२२ श्रावण २०७९, आइतबार

बानियाँले मदन पुरस्कार पाएपछि म्याग्दीमा खुशियाली

गलेश्वर । म्याग्दीमा जन्मेर हाल पोखरा बसोबास गर्दै आउनुभएका साहित्यकार चन्द्रप्रकाश बानियाँलाई महारानी उपन्यासका लागि मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरकार प्रदान गर्ने निर्णय गरेपछि म्याग्दीमा खुशियाली छाएको छ ।    
    
गुठीको आइतबार बसेको बैठकले पुरस्कारका लागि अन्तिम सूचीमा परेका कृतिमध्ये ‘महारानी’ उपन्यासका लेखक बानियाँलाई उक्त पुरस्कार दिने निर्णय गरेसँगै बानियाँको गृहजिल्ला म्याग्दीमा खुशियाली छाएको हो । नेपालको एक प्रतिष्ठित पुरस्कार मानिएको मदन पुरस्कार पाउने बानियाँ साविकको धौलागिरि अञ्चलकै पहिलो व्यक्ति हुनुहुन्छ ।    
    
साहित्यकार बानियाँको पृष्ठभूमि    
    
साहित्यकार बानियाँको जन्म म्याग्दी जिल्लाको साविक पुलाचौर ९, हाल बेनी नगरपालिका वार्ड नं ५ भिरमुनीमा २००७ साल चैत २५ गते भएको हो ।    
    
उहाँ बुबा हस्तदल बानियाँ र आमा नन्दकुमारी बानियाँका कान्छा सुपुत्र हुनुहुन्छ । उहाँले विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङबाट एसएलसी र सरस्वती क्याम्पस, ठमेल, काठमाडौँबाट स्नातक गर्नुभएको छ ।    
    
उहाँले विसं २०२४ मा बालबोधिनी प्रावि भिरमुनिबाट शिक्षण कार्य शुरु गरी पौलस्त्य निमावि भिरमुनि, मुक्तिधाम मावि राखु भगवती र मङ्गला मावि बाबियाचौरमा अध्यापन गराउनुभएको थियो ।    
    
अध्यापनकै सिलसिलामा शिक्षक आन्दोलनमा सशक्त भूमिका खेल्दै पञ्चायती व्यवस्थाको विरोधमा लागेको आरोपमा २०३६ सालमा शिक्षक पदबाट उहाँलाई बर्खास्त गरियो र सार्वजनिक अपराधको मुद्दा लगाइएको म्याग्दीका साहित्यकार तथा नाताले चन्द्रप्रकाश बानियाँका भाइ कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो ।    
    
त्यस समयको प्रशासनले माफी मागेर पञ्चायती व्यवस्थाको पक्षमा मत जाहेर गरेमा मुद्दा खारेज गरी शिक्षकमा पुनर्बहाली गरिदिने प्रलोभन देखाएको भए पनि बानियाँले स्वीकार नगर्नुभएको जानकारी कृष्णबहादुर बानियाँले दिनुभयो । फलस्वरुप उहाँलाई लगातार १० वर्ष तारेख थमाइएको थियो ।    
    
उहाँले निजामती सेवातर्फ प्रवेश गर्ने चाहना राख्नुभयो र विसं २०३४ र २०३५ मा दुई पटकसम्म लोकसेवा आयोगको लिखित परीक्षा पास गर्नुभयो । योग्यताक्रममा दुई र पाँच नम्बरमा नाम निकाल्न सफल भएका उहाँलाई पञ्चायत व्यवस्था विरोधी रहेको भन्दै अन्तर्वार्तामा अनुत्तीर्ण गराइयो ।    
    
उहाँले २०४० सालतिर तत्कालीन भूमिगत पार्टी नेकपा मालेको सम्पर्कमा रहेर २०४४ सालदेखि सङ्गठित सदस्यको रुपमा काम गर्नुभयो । उहाँ शुरुमा ‘प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च’ र त्यसपछि ‘क्रान्तिकारी बुद्धिजीवी सङ्घ’को अध्यक्ष हुनुभयो ।    
    
माक्र्स्वादी सिद्धान्तका ज्ञाता उहाँले बुर्जुवा शिक्षा बहिष्कारको नीतिको प्रभावले होला स्नातकोत्तर गर्न भने चाहनुभएन । विसं २०४६÷४७ को जनआन्दोलनको पक्षमा उहाँ सक्रिय रुपमा सहभागी हुनुभयो । त्यसपछि नेपालमा विसं २०४८ मा सम्पन्न संसदीय निर्वाचनमा उहाँ म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भई विजयी पनि हुनुभयो । उहाँ संसदमा ‘कवि सांसद’ को नामले पनि परिचित हुनुभएको थियो ।

आफ्नो कमजोर स्वास्थ्य अवस्थाका साथै राजनीतिमा आफुलाई उपयुक्त पात्र नठानेको बताउने उहाँ सङ्गठित राजनीतिबाट अलग हुनुभएको हो । तर विसं २०५९ भदौ ५ मा तत्कालीन नेकपा माओवादीमा लागेको आरोपमा प्रशासनले गिरफ्तार गरी पटक पटक नजरबन्दमा राख्यो । सर्वोच्च अदालतको आदेशबाट जेलमुक्त भएपछि ज्यानको सुरक्षामा खतरा देखिएको भन्दै उहाँ २०६१ सालदेखि सपरिवार काठमाडौँमा डेरा गरी बस्न थाल्नुभयो ।    
    
उहाँको परिवारमा धर्मपत्नी मित्रकुमारी, छोरा प्रविन र छोरी प्रमिला हुनुहुन्छ । उहाँहरु १० वर्षको काठमाडौँ बसाइपछि पोखरामा कार्यरत छोरा डा.प्रविन बानियाँको अनुरोधमा विसं २०७१ देखि पोखरामा बस्न थाल्नुभएको छ । चन्द्रकान्तको लेखनशैली पहिलेदेखि नै मिठो र स्तरीय हुने गरेको म्याग्दीका साहित्यकार बताउँछन् । तथापि उहाँले गहिरो अध्ययन अनुसन्धान र लेखन भने पोखराको बसाइपछि मात्र गर्न थालेको अर्का साहित्यकार कृष्ण बानियाँले जानकारी दिनुभयो ।    
    
उहाँको ऐतिहासिक पर्वत राज्य, मृत्यु संस्कारःमन्थन नामक पुस्तक २०७५ सालमा प्रकाशित भयो । यसलगत्तै विसं २०७६ मा महारानी ऐतिहासिक उपन्यास प्रकाशित भयो । यी दुवै कृति ‘शिखा बुक्स काठमाडौँ’ ले प्रकाशन गरेको हो । सोही प्रकाशनबाट निकट भविष्यमा ‘भाँैंज्याहा’ नामक निबन्ध सङ्ग्रह प्रकाशित हुन लागेको बानियाँले जानकारी दिनुभयो ।    
    
‘महारानी’ उपन्यासका लागि विसं २०७६ को मदन पुरस्कार पाएका चन्द्रप्रकाश बानियाँले आफूले यो पुरस्कारको कल्पना नै नगरेको बताउनुभएको छ । आफूलाई साहित्यकार समेत भन्न नरूचाउने बानियाँले आफ्नो उपन्यास पुरस्कृत भएको खबरले निकै खुशी भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “म साहित्यकार पनि होइन, मेरो उपन्यासले मदन पुरस्कार पाउँला भनेर कल्पनासम्म पनि मैले गरेको थिइन, ७० वर्षीय लेखक बानियाँले भन्नुभयो ।”    
    
के छ महारानी उपन्यासमा    
    
तत्कालीन पर्वत राज्यको साङ्गोपाङ्गो वर्णनको दस्ताबेज हो महारानी उपन्यास । महाारानी उपन्यासमा तत्कालीन चौबिसे राज्यअन्तर्गत पर्वत राज्यको कथा समेटिएको छ । तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनीमा थियो । त्यतिबेलै बेनीमा एउटा देवीको मन्दिर बनाइएको किंवदन्ती छ । ती देवीलाई अहिले पनि महारानी भनेर पूजा गर्ने चलन रहेको छ ।    
    
पर्वत राज्यको इतिहास, यहाँका अनेकन किम्वदन्ती, त्यतिबेलाको संस्कृति, भाषा, कला र बेनीमा रहेको महारानी देवीको मन्दिरलगायतका विषयवस्तुहरु यस उपन्यासमा उठान गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख