२१ श्रावण २०७९, शनिबार

प्युठानको केहि बिधालयमा स्कुल बसको सुरुवात

प्यूठानको माण्डवी गाउँपालिका वडा नं ३ स्थित नयाँगाउँमा रहेका माण्डवी माध्यामिक विद्यालयले स्कुल बस सञ्चालन गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहजताका लागि स्कुल बस सञ्चालनमा ल्याईएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विद्यालयमा आउनका लागि दुरीका हिसाबले समय बढी लाग्ने र उनीहरुको अध्ययनमा प्रत्यक्ष प्रभाव परेकाले समयको सदुपयोगका लागि बस सञ्चालनमा ल्याईएको विद्यालयका प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिनुभयो ।

बसको आज एक औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बसको रिबन काटनुका साथै चालकलाई साँचो प्रदान गरेको बसको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकाले दिगो विकासको लक्ष्य प्राप्तीका लागि शिक्षा क्षेत्र महत्वपूर्ण भएको बताउनुभयो । हामी निर्वाचित भएर आएपछि शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि पालिकाबाट शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । माण्डवी माविलाई जिल्लाकै उत्कृष्ट विद्यालय बनाउनका लागि पालिकाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उहाँको भनाई थियो । पालिकाका २६ वटा सामुदायिक विद्यालय मध्ये माण्डवी माविलाई पहिलो प्राथमिकता दिई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु टाढाबाट आउने हुदाँ विद्यार्थीहरुलाई थकान महसुस हुने, पढाई छुट्ने, गृहकार्य गर्न नपाउने जस्ता कारणले शिक्षामा नकारात्मक असर परेको थियो, अध्यक्ष रोकाले भन्नुभयो,–‘यस्ता समस्या समाधान गरी शिक्षामा सकारात्मक परिवर्तन ल्याउन र शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि स्कुल बस सञ्चालन गरेका हौँ ।’ स्कुल बस सञ्चालनका लागि पालिकाले पनि सहयोग गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख