२१ श्रावण २०७९, शनिबार

क्रिकेट रङ्गशालालाई चितवन सेवा समाजको सहयोग

 चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन गत वर्षको माघ १९ देखि २७ गतेसम्म आयोजना गरिएको महायज्ञमा घोषणा गरिएको बोलकबोल रकममध्ये केही रकम आइतबार एक समारोहबीच हस्तान्तरण गरेको छ ।
धनधान्यान्चल महोत्सवमा बोलकबोल गरिएको ५१ लाखमध्येबाट चितवन सेवा समाज युएईबाट उठेको २ लाख १० हजार हस्तान्तरण गरिएको हो ।
एनआरएनएका सल्लाहकार तथा चितवन सेवा समाजका सद्भावनादूत सोम सापकोटाले यो राष्ट्रिय गौरवको आयोजना रहेको र यसलाई सफल बनाउन सम्पूर्ण नेपालीको दायित्व रहेको बताए ।

आयोजना निर्माणमा चितवनवासीको सबैभन्दा बढी अपनत्व हुनुपर्ने बताउँदै उनले सबैलाई सकेको सहयोग मन फुकाएर गर्न आग्रह गरे ।
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिले १० लाख रुपैयाँ यसअघि नै हस्तान्तरण गरिसकेको अध्यक्ष मुक्तिप्रसाद अधिकारीले बताए ।

बाँकी रकम चाँडोभन्दा चाँडो सङ्कलन गरिने प्रतिबद्धतासमेत उनले जनाए ।
फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले सोचेअनुसार सहयोग नउठेको गुनासो गरे । उनले भने, ‘१० करोडभन्दा बढी उधारो तिर्न बाँकी रहेको छ ।

बोलकबोल रकम दिन दायित्वबोध गरेकोजस्तो लागेको छैन ।’
‘व्यवसायीहरु सामान दिन हिच्किचाउन थालेका छन्, अहिलेलाई हाम्रो ठूलो आशा भरोसा भनेकै त्यही महायज्ञका बेला बोलेको रकम नै हो,’ अध्यक्ष कट्टेलले भने ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख