१४ मंसिर २०७७, आइतबार

वायु प्रदूषणले कोरोना सङ्क्रमणमा असर

काठमाडौँ । वातावरण संरक्षणसँग सम्बन्धित विज्ञहरुले वायु प्रदुषण बढी भएको स्थानमा बस्ने मानिसमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण हुने र कोरोनाका कारण मृत्यु हुने सम्भावना बढी हुने अध्ययनले देखाएको बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य सङ्गठन नेपाल, नगरपालिका सङ्घ र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा आज भएको कार्यक्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमध्ये करिब १५ प्रतिशत वायु प्रदूषणकै कारण हुने गरिएको जानकारी दिइयो । मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा जागेश्वर गौतमले वायु प्रदूषण विश्वकै समस्या भएको उल्लेख गर्दै नेपालमा आवश्यक मापदण्ड भन्दा पाँच गुणा बढी वायु प्रदूषण रहेको बताउनुभयो ।

साथै उहाँले फोक्सो र मुटु रोग तथा मस्तिष्कघातको प्रमुख कारक मध्ये वायु प्रदूषण पनि एक भएको उल्लेख गर्दै सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार व्यक्तिको मृत्यु भएको तग्थ्याङ्क पेश गर्नुभयो । विश्व स्वास्थ्य सङ्गठन नेपालका जनस्वास्थ्य प्रशासक डा खुर्सिद आलम हाइडरले वायु प्रदूषणले कोभिड–१९ को सङ्क्रमण र मृत्युदर दुवै बढाउने उल्लेख गर्दै सङ्गठन वायु प्रदूषण नियन्त्रणका लागि नगरपालिकाहरुलाई प्राविधिक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गर्दै काठमाडौँ उपत्यकाका लागि ‘सहरी स्वास्थ्य कार्यक्रम’ विगत दुई वर्षदेखि कार्यान्वयन गर्दै आइरहेको छ । नेपाल नगपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यन्जुले काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि सम्बन्धित नगरपालिकाले एकिकृत र समन्वयत्मक रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय सरकारले पूर्वाधार विकास निर्माणसँगै स्वच्छ वातावरण निर्माणमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

वातावरणविद् सञ्जयनाथ खनालले कोरोना सङ्क्रमितमध्ये करिब १५ प्रतिशत मृत्यु वायु प्रदूषणका कारण हुने गरेको तथ्याङ्क पेश गर्दै वायु प्रदूषण नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन तथा यातायातमा सुधार, सडक धुलो नियन्त्रण, उद्योगमा सुधार र फोहर जलाउने कार्य बन्दलगायत कार्य गर्नुपर्ने सुझाव दिनुभयो ।

वातावरण विभागका उपमहानिर्देशक इन्दु जोशीले मन्त्रिपरिषद्बाट गत फगुन १२ गते स्वीकृत ‘काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ र सो कार्यान्वयन बारेमा जानकारी गराउनुभएको थियो । काठमाडौँ उपत्यकामा वायु प्रदूषण एक प्रमुख समस्या हो । हरेक वर्ष जाडो महिनामा वायु प्रदूषण सबैभन्दा बढी हुने भएकाले आउने दुई÷तीन महिनामा काठमाडौँको वायु प्रदूषण ह्वात्तै बढ्ने बताइएको छ ।

काठमाडौँमा वायु प्रदूषण हुनुका प्रमुख कारणमा सवारी साधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्किने धुलोका कण, उद्योगधन्दा तथा इटाभट्टाबाट हुने उत्सर्जन, जथाभावी फोहर फाल्ने तथा बाल्नेलगायत हुन भने उपत्यकाका ग्रामीण भेगमा खाना पकाउनका लागि बालिने दाउराका कारण घरभित्र पनि वायु प्रदूषण पनि एक समस्याको रुपमा देखा परेको छ ।

नेपालमा मानिसको मृत्यु हुने प्रमुख तीन कारण मुटुसम्बन्धी रोग, फोक्सोसम्बन्धी रोग र मस्तिष्कघात हुन् । यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि छ । स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भुषण तुलाधरले संयोजन गर्नुभएको काठमाडौँ उपत्यकाको वायु प्रदूषण व्यवस्थापनका विषयमा उपत्यकाका स्थानीय सरकारका प्रतिनिधिसँग गोष्ठी’ विषयक भर्चुअल कार्यक्रममा उपत्यकाका नगरपालिकाका नगरप्रमुख र उपप्रमुखलगायत वातावरण क्षेत्रका जानकारहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख