१० आश्विन २०७७, शनिबार

किन चाहियो र कुलमान ?

तिम्रो दलको झण्डा बोकेको हुनुपर्छ
पाउमा दाम राखेर ढोगेको हुनुपर्छ
तिम्रै इसारामा कतै ढुङ्गा, अनि कतै
इट्टा ठोकेको हुनुपर्छ
न योग्यता चाहिन्छ, न क्षमता चाहिन्छ
तिमी हुलमुलमानको खोजी गर्दैछौ
अनि किन चाहियो कुलमान ?

कतै साला राख कतै साली राख
कतै काका अनि कतै भतिजा राख
छुट्नु हुन्न सम्धी कतै सम्धिनी राख
तिम्रा इष्ट मित्रको नाम काफी छ
अनि किन चाहियो कुलमान ?

चाकर खोज चाप्लुस खोज
कतै जि बहादुर अनि
कतै हजुर बहादुर खोज,
देशको काम त हुदैगर्ला पहिले
तिम्रालागि काम गर्ने
सीआइडी अनि जासुस खोज
तिमी नामी बन्न बदनाम काफी छ
अनि किन चाहियो कुलमान ?

गफ मनग्ये गर्ने काम फिटिक्क नगर्ने
कतै गफबहादुर राख कतै ठगबहादुर राख
निगम, संस्थान अनि प्राधिकरणहरु
धराशायी बने के फरक पर्छ र ?
तिम्रो प्राथमिकतामा: तिमीलाई उकासेर
देश डुबाउने
ढुलमुलमानहरु कति छन् कति
अनि किन चाहियो कुलमान ?

कतै हनी खोज कतै मनी खोज
नियुक्ति गर्दा थैली भर्नसक्ने धनी खोज
बिचौलियाको लस्कर त्यस्तै
चोर, चकार, भ्रष्ट अनि
तस्कर त्यस्तै, बैनामहरुको सहरमा
इमानको अवसान भएको बेला
अनि किन चाहियो कुलमान ?

हिक्मत शाहि,
डाेटी

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख