९ श्रावण २०७८, शनिबार

भेरी अस्पतालको व्यथा : १४२ बेडमा २९२ संक्रमित

नेपालगञ्ज । बाँकेमा फैलिएको कोरोना महामारीप्रति प्रदेश र संघीय सरकार संवेदनशील बन्न नसकेको गुनासो स्वास्थ्यकर्मीहरूले गरेका छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीको ठूलो पंक्ति नै संक्रमित भएपछि मेडिकल टिम माग गरिए पनि नपठाइएको उनीहरूले बताए ।

‘बिरामीको चापलाई सीमित चिकित्सकले थेग्न सकिँदैन,’ भेरी अस्पतालका मेडिकल अधिकृत तथा फिजिसियन डा. राजन पाण्डेले भने, ‘महामारीलाई आपत्कालीन रूपमा सम्बोधन गरिनुपर्थ्यो । भनिरहेका छौं, कराइरहेका छौं तर केन्द्र र प्रदेश सरकारले ध्यान दिएका छैनन् ।

भेरी अस्पतालमा अहिले एउटै नर्सिङ स्टाफले ३० जनाभन्दा बढी बिरामी हेर्नुपरिरहेको छ । चिकित्सकहरूका अनुसार एक नर्सिङ स्टाफले एक जना बिरामीलाई हेर्नुपर्ने हो । आफू संक्रमित हुँदाहुँदै पनि उनीहरू ड्युटीमा खटिएका छन् ।

जनशक्ति अभाव भएकैले एक जनाले १६ घण्टासम्म खटिनुपरेको छ । ‘एउटा नर्सले दर्जनौंलाई हेर्नुपर्ने स्थिति छ । आईसीयू र भेन्टिलेटरका बिरामीलाई झन् धेरै केयर चाहिन्छ,’ भेरी अस्पतालकै कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत शिला शर्माले भनिन्, ‘स्थिति धेरै गाह्रो भइसकेको छ ।

यस्तो भयावह स्थितिमा पनि थप जनशक्ति नपठाउँदा संकट झन् बढेको छ ।’ कान्तिपुर दैनिकले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख