने गरी नष्ट गरिदिएको कृषक थापाले बताउनुभयो । “खेती लगाएका किसान कोरोनाले विस्तारामा थलिएका छन्, खेतमा मकै किराले खाएर थलिएको छ, यस वर्ष खाद्यान्नको पनि सङ्कट हुनेभयो”, कृषक थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख