४ माघ २०७७, आइतबार

राजधानी व्यवस्थापनका लागी लुम्बिनी प्रदेश सरकारको तयारी

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी व्यवस्थापनका लागी तयारी थालेको छ। दाङको राप्ती उपत्यका क्षेत्र स्थायी राजधानी घोषणा भएसँगै व्यवस्थित सहर निर्माणको तयारी थालीएको हो। एक वर्षमा गुरुयोजना बनाएर भौतिक संरचना निर्माणको काम थालनी हुने छ।
सरकारले स्थायी राजधानीका लागी आवश्यक पर्ने भौतिक संरचना निर्माणका लागी गुरुयोजना तयार गर्न स्थायी राजधानीको व्यवस्थापन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थायी राजधानीका लागी व्यवस्थित सहर निर्माण गर्न समिति गठन गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए।

“संरचना निर्माणका लागि धेरै समय लाग्छ, त्यसैले सरकारले तयारी थालेको हो”, उनले भने।

प्रदेश सरकारका संरचना तयार हुन करीब चार वर्षको समय लाग्ने उनको भनाइ छ।
राजधानीको व्यवस्थापन तथा समन्वय समितिको संयोजकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री रहने छन् भने सदस्य सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव रहने प्रवक्ता चौधरीले बताए।

सदस्यहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रशासन तथा बैठक महाशाखा, प्रदेश सभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवहरु तथा प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी र विभिन्न्न शाखा प्रमुखहरु रहनेछन्।
समितिले सङ्घीय सरकार र स्थानीय तहसँगको समन्वमा प्रदेशको स्थायी राजधानी रहने राप्ती उपत्यकामा जग्गाको व्यवस्थापन, गुरुयोजना निर्माण, संरचना निर्माणमा आवश्यक समन्वय तथा सहकार्य गर्ने र निर्देशन दिने काम गर्ने छ।


प्रवक्ता चौधरीले समितिले मुख्यमन्त्रीको प्रत्यक्ष निर्देशन बमोजिम स्थायी राजधानी व्यवस्थापनको लागि जग्गा प्राप्ती, संरचना निर्माण, व्यवस्थित सहर निर्माण लगायतको कार्यको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई आवश्यक निर्देशन दिने र आवश्यक परेमा जग्गा प्राप्ती, गुरुयोजना निर्माण लगायतका काममा समन्वय र सहकार्य गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण समेत संलग्न रहने गरी प्राविधिक समिति गठन गर्न सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख