कृत्रिम फूलको माग बढ्दै

तिहारको चहलपहल शुरु भएसँगै सुदूरपश्चिम प्रदेशका शहरी क्षेत्रमा प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूल मालाको माग बढ्न थालेको छ । तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको हो ।
कृत्रिम माला तिहारमा मात्र नभएर अन्य कार्यक्रमका लागि पनि पटक पटक प्रयोग गर्न सकिने भएकोले पनि यसको माग बढेको व्यापारीहरुको भनाइ छ ।
मालाको माग बढेसँगै यतिबेला प्रदेशको अस्थायी राजधानी धनगढी,अत्तरिया लगायतका शहरी क्षेत्रका बजार बनावटी फूलमालाले रङ्गिन बनेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच तिहारका लागि आवश्यक पर्ने फूल लगायतका समग्री खरिद गर्न यतिबेला बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ ।
भाइ टीकाको दिन दिदी बहिनीले दाजु भाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा नेपाली समाजमा छ । मखमली र सयपत्री फूलको माला कृत्रिम भन्दा महङ्गो पर्ने भएपछि बनावटी माला लगाउनु पर्ने अवस्था देखिएको स्थानीय महेश्वरी जोशीले बताउनु भयो ।