४ भाद्र २०७९, शनिबार

विवाद सिर्जना भएपछि यस वर्षको पद्मश्री सम्मान तथा पुरस्कार वितरण नहुने

काठमाण्डौँ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेकोमा विवाद सिर्जना भएपछि यस वर्ष पद्मश्री सम्मान तथा पुरस्कार कसैलाई पनि नदिइने भएको छ ।

पद्मश्री साहित्य पुरस्कारका लागि छनोट भएका उप्रेतीले प्रश्रितसँग उभिएर आफूले पुरस्कार नलिने घोषणा गरेका थिए । यौन हिंसाको आरोप लागेका प्रश्रितसँग उभिएर एउटै मञ्चबाट पुरस्कार लिन आफूले नसक्ने उप्रेतीको भनाइपछि विवाद सिर्जना भएको थियो ।

त्यसपछि प्रश्रितले पनि विज्ञप्ति जारी गर्दै पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका थिए ।खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पद्मश्री पुरस्कार यस वर्ष कसैलाई पनि नदिइने निर्णय लिइएको बताए ।

पुरस्कार घोषणा गर्दा कसैको भावनामा ठेस पुर्याउने उद्देश्य नभएको बताउँदै लामिछानेले स्रष्टाहरुको आत्मसम्मानमा ठेस लागेकोप्रति क्षमायाचना गरेका छन् ।

वि.सं. २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख