१४ फाल्गुन २०७७, शुक्रबार

नेपाल र चीन नाका: सञ्चालनमा आउनुपर्ने ६ वटा, दुईवटा पनि खुल्दै-बन्द हुँदै

काठमाडौं । नेपाल र चीनबीचको सम्झौताअनुसार ६ नाका सञ्चालनमा आउनुपर्ने हो । तर, जसोतसो सञ्चालित दुई नाका (तातोपानी र रसुवागढी) पनि खुल्दै, बन्द हुँदै गर्छन्। पछिल्लो पालि बल्ल खुलेका यी नाका फेरि केही दिनका लागि भन्दै बन्द भएका छन् । 

दुई मुलुकबीच सन् २०१६ मा पारवहन ढुवानी सम्झौता भएको थियो । त्यसलाई कार्यान्वयन गर्न सन् २०१९ अप्रिल २९ मा नेपाल–चीन पारवहन ढुवानी प्रोटोकल भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिव प्रकाश दाहालले उक्त सम्झौताअनुसार ६ नाकामार्फत नेपालले चीनसँग आयातनिर्यात कारोबार गर्न पाउने सुविधा प्राप्त गरेको बताए ।

तर, सिन्धुपाल्चोकस्थित तातोपानी (कोदारी)–जाङमु र रसुवास्थित केरुङ–रसुवागढीमार्फत मात्र व्यापारिक कारोबार गरिँदै आएको छ । यी नाकाबाट नेपालले चाहेअनुसार पर्याप्त मात्रामा द्विपक्षीय कारोबार भने हुन सकेको छैन। ‘हामीले चीनसँग आर्थिक कारोबार गर्न हालसम्म ६ वटा नाका पाएका छौं’, मन्त्रालयकै अर्का उच्च अधिकारीले भने, ‘तर, लामो समयदेखि तातोपानी र रसुवा नाका व्यवस्थित रूपमा सञ्चालन हुन सकेका छैनन् ।

यस्तो अवस्थामा अन्य नाकाबाट आर्थिक कारोबार गरौंला भनेर तत्कालै विश्वस्त हुन आवश्यक छैन।’ ती अधिकारीका अनुसार नाका सञ्चालन गर्न सरकारको पहल नपुगेको र चीनले पनि चासो देखाएको छैन। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख