७ आश्विन २०७७, बुधबार

सोबिताका तीन कविता

१. दोष
तिमिले स्वतन्त्रता लेखेर आयथ्यौ
म स्वतन्त्र भैगए
समानता हुनुपर्छ भन्यौ
मेरो भागमा दुई टुक्रा रोटि थप्दियौ
समान भैगयो
सेता पानाभरी मेरो वकालतका मिठा शब्दमा
म झुमिगए
जस्तो देख्न चाह्यौ
उस्तै मुखौटा लगाइदियौ।

बाड्यौ
बाडिएँ ।

फाल्यौ
फालिए ।

छोड्यौ छोडिएँ पनि
तिम्ले त मलाई सबैथोक दियौ ।

कमि त ममा छ-
दोष त ममा छ –
म ‘महशुस’ गर्न सक्छु
म ‘सोच्न’सक्छु!

२. खाल्डोप्रेम
बगेको पानीझैँ
गुरुत्वाभिमुख भएर
सपनाका क्यानभास खोज्दै गर्दा
खसेछु अध्यारो संसारमा ।
आजकल
अँध्यारो नै दुनियाँ
अँध्यारोमै सन्तुष्टि
अध्यारै आफ्नो ।

ए प्रकाश !
ए वायु !
अब बाहिरबाट नपठाउ सम्झनाहरु
नखसाल यादका टुक्राहरु
नआइदेउ मेरो सानो आकाशमा
मलाई यहि अध्यारो खाल्डोसङ्ग प्रेम भएको छ।

३. विश्वरुप
ब्रह्ममुहुर्तमा
पद्मासन कसेर
साधनामा खोजिरहेका थिए
नेत्रले ठाकुरद्वारा भृकुटीमण्डपमा
नेपथ्यमा सुनियो – घुक्क घुक्क
झ्वाट्ट खुलें आँखा
मस्तिष्क चेतनावृत्ती –
रातभर भोकले अताल्लिएर
बेहोस हुन लागेकी बालिकामा
अडियो दृष्टि

राखेर प्रेमको आँचलमा
ढाकिदिएँ रामनामी च्यादरले शरीर
भिजाएको चना भरिदिए अंजुलीभरी।

फूल्यो सुकोमल अनुहारमा मृदुल
मुस्कानको दिव्यपुश्प !

मुस्कुराएँ ।
नमन गरेँ।
लाग्यो-
विश्वरुपको दिव्यदर्शन मिल्यो

सोबिता लामिछाने

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख