१४ फाल्गुन २०७७, शुक्रबार

प्रतिनिधिसभा विघटन: निर्णय एउटै, बोली फरक

काठमाण्डौँ । नेपाली कांग्रेस प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सच्याउनुपर्ने माग राख्दै आन्दोलनरत छ । कांग्रेसको केन्द्रीय समिति बैठकले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन भएको निष्कर्षसहित तेस्रो चरणको आन्दोलन सम्पन्न गरिसकेको छ ।

पार्टीले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निर्णय गरे पनि पार्टीका नेतापिच्छे नै फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् । संसद् विघटनविरुद्धको संयुक्त आन्दोलनमा सहभागी नहुने अडान लिएको कांग्रेसले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसलापछि थप रणनीति तय गर्ने नीति लिएको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीले निर्णय गरे पनि तत्काल सडकमा नजाने रणनीति लिएका छन् । उनले सडकबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दामाथि दबाब दिन नहुने अडान बारम्बार दोहो¥याउँदै आएका छन् ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने सर्वोच्चको निर्णयभन्दा पनि पार्टीले गरेको निर्णयअनुसार प्रतिनिधिसभा पुनस्र्थापनका लागि आन्दोलनमा जानुपर्ने जोड दिँदै आएको छ । केन्द्रदेखि वडा तहसम्म संसद् विघटनविरुद्ध आन्दोलन गरिसकेको कांग्रेसले ठुला सभा भने आयोजना गरेको छैन ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निर्णय गरिसकेको अवस्थामा सर्वोच्च अदालतको फैसला कुरेर बस्न नहुने बताउँछन् । उनले भने– ‘संविधानमा कहींकतै पनि संसद् विघटन गर्ने अधिकार छैन, कुनै पनि हालतमा संसद् पुनर्स्थापना गर्नुपर्छ, यसका लागि कांग्रेस सशक्त रुपमा लागिरहेको छ ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख