४ भाद्र २०७९, शनिबार

मानसिक स्वास्थ्यकाे लागि प्रेम आवश्यक हुन्छ :- माेडल दाहाल

माघ २६ गते पिता डिल्लीप्रसाद दाहाल र माता गिता दाहालकाे काेखबाट काभ्रेपलान्चोक जिल्ला नालामा जन्मिएका माेडल सिराेज दाहालसंगकाे कुराकानी:-

*दिन कसरी बित्दै छ ?
कलाकारिता क्षेत्रमै आफुलाई व्यस्त राख्ने कामहरूका साथै आफ्नो अफिसको कामहरूमा
दिनहरू बित्दै छन् ।
* कलाकारिता क्षेत्र रोज्नुको कारण ?
सानैदेखिको आफ्नो रहर पूरा गर्दै आत्मसन्तुष्टि प्राप्तिका लागि मैले कलाकारिता क्षेत्र रोजेको हुँ ।
*यो क्षेत्रमा प्रवेश गर्दा केके चुनौतिहरू झेल्नु भयो ?
कलाकारिता क्षेत्र संघर्ष गर्दै आफुलाई क्रमशः स्थापित गर्दै जानुपर्ने क्षेत्र भएकाले छोटो समयमै प्रतिफल खोज्ने हाम्रो समाजले राम्रो नमान्ने रहेछ । घर, परिवार र समाजको दृष्टिकोणमा परिवर्तन ल्याउन खोज्दा केही चुनौतिहरू सामना गर्न पर्यो । त्यस्तो चुनौतिले मलाई अझ दृढ बनाएको छ ।

*कसले प्रेरणा दिनुभयो यो क्षेत्रमा लाग्न ?
यो क्षेत्रमा लाग्न मैले घर, परिवार, आफन्त र साथीभाइबाट नै पाएको हुँ ।

*कमाई कत्तिको हुन्छ ?
कमाई ठिकै, चित्तबुझ्दो नै छ । अाफ्ना सानातिना अावस्यकता सहज रूपमा पूरा भएकमे छ ।

*कति वर्ष भयो यो क्षेत्रमा आउनुभएको ?
यस क्षेत्रमा लागेको ३ वर्ष जति भयो । याे समयसम्म अाउदा धेरै चुनाैतिका साथ अाईयाे ,अझ धेरै खार्ने प्रयासमा छु।

*अहिलेसम्म कतिवटामा काम गर्नुभयो ?
अहिलेसम्ममा विभिन्न म्यूजिक भिडियो, सर्ट मुभी, मोडलिङ, साना चलचित्रमा काम गरेँ । अब चाँडै नै मुभी पनि आउँदै छु।

*भावी योजना के छ ?
आफु अझ सक्षम भई ठूलो पर्दाका राम्रा चलचित्रमा अभिनय गर्ने योजना छ ।

*देश विदेशको यात्रा कत्तिको गर्नुभएको छ ?
पहिला देश अनि विदेश । नेपालका धेरै सुन्दर ठाउँहरू आन्तरिक पर्यटकका रूपमा पुगेको छु । मलाई मनपर्ने ठाउँ पोखरा हो ।

*प्रेममा पर्नुभएको छ कि नाईँ ?
हाम्रो पुस्ता राजनैतिक सङ्क्रमणकालका बीचमा मात्र होइन सुचना, प्रविधि र सामाजिक सञ्जालका कारण प्रेमको सङ्क्रमणकालबाट पनि गुज्रिरहेको छ । प्रेम जस्तो–जस्तो हुनु तर प्रेम नहुनु अहिलेको साइबर प्रेमको लक्षण हो । यो जस्तो–जस्तो हुनु तर नहुनु मैले पनि भोगेको छु ।

*माया प्रेम भनेको के हो जस्तो लाग्छ ?
शारीरिक स्वास्थ्यका लागि खाना, पानी र हावा चाहिएजस्तै मानसिक स्वास्थ्यका लागि प्रेम आवश्यक छ । आमाबुबा, आफन्त, साथीभाइ, श्रीमती, प्रेमिका, अग्रज तथा अनुज, प्रेमका अनेक रूप हुन सक्छन् । प्रेमले जीवनलाई सुन्दर बनाउँछ ।

* जिन्दगीको अविस्मरणीय क्षण ?
अहिलेसम्म जीवनका धेरै सुन्दर क्षणहरू आएका छन् तर अविस्मरणीय क्षण त आफ्नो लक्ष्यमा सफलता मिलेको दिन होला । जुन बेला मेरो कर्मले मेरा आमा–बुबाको शिर उँचो हुन पुग्ने छ । स्कुल कलेजमा कार्यक्रम हुदा कमेडि क्यारेकटरमा प्रस्तुत हुदाकाे पल पनि अविस्मरणीय छ ।

*आफ्नो नराम्रो खराब बानी ?
मेरो नराम्रो बानी भनेको छिट्टै अरूको विश्वास गर्नु हो । आफुजस्तै सोचेर मनपेट दिइहाल्ने र विश्वास गर्नाले धेरैपटक समस्यामा परेको छु ।

*फुर्सदको समय कसरी सदुपयोग गर्नुहुन्छ ?
सामान्य लेखपढका साथसाथै बजारमा आएका नयाँ फिल्महरू हेर्ने, गीत सुन्ने, पत्रपत्रिका हेर्ने इत्यादिमा नै बित्छ ।

*सामान्य मानिस र कलाकार हुनुमा के फरक पाउनु भयो ?
धेरै मात्रामा फरक हुने रहेछ सामान्य मानिस र कलाकार भइसकेपछि । सामान्य मानिसले जहाँ जतिबेला जोसँग हिँडे, बोले पनि फरक नपर्ने तर कलाकार भइसकेपछि आफ्नो स्टाण्डर्ड मेन्टेन गर्नुपर्ने रहेछ । कलाकारलाई सम्पूर्ण समाजले नियाल्ने भएकाले हामीले गर्ने एक–एक काम कुराहरू सामाजिक मूल्य र मान्यतामा खरो उत्रने हुनु पर्ने हुन्छ ।

*अन्तिममा के भन्नु हुन्छ ?
मेरा केही शब्दहरू राख्ने मौका दिनुभएकोमा मेराे अात्मिय मित्र राजेश तिमल्सिना ज्यु र गाेर्खा अावाज लाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख