२६ भाद्र २०७८, शनिबार

कोरोना संक्रमितको उपचारका लागि एचडीयू थप्ने

बुटवल–असोजको पहिलो हप्ता बसेको लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बुटवलको लुम्बिनी प्रदेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल र दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीहरुको लागि हाइ डिपेन्डेन्सी युनिट एचडीयु सेवा विस्तार गर्ने निर्णय गरेको थियो।

 त्यसको झण्डै एक महिनापछि कात्तिकको पहिलो हप्तामा बसेको केन्द्रकै अर्को बैठकले पनि एचडियु सेवा सम्बन्धी एक कदम अघि बढेर निर्णय गरेको थियो। ‘सबै कोभिड विशेष अस्पतालमा एचडियु क्षमता विस्तार गर्ने।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखाना कोभिड विशेष अस्पतालमा अघिल्लो निर्णयानुसार तत्काल आइसियु र एचडीयु सेवा विस्तार गर्ने’–बैठकका निर्णयमा भनिएको छ–‘सबै जिल्ला अस्पतालहरुमा अन्य सेवा प्रभावित नहुनेगरि र मौजुदा दरबन्दी र जनशक्तिबाट संचालन गर्ने गरि ५ बेड सम्म क्षमताको एचडियु सेवा सञ्चालन गर्ने।’ तर प्रदेश सरकारले तत्काल विस्तार गर्ने भनिएको भएपनि बुटवलको कोरोना विशेष अस्पतालमा अझै एचडियु सेवा थपिएको छैन।

आइसियु भन्दा कम र जनरल आइसोलेसन बेड भन्दा बढी सुविधा भएको एचडियु सेवा भएमा उपचारमा सहजता हुने थियो।

यसबाट मृत्युदर पनि कम हुन सक्थ्यो। बुटवलको कोरोना विशेष अस्पतालमा १६ बेडको आइसियु सेवा छ। आइसियुका बेड प्रायः भरिभराउ हुन्छ। बेडको अभावमा अन्तिम अवस्थामा आइसियुमा ल्याइएका धेरैले ज्यान गुमाएका छन्। कतिपयको आइसियुमा बेड नै नपाएर मृत्यु भएको छ। 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख