१० आश्विन २०७७, शनिबार

जडिबुटी निकासी विषयमा दुई गाउँबीच झडप

सिमकोट । खार्पुनाथ गाउँपालिका – ५ दुर्पा गाउँ र खर्पेलगाउँबासीबीच वनको जडिबुटी विषयमा बुधबार र आज झडप भएको छ । दुर्पा गाउँबासीले भोगचलन गर्दै आएको मालिकादेवी सामुदायिक वन क्षेत्रका जडिबुटी सङ्कलन गरेका विषयलाई लिएर दुई गाउँका नागरिकबीच झडप भएको हो ।

दुर्पा गाउँबासीले मालिकादेवी सामुदायिक वन क्षेत्रका जडिबुटी निकासी गर्न बन्द गरेका अवस्थामा छिमेकी खर्पेलगाउँबासीले जडिबुटी सङ्कलन गर्दा झडप भएको हो । झडपबाट दुर्पा गाउँका अविर ऐडी घाइते भई जिल्ला अस्पतालमा उपचार भएको छ । अन्य सात जना सामान्य घाइते भएका छन् ।

खर्पेलगाउँका युवाबाट बुधबार कुटिएर घाइते भएका दुर्पा गाउँबासीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा पुनः आज बिहान खर्पेल गाउँका युवा समूहले खार्पुदोभानमा आफूहरुमाथि हातपात गर्न खोजेको मालिकादेवी सामुदायिक वनका अध्यक्ष मन्दिर ऐडीले जानकारी दिनुभयो ।

उहाँले बिरामी ल्याएर आउने क्रममा खार्पुदोभानमा आफूहरुलाई हातपात गर्न खोजेको जनाउँदै खार्पु प्रहरीचौकी नभएको भए आफूहरुलाई झन् समस्या निम्तिने अवस्था रहेको बताउनुभयो । झडपमा घाइते भएका बिरामी लिएर आएको समूहमाथि हातपात गर्न खोज्दा आज बिहान प्रहरीले उनीहरुलाई लखेटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

मालिकादेवी सामुदायिक वनका पदाधिकारीले केही दिन अगाडि मात्रै उक्त वन क्षेत्रको पूर्व भीमदुला, पश्चिम डाङ्गेडुङ्ग र स्याङ्गरी, उत्तरमा मोधे, पिरेउते, ठेग्ना र लाग्ना, दक्षिणमा थारेकोटभित्र जडिबुटी तथा वन पैदावार संकलन र निकासी गर्न प्रतिबन्ध लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख