२८ बैशाख २०७८, मंगलबार

‘२०७७ सालमा’ विवादमा परेका नेपाली कलाकारहरु

‘वि.सं २०७७’ साल अर्थात यो बर्ष भोलीबाट बिदा हुँदैछ । यो बर्ष नेपाली चलचित्र क्षेत्रका लागि सुखद बन्न सकेन । को’रोनाका कारण यो बर्ष नेपाली चलचित्र क्षेत्र सुनसान जस्तै बन्यो । ‘यो बर्ष ४ वटा मात्र नयाँ चलचित्र रिलिज भए भने करिब एक दर्जन चलचित्रको छायांकन सम्पन्न भयो ।’ यस्तै यस बर्ष नेपाली चलचित्रका कलाकारहरुको वि’वाद भने उत्कर्षमा देखियो ।’ कतिपय कलाकारको बोली चिप्लदा आलोचना भयो भने कतिपय कलाकारहरु एक अर्कासँग नै वि’वादमा उत्रिए । यसले, चलचित्र क्षेत्र ठप्प भएपनि कलाकार भने मिडियामा छाइरहे ।

१. वर्षा राउतको बोली चिप्लियोः नायिका वर्षा राउतले दिएको एक अन्तरवार्तामा उनले विशेषगरि, ‘भारतीय साथीहरुसँग कसरी कुरा गर्नु’ भनेपछि उनी आलोचनाको घेरामा परिन् । नेपालले नयाँ नक्शा जारी गरेपछि वर्षाले दिएको अन्तरवार्तामा उनले ‘भारतीय साथीहरुसँग कसरी कुरा गर्नु’ भनेकी थिइन् । यो बिषयमा चर्को आलोचना भएपछि वर्षाले माफी नै मागिन् । तर, आज पनि वर्षालाई यो विवादले छाडेको भने छैन ।

२. पूजा शर्मा–प्रकाश सुवेदीः नायिका पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीले आफूलाई टेलिभिजन कार्यक्रममार्फत होच्याएको भन्दै चलचित्र कलाकार संघमा उजुरी दिइन् । प्रकाशले ‘दारा भएकी नायिका’ भनेपछि पूजा रुदै कलाकार संघमा पुगिन् । उनले, उजुरी दिएपछि कलाकार संघ र एपी वान टेलिभिजनविच छलफल पनि भयो । पछि, यो विवाद सुल्झियो । तर, प्रकाश र पूजाको विवादले केही समय चलचित्र क्षेत्र तरंगित बनेको थियो ।

३. पूजाको बोली चिप्लियोः नायिका पूजा शर्माले गतबर्ष ‘म यस्तो गीत गाउँछु २’को प्रमोशनका क्रममा संचारकर्मी प्रकाश सुवेदीलाई दिएको एक अन्तरवार्तामा नेपालका जिल्ला र अञ्चलको संख्या उल्टो भनेपछि उनी ट्रोलको शिकार बनिन् । अन्तरवार्ताको यो भाग सामाजिक संजालमा भाइरल भयो । जसले पूजालाई केही समय तनाव झेल्नुपर्यो ।

४. भूवन केसी–साम्राज्ञी राज्यलक्ष्मी शाहः यो बर्षको सर्वाधिक चर्चित विवाद नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको रह्यो । नायिका शाहले भूवन केसीले आफूलाई छायांकनमा विभेद गरेको, ह्यारेसमेन्ट गरेको जस्ता आरोप लगाइन् । भूवनले भने साम्राज्ञीको आरोपलाई गलत भन्दै खण्डन गरे । विवाद चर्किएपछि भूवनले जिल्ला अदालतमा मुद्दा समेत दायर गरेका छन् । यो मुद्दा अहिले अदालतमा विचाराधिन छ । तर, लकडाउनको समयमा केही महिना साम्राज्ञी र भूवनविचको विवादले भने उग्र रुप लियो ।

५. महानायक विवादः यो बर्षको सबैभन्दा ठूलो विवादको रुपमा निर्देशक दीपाश्री निरौलाले दिएको ‘महानायक’ सम्बन्धी विवादलाई लिन सकिन्छ । दीपाश्रीले ‘राजेश हमाल पनि महानायक हो र ?’ भनेर दिएको एक अन्तरवार्ता भाइरल भएपछि उनको चर्को आलोचना भयो । दीपाश्रीको सामाजिक संजालमा थुप्रै ट्रोल बने । यो घटनापछि करिब २ महिना दीपाश्री सार्वजनिक रुपमा देखिइनन् । पछि, नायक राजेश हमालले ‘माफी दिन’ भनेपछि यो विवाद सकिएको थियो । तर, यसको असर दीपाश्रीको करिअरमा अझै पनि परेको देखिन्छ ।

६. सुष्मा कार्कीको क्लबमा लफडाः यो बर्ष सर्वाधिक विवादमा आउने नायिका हुन् सुष्मा कार्की । सुष्मा कार्की र पत्रकार उत्सव रसाइलीविचको विवादले पनि चर्को रुप लियो । काठमाण्डौको एक क्लबमा आरती खड्काले आफूलाई कुटेको र उत्सवले आफूलाई गाली गरेको भन्दै सुष्मा प्रहरी प्रभाग, दरबारमार्गमा उजुरी गर्न पुगिन् । यो विवादले केही दिन ठूलै चर्चा पायो । तर, पछि उत्सव र आरतीले माफी मागेपछि यो घटना सेलायो ।

७. जितु नेपाल–छक्का पन्जा टिम विवादः दीपाश्री निरौला ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएपछि विशेषगरि, छक्का पन्जा टिम र हाँस्य कलाकार जितु नेपालविच विवाद देखियो । छक्का पन्जा टिमबाट जितु बाहिरिए । जितुले दीपाश्रीलाई समस्यामा परेको समयमा पनि साथ नदिएको भन्दै दीपकराज गिरी र उनको टिम रुष्ट देखियो । यो विवाद अझै सुल्झिएको भने छैन ।

८. स्वेता खड्काको माझी बस्ती विवादः नायिका स्वेता खड्काले सिन्धुपाल्चोकको माझी बस्तीमा निर्माण गरिरहेको ‘एकिकृत माझी बस्ती’ यो बर्ष विवादमा रह्यो । विशेषगरि, केही संचारमाध्यममा स्वेताले माझी बस्ती नबनाएको लगायतका खबर सार्वजनिक भएपछि स्वेताले मुख खोलिन् । उनले, माझी बस्ती आफ्नो सपनाको बस्ती भन्दै सामाजिक संजालमा स्टाटस नै लेख्नुपर्यो । नेपाली चलचित्र क्षेत्र यो बर्ष विवाद नै विवादमा रुमल्लियो । केही कलाकार काममा कारण चर्चामा रहे भने केही कलाकार विवादका कारण सामाजिक संजाल र मिडियामा छाए । -अनलाइन खबर ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख