१४ फाल्गुन २०७७, शुक्रबार

किशोरी मृत फेला, हत्याको आशंका

बैतडी । बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी  हुन् ।ती किशोरीको शव स्थानीय  लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए ।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ । ‘मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन्, कपडा पनि च्यातिएको अवस्थामा छन्,’ उनले भने । ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी  र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ ।

घटनास्थलकै प्रकृति हेर्दा शङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए । घटनालाई गम्भीररूपमा लिएको र दोषीलाई कानूनी कठघरामा ल्याइने बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

घटनाको विस्तृत अध्ययन गर्न धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

रासस

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख