२४ श्रावण २०७९, मंगलबार

अब नेपालमा राजसस्था असम्भव छ – नेता सिटौला

काठमाडौँ। नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं १२ बुदे सम्झौताका प्रमुख रणनीतिकार कृष्ण प्रसाद सिटौलाले नेपालमा राजसंस्था पुनस्थापनाको सम्भावना नै नरहेको ठोकुवा गरेका छन्।

सिटौलाले देशव्यापी आन्दोलन राजाको समर्थनमा नभई कम्युनिस्ट सरकारको विरोधमा निस्केको दाबी गरेका हुन्।

‘मलाई राजसंस्था पुनस्थापना हुन्छ जस्तो लाग्दैन। नेपालको राजनीतिक विकास प्रतिगामी धारमा, पश्चगामी धारमा फिर्न सक्दैन।

नेपालको लोकतान्त्रिक आन्दोलन अब अगाडि नै बढिरहने हो। अहिले उठेको आन्दोलन सरकारको कमजोरीका कारण उत्पन्न भएको अभिव्यक्ति मात्रै हो भन्नेमा म स्पष्ट छु,’ भन्दै सिटौलाले भने, ‘जनताको हितमा, राष्ट्रको हितमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकारले काम गर्न नसकेका कारण जनतामा निराशा फैलिएको छ। त्यो निराशाको अभिव्यक्तिका रूपमा यी प्रदर्शन भएका हुन् भन्ने मलाई लाग्छ।’

त्यस्तै सिटौलाले गणतन्त्र उपलब्धी भएको समेत दाबी गरेका छन्। उनले व्यवस्था नै उल्टिने सम्भावना नरहेको बताए। उनले भने, ‘हामीले विगतमा गरेको आन्दोलनमा मौलिक परिवर्तन गणतन्त्र हो।

गणतन्त्रसँग जोडिएर धेरै जनताका अधिकार स्थापित भएका छन्। अब यो व्यवस्था नै उल्टिने सम्भावना छैन।’

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख