२० मंसिर २०७७, शनिबार

बेसहारा दिदीबहिनीले पाए घर

चितवन । पूर्वी चितवनका समाजसेवीको अगुवाइमा दशैँका बेला बेसहारा अवस्थामा रहेका दिदीबहिनीले नयाँ घर पाएका छन् । कालिका नगरपालिका–५ का ती दिदीबहिनीका लागि आर्थिक सहयोग सङ्कलन गरी घर निर्माण गरिएको हो ।

वर्षात्को समयमा लाठीले बोरा अडाएर त्यहीँभित्र जीवन गुजारिरहेका उनीहरुलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाइदिनुभएको हो । निषेधाज्ञाको समयमा दुःख परेकालाई सहयोग गर्न सङ्गठित भएको अगुवाको समूहले सहयोग जुटाएर घर निर्माण गरेको हो । खैरहनी नगरपालिका वडा नं ८ का मुरलीप्रसाद गजुरेल, प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेखबहादुर पुनले एक महिना लगाएर घर निर्माण गरिदिनुभएको हो ।

गजुरेलले भन्नुभयो, “त्यहाँ ६२ वर्षकी मुसरी महतो र ४८ वर्षीया बहिनी फोहोरी महतोको अवस्था बिजोग देखेर हामीले सहयोग जुटाएर घर बनाएका हौँ ।” स्थानीय पत्रकार सन्तकुमार चौधरीले उनीहरुको अवस्थाका बारेमा समाचार लेखेपछि गजुरेलसहितको अगुवाले शुरुमा उनीहरुलाई छ महिना खानाको व्यवस्था गरेको बताउनुभयो ।

गजुरेलका अनुसार लाठीले बोरा अडाएर मुसल्धारे वर्षात्मा बसेको देखेर अगुवाहरुले शुरुमा त्रिपाल, म्याट र टर्च लाइट सहयोग गरेको थियो । उनीहरुकै दुई बहिनीको थोरै जग्गाको छेउमा गजुरेलको समूहले घर बनाइदिएको हो । घर बनाउन रु तीन लाख खर्च भएको उहाँको भनाइ छ । घर निर्माणका लागि स्वदेश र विदेशबाट दाताले रु तीन लाख ४६ हजार पठाएका छन् ।

१४ फिट चौडाइ र २० फिट लम्बाइको टिनले छाएको चिटिक्कको घरमा दिदीबहिनी बस्न शुरु गरेका छन् । दाताको नाम लेखेर औपचारिकरूपमा हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । ती दिदीबहिनीका लागि दाताकै सहयोगमा लत्ताकपडा र भाँडावर्तनको व्यवस्था पनि गरिएको छ । पत्रकार चौधरीले आफ्नो क्षेत्रमा समाजिक अगुवाहरुले नमूना काम गरेको बताउनुभयो ।

मानवीय सेवामा यो उदाहरणीय काम भएको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सहसचिवसमेत रहनुभएका चौधरीले बताउनुभयो । ती दिदीबहिनीमध्ये जेठीको माडीमा र बहिनीको भण्डारामा विवाह भएको भए पनि श्रीमान्ले छाडेपछि स्थानीयवासीको गाईभँैसी चराउने काम गर्दै आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख