२८ बैशाख २०७८, मंगलबार

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय ।

सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको थियो भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको थियो ।

तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा अलमल गर्दै आएको थियो ।

पछिल्लो २४ घण्टामा ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ० देखि ९ वर्ष उमेर समूहका २१ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार मात्रै ९१ जना बालबालिकामा कोरोना संक्रमित भेटिएका थिए । यसअघि शुक्रबार पनि कोरोना संक्रमित बालबालिकाको संख्या ८१ थियो।

मन्त्रिपरिषद्ले कोभिड नियन्त्रणसम्बन्धी आदेश जारी समेत गरेको छ । त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको सहरी विकासमन्त्री साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख