२२ श्रावण २०७९, आइतबार

नेकपा कुनै हालतमा फुट्दैन – रायमाझी

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो दाबी गरेका हुन् । उनले भने,‘जहाँसम्म नेकपाको अन्तरविरोधको सन्दर्भ र विषयवस्तु छ, पार्टीभित्र सानो होस या ठूलो अन्तरविरोध निरन्तर भैरहन्छन् । यो सर्वमान्य कुरा हो । अन्तरविरोध यस्तो चिज हो–जो निरपेक्ष हुन्छ । एकता सापेक्ष हुन्छ । अन्तरविरोध कहिले एकदम उचाईमा पुग्छ । कहिले तल पुग्छ । यसलाई स्वभाविक ठान्नुपर्छ ।

यो अन्तरविरोधले पार्टी विभाजनतिर पो लैजान्छ कि अथवा के हुन्छ ? भन्नेबारे चर्चा भैरहेको छ । म विश्वास दिलाउन चाहन्छु–पार्टी कुनै हालतमा फुट्दैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय नेतादेखि तल्लो तह अर्थात् कार्यकर्तासम्म वितरण भैसकेकोले त्यसमा छलफल हुने सुनाए ।

उनले भने,‘अध्यक्ष केपी शर्मा ओलीले पनि अब बस्ने सचिवालय बैठकमा पेश गर्नेगरि प्रतिवेदनको तयारी गर्दै हुनुहुन्छ ।

सम्पूर्ण विषयवस्तु र एजेण्डालाई केलाएर हेर्दा र अध्ययन गर्दा नेकपा सक्लो रहला कि फुट्ला, सरकार ढल्ला कि के होला भन्ने चर्चा अहिले चलिरहेको छ । म दाबाका साथ भन्छु–यही कारणले मात्रै पार्टी विभाजनमा जाँदैन् । किनभने यसका पछि कारण छन् । यतिवेला नेकपा विभाजन भयो भने नेकपामात्रै फुट्दैन, अहिलेसम्म हामीले संघर्षमार्फत प्राप्त गरेका परिवर्तनका एजेण्डा र उपलब्धि नै गुम्ने खतरा छ । यसको ठूलो असर त प्रमुख नेताहरुलाई नै पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख