२ असार २०७८, बुधबार

१२ दिनपछि ढुङ्गाले छोपेर राखिएको अवस्थामा ओडारमा शव भेटियो

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अँठ्याएको अवस्थामा शव फेला परेको छ । यही वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देवीस्थानको मार्चुला सामुदायिक वनको बराहथानस्थित ओढारमा आइतबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । ढुङ्गाले छोपेर राखिएको अवस्थामा शव भेटिएकाले कसैले हत्या गरेर ओढारमा राखेको हुनसक्ने अनुमान गरिएको छ ।

टाउको र कुम देखिएको अवस्थामा भेटिएको शव सडेको थियो । धजेन्द्रसँगै वैशाख १४ गतेदेखि देवीस्थानका अन्य चार युवा सम्पर्कविहीन छन् । मृतकका दाजु तिलक पुनले प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धान र संलग्नको खोजी थालिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।

देवीस्थानमा एकै दिन दुई वटा अपराध भएका छन् । वैशाख १४ गते त्यहाँ छिमेकमा विवाह थियो । बलात्कारको शिकार बनेकी बालिका विवाहमा गएकी थिइन् । दुवै घटनाका बारेमा आइतबार प्रहरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख