४ भाद्र २०७९, शनिबार

के तपाईंले यो जीवनलाई स्वीकार गर्नुभयो ?

यो संसारमा मानिसको जन्म हुन्छ अनि एकदिन उसले यो संसारबाट बिदा लिनुपर्छ । चाहे जोसुकै जति धेरै ज्ञानी या अज्ञानी भए पनि सबैलाई यो कुरा थाहा छ । धनीले पनि जानुपर्छ । गरिबले पनि जानैपर्छ । शिक्षितले पनि जानैपर्छ अनि अनपढ भए पनि जानैपर्ने हुन्छ । यो कुरालाई कसैले पनि बदल्न सक्दैन ।जब यो संसारबाट सबैले जानु नै छ भने मानिसका लागि कुनचाहिँ चीज बाँकी रह्यो ! एउटा कुरा छ जसलाई ‘जिन्दगी’ भनिन्छ ।

यो ‘जिन्दगी’ भनेको के हो ? एकतर्फ जन्म छ अनि अर्कोतर्फ छ– मरण । यी दुईको बिचमा जुन समय छ, त्यो नै हो ‘जिन्दगी’ । यो जीवनमा मानिसका लागि सबैभन्दा महत्वपूर्ण चीज के हो ? जीवनमा कति घटनाहरू घटिरहन्छन् । तर, सबैभन्दा ठूलो कुरा के हो भने यो श्वास निरन्तर चलिरहेको छ । जबसम्म यो श्वास चलिरहन्छ तबसम्म मानिस जीवित हुन्छ । श्वास रोकिएपछि मानिसका लागि सबै कुरा समाप्त हुन्छ । मानिसहरू विविधतालाई हेर्छन् तर यो संसारमा हरेक मानिसको जन्म एक समान तरिकाबाट नै हुन्छ ।

सबै जना एउटै बाटो भएर यो संसारमा आउँछन् अनि एकै बाटो भएर यो संसारबाट बिदा हुन्छन् ।जबसम्म तपाईं जीवित हुनुहुन्छ, जबसम्म यो श्वास चलिरहन्छ तबसम्म सृष्टिकर्ताको कृपा तपाईंमाथि रहिरहन्छ । तपाईंलाई यो जीवन प्राप्त भएको छ । बाँच्ने अवसर प्राप्त भएको छ । जबसम्म जीवन छ, तपाईं धेरै कार्य गर्न सक्नुहुन्छ । केवल यो सम्भावनालाई स्वीकार गर्नुहोस् । यस जीवनलाई स्वीकार गर्नुहोस् । आफूले आफूलाई चिन्नुहोस्, पहिचान गर्नुहोस् । आफूभित्र विराजमान त्यो शक्तिलाई चिन्नुहोस् । तपाईंको हरेक श्वाससँगै तपाईंका लागि उनको कृपाको वर्षात् भइरहेको छ ।

तपाईं स्वयम्लाई चिनेपछि बाँकी सबै सम्भावनालाई पनि स्वीकार गर्न थाल्नुहुनेछ । जुन दिन तपाईं स्वयम्लाई बदल्नुहुनेछ त्यस दिन बाँकी अरू कुरा पनि बदलिनेछन् । तपाईंको जीवन बदलिनेछ । यदि तपाईं आफ्नो जीवनमा शान्तिलाई अपनाउनुहुन्छ भने यो जीवन त हराभरा हुनेछ । केवल यो सम्भावनालाई स्वीकार गर्नुपर्छ– “मलाई यो जीवन प्राप्त भएको छ ।” म आफ्नो जीवनमा त्यो आनन्दलाई प्राप्त गर्न चाहन्छु । त्यो सुखलाई प्राप्त गर्न चाहन्छु जुन सदैव उपलब्ध भइरहन्छ ।एउटा कथा छ– धेरै समय पहिलाको कुरा हो ।

एक पटक भगवान् बुद्ध आफ्ना एक जना शिष्यसँग कतै गइरहेका थिए । त्यस सहरका मानिसहरूले भगवान् बुद्ध र उनका शिष्यलाई देखेपछि सबैले उनीहरूलाई तथानाम गाली गर्न थाले– “तपाईं खराब हुनुहुन्छ । तपाईं यो गर्नुहुन्न, त्यो गर्नुहुन्न ।” भगवान् बुद्धका शिष्यले उनलाई सोधे, “यत्तिका धेरै मानिसहरूले हजुरका बारेमा गलत कुरा गरिरहेका छन् । भनिरहेका छन् । के यी कुराहरू सुनेर तपाईंलाई रिस उठ्दैन ।” त्यसपछि उनले एउटा कचौरा लिएर शिष्यतर्फ सारिदिए । अनि, भने– “यो कसको हो ?” उनका शिष्यले भने, “यो हजुरको हो ।”

फेरि उनले अलिकति अभैm सारेर सोधे, “यो अब कसको हो ?” शिष्यले भने, “यो अहिले पनि हजुरकै हो ।” उनले यस्तै गरिरहे अनि सोध्दै गए, “यो कसको हो । यो कसको हो !” शिष्यले भनिरहे, “यो हजुरको हो । यो हजुरको हो ।” अब भने उनले त्यो कचौरालाई ती शिष्यको काखैमा राखिदिए । अनि, भने– “अबचाहिँ यो कसको हो ?” शिष्यले भने, “यो अहिले पनि हजुरकै हो ।” भगवान् बुद्धले भने, “एकदम सही कुरा हो ।”

त्यसैले जबसम्म म खराबीलाई अपनाउँदिन तबसम्म यो मेरो हुँदैन । यो पनि त्यस्तै कुरा हो– यदि हामीले सृष्टिकर्ताले उपहारका रूपमा दिएका यो जुन जीवन छ, यस उपहारलाई अपनाउँदैनौँ भने यो आफ्नो हुँदैन । यो उपहार त्यतिखेर मात्रै तपाईंको हुन्छ जब तपाईंले यसलाई स्वीकार गर्नुहुन्छ । हामी यो संसारमा आएका छौँ । एकदिन हामीले यहाँबाट बिदा लिनुपर्छ । हामी सोच्ने पनि गछौँ, “मैले अहिलेसम्म के गरेँ !” तथापि, अहिले पनि समय छ, तपाईं जीवित हुनुहुन्छ अनि तपाईं सबैथोक गर्न सक्नुहुन्छ । यो जीवन तपाईंको आफ्नो हो ।

यसमा हरेक किसिमका सम्भावनाहरू उपलब्ध छन् । सम्भावना छ– शान्तिको । सम्भावना छ, आपैmँलाई चिन्ने । यो जीवनलाई सफल तुल्याउने सम्भावना छ । यो सृष्टिका रचयितालाई चिन्ने अवसर छ । जो हरेक श्वासका साथमा तपाईंको हृदयभित्र विराजमान छन् । तपाईं जीवित रहुन्जेलसम्म यो सम्भावना रहिरहन्छ । अतः जुनसुकै समयमा पनि तपाईं यो जीवनलाई, यो उपहारलाई स्वीकार गर्नका लागि सोच्नुहुन्छ यो त्यही समयमा तपाईंको बन्न पुग्छ । त्यसकारण धेरै ढिलो भएको छैन । केवल के मात्र हो भने– जुन दिन तपाईं स्वीकार गर्नुहुन्छ यो उपहार तपाईंकै हुन्छ । यसर्थ यो उपहारलाई स्वीकार गर्नुहोस् अनि यस जीवनलाई आनन्दले भरिपूर्ण तुल्याउनुहोस् ।

प्रत्येक मानिसले आफ्नो जीवनमा सुख चाहन्छ । सुख त हुनु पनि पर्छ किनभने मानिसले सुखी भएर आफ्नो जीवनलाई बिताउन पाउनु, यो उसको अधिकार नै हो । त्यो सुखलाई प्राप्त गर्नका लागि मानिस आफ्नो परिवार र आफ्नो जीवनमा सुख शान्ति कसरी ल्याउन सकिन्छ भनेर रातदिन मिहिनेत गरिरहन्छ । त्यसका लागि उसले प्रत्येक क्षण प्रयत्न गरिरहेको हुन्छ । तर, हरेक मानिसले जुन वास्तविक सुखको कामना गरिरहेको छ, त्यसका लागि जुन प्रयास गरिरहेको छ, त्यो कत्तिको ठीक छ त ? हाम्रो जीवनमा जो–जोसँग हाम्रो सम्बन्ध छः बच्चा, आमा, बुवा या अन्य नातेदारहरू, ती सबैका लागि दस सेकेन्डका लागि मात्र नै किन नहोस् एउटा सानो स्वर्ग बनाऊँ भनेर सोच्नुपर्दछ ।

बच्चाका लागि स्वर्ग के हुन्छ ? हामी उनीहरूसँग केही समय भए पनि सँगै बसौँ र उनीहरूको पढाइ तथा अन्य कामहरूमा सहयोग गरौँ । हामी आफ्ना आमाबुवाहरूसँग रहेर केही कुरा गरेर थोरै समय भए पनि बिताउने गरौँ । पति–पत्नीहरूले एकअर्कालाई सम्मान गरून् । हामीले यसो गर्न थाल्यौँ भने हाम्रो परिवारमा सधैँका लागि सुख शान्ति हुन सक्छ । तर, हामीहरूले यस्ता कुरालाई भुलेर एक आपसमा बहस गर्न अघि सर्छौँ । हामी उनीहरूकै कुरालाई वास्ता गरिरहन्छौँ जसले हामीलाई केही वास्ता गरिरहेकै हुँदैनन् ।

हामीले कमसेकम आफ्ना छेउछाउका छरछिमेकी, आफ्ना परिवारका सदस्यहरूसँग प्रेम र सद्भावको वातावरण सृजना गर्दै प्रेम र सद्भावको वातावरण सृजना गर्दै एक अर्काप्रति सद्व्यवहार गरेर सानो स्वर्ग बनाउने कोसिस गर्न सक्छौँ । यदि प्रत्येक मानिसले यो संसारमा यसो गर्न थाल्ने हो भने त एउटा ठूलो परिवर्तन हुनसक्छ । यसरी संसारभरि नै शान्ति सम्भव हुन सक्छ । यद्यपि मानिसहरूले यो कुरालाई असम्भव छ भनेर सोचिरहेका छन् ।

यदि चन्द्रमासम्म पुगेको कुरालाई हेर्ने हो भने जसले त्यहाँ जान सम्भव छ भनेर भने उनीहरूकै कारणले त्यो सम्भव भयो । हामी पनि आफ्नो जीवनमा सानो स्वर्ग बनाउने कार्यका लागि प्रयास गर्न सक्छौँ, जसबाट सबैको जीवनमा सुख–शान्ति सम्भव हुन सकोस् ।

(यो लेख प्रेम रावतको सन्देशबाट साभार गरी अनुवाद गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि [email protected] लाई प्रयोग गर्न सक्नुहुनेछ ।) ( चितवन पोस्टबाट)

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख