१४ माघ २०७७, बुधबार

वेणीमा लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ

चितवन । पवित्र तीर्थस्थल देवघाटको वेणीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, गलेश्वर आश्रमका पीठाधीश आत्मनन्द गिरीसहित सन्तमहन्त, वटुकलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो ।

यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित यात्रा वेणीमा पुगेको थियो । यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला शुरु भएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार यस वर्ष बजार लाग्ने मेला नगरी स्नानका लागि मात्र मेला हुने भएको हो । विभिन्न उपसमितिमार्फत मेला व्यवस्थापन गरिएको जानकारी उहाँले दिनुभयो ।

देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कंदा तिनले आँपटारीको बाटो प्रयोग गर्नेछन् । दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले देवघाटसम्म नै सवारी साधन पु¥याउन सकिनेछ । घिमिरेले भक्तजनले सो पुल प्रयोग गरेमा हाल प्रयोग हुँदै आएको बाटोको सवारी चाप घट्ने बताउनुभयो । दासढुङ्गाबाट जाँदा चार किमी दूरीमा सवारी साधनबाट देवघाट नै पुग्न सकिन्छ ।

घिमिरेले सवारीको पार्किङ, विद्युत्, शौचालय, सरसफाइ, खानेपानीलगायत व्यवस्था भइसकेको बताउनुभयो । आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा छन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ भएको छ । नेपाली सेना पनि उद्धारमा जुट्ने जनाइएको छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मतसम्भार गरिएको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमाङ्कन गरिएको छ । गत वर्षहरुमा सङ्क्रान्तिको अघिल्लो रात आज धाममा भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष यो सङ्ख्या भने कम हुने अनुमान गरिएको छ । आजदेखि नै भक्तजन आउने क्रम शुरु भएको छ । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो ।

सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख