३ भाद्र २०७९, शुक्रबार

प्रधानमन्त्रीले नेपाल सम्बत् नयाँ बर्षकाे उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश

नेपाल सम्बत् ११४१ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाउनु भएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ । नेपाल सम्बत् ११४१ को यस सुखद् अवसरमा काठमाडौं उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाःको विशेष स्मरण गर्न चाहन्छु ।

बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको छ । यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित छन् । एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात गरेका छौं । हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं ।

यतिबेला हामी जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका छौं । सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ । यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु ।

यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्बत् लगायत पर्व मनाउन म विशेष आह्वान गर्दछु ।

अन्त्यमा, नेपाल सम्बत् ११४१ का अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु । Surya Thapa Facebook

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख