४ भाद्र २०७९, शनिबार

अब अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

काठमाडौं । अब संसारको जुनसुकै कुनाबाट पुनः श्रम स्वीकृति पाउन सकिने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो व्यवस्था अबको एक साताभित्रै आफू बसेकै ठाउँबाट लिन सकिने भएको हो ।

‘‘केही सिस्टममा सुधारको काम गर्दै छौं,’’ विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि नेउपानले भने, ‘‘सम्पूर्ण प्रक्रिया सकेपछि हामी काम सुरु गर्छौं ।’’ यो व्यवस्थाले श्रम स्वीकृति लिन मात्रै नेपाल आउनुपर्ने समस्या समाधान हुने बताएका छन् । यसका साथै श्रम स्वीकृतिका लागि श्रम कार्यालय धाउनुपर्ने बाध्यता हट्नेछ । हाल दैनिक सात सयको हाराहारीमा श्रम स्वीकृति लिन मानिसहरु श्रम कार्यालय पुग्‍ने गरेका छन् ।

‘‘अनलाइनबाटै काम हुने भएपछि श्रम स्वीकृति लिने ८० प्रतिशतभन्दा श्रमिकहरु लाभान्वित हुनेछन्,’’ उनले बाह्रखरीसँग भने, ‘‘गत चार महिनामा करिब २५ हजारले पुनः श्रम स्वीकृति लिएका छन् भने ५ हजार ९ सयले नयाँ श्रम स्वीकृति लिएका छन् । यस्तै भिसा लिगलाइजेसन १४ सयले लिएका छन् ।’’

नयाँ श्रम स्वीकृति लिने समयमै श्रमिकको धेरै विवरण सिस्टममा भएका कारण पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सम्भव भएको उनले बताए । नेउपानेले निकट भविष्यमै नयाँ श्रम स्वीकृति लिने र लिगलाइजेसनका लागि पनि अनलाइनबाटै मिल्ने सिस्टम बनाउँदै गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख