१४ फाल्गुन २०७७, शुक्रबार

सेयर बजार परिसूचक २६ सय नाघ्यो

काठमाण्डौँ । साताको तेस्रो दिन सेयर बजारले फेरि अर्को रेकर्ड बनाएको छ । सेयर बजार परिसूचक (नेप्से) ले नयाँ उचाइ लिँदै बजार अन्ततः १५.५० अंकले बढेर २६०१.५१ बिन्दुमा बन्द भएको छ ।

यसरी हालसम्मकै उच्च बिन्दुमा बजार पुग्दा दिनभरमा १० अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साताको दोस्रो दिन सोमबारको कारोबारको तुलनामा मंगलबारको कारोबार रकम ३५ करोड रुपैयाँले कम हो ।

मंगलबार कारोबार भएका २०८ कम्पनीमध्ये ७ कम्पनीको मूल्य स्थिर रहँदा ५३ कम्पनीको मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ । जसमा उच्च कारोबार गर्ने अधिकांश वाणिज्य बैंक छन् । वाणिज्य बैंकमध्ये पनि नबिल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नबिल बैंकको मंगलबार एकैदिन ५४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, सबैभन्दा बढी सेयर कारोबार गर्ने दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकको मंगलबार ४२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । यस्तै, मंगलबार नेपाल बैंकको ३९ करोड, नेको इन्स्योरेन्सको ३७ करोड र एनआइसी एसिया बैंकको ३३ करोड रुपैयाँको कारोबार भएको छ ।

यसैगरी, मंगलबार चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । जसमा सबैभन्दा बढी चन्द्रागिरी हिल्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २२० रुपैयाँ पुगेको छ भने कारोबार सुरु भएको तस्रो दिनमा नै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ ।

साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य मंगलबार ६.१५ प्रतिशतले घटेर प्रतिकित्ता १४५० रुपैयाँमा झरेको छ । यस्तै घट्नेमा पाँचथर पावर कम्पनी पनि छ । म्युचुअल फण्डबाहेक बैंकिङ समूह, विकास बैंक समूह र अन्य समूह बढे भने उत्पादन समूह, जीवन बिमा समूह, निर्जीवन बिमा समूहलगायत सबै घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख