४ माघ २०७७, आइतबार

काठमाण्डौँ उपत्यकामा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने तयारी

काठमाडौँ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान हुनेछन् । उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ ।

पाँच चोकमा र त्यहाँका आठ जेब्राक्रसिङमा जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो । ती बत्ती जडानका लागि रु एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ । उहाँले भन्नुभयो, “यस वर्षभित्रै यहाँ जडान सकिन्छ, अरु ठाउँमा पनि निरन्तर काम भइरहन्छ ।” विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेका छन् ।

पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । त्यो सफल नभएपछि सस्थाले बत्ती निकालेर लगेका उहाँले बताउनुभयो । तीनकुने–सूर्यविनायक सडक बिस्तार गरेका जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटी बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उहाँले बताउनुभयो ।

विभागले अहिलेसम्म उपत्यकामा १४ स्थानमा ट्रापिक बत्ती जडान गरिसकेको छ । ती स्थानमा र उपत्यकाका पालिकाले राखेका बत्ती रहेका छन् । विभागले थप अरु छ÷सात ठाउँमा बत्ती राख्ने योजना बनाएको छ ।

चक्रपथको कोटेश्वरदेखि कलङ्की खण्डमा ट्राफिक बत्ती जडान गर्नेगरी छलफल भइरहेको छ । बत्ती जडान भएका स्थानमा ट्रापिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ । यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको विभागले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख