२ भाद्र २०७९, बिहीबार

बाको हातको ठेला र सपना

एकाबिहानै उठेर गोठमा पुगी गाइबस्तुका गोबर फाली दुध दुहेपछी माघको जाडोमा गोरु फुकाएर बाझो खेत जोत्न हिड्नुभो। यतिबेला बिस्ताराबाट म बालाई हेरिरहेको छु। आफू बिबिध कारणले पढाइलाई निरन्तरता दिन नसक्नुभएका मेरा बा पाँच कक्षा सम्म सधै स्कुल फस्ट हुनुभयो रे। बा लाई त्यतिबेला पढाउने गुरुबा कहिले काहीँ मेरो घर आउदा उहाँले भनेको सुनेको थिए। बा बाघ जस्तो छ , बाको नाक राखेस भनेर वृद्ध गुरुबा अर्ति दिनु हुन्छ।

आठ बजे पनि बल्ल बल्ल उठ्ने म, उठेपछी दाँत माझ्न र सौचादी गर्न नै आधा घन्टा लाग्छ। गाँउको पाँच दिनको बसाइको आज अन्तिम दिन थियो। घर छउन्जेल चियामा चिनी अड्कल्न नजान्ने म, कोठामा बसेपछी सब्बै पकाउन जान्ने भयपनि आमालाइ भान्सामा सहयोग गर्न भन्दा सुत्नै मजा लाग्यो। माइत गएकि छोरी चेली जसरी सिरक भित्रै गुटमुटिइरहेको छु।

एक एक गर्दै सम्झनाका तरंगहरु आइरहन्छन। लगभग चार वर्ष अगाडि पढ्नको लागि भनेर मलाई काठमान्डौ पठाउनु भएको मेरो बा र अहिलेको बा मा केही फरक देख्दिन। ओठमाथी जुँगाको रेखी मात्र बसेको थियो मेरो। अहिले चिउडो छोप्पिने गरि दारि पलाइसक्दा पनि आफू उस्तै र बाको जोश र जागर पनि उस्तै देख्छु। पढाइ बाहेक मैले आजसम्म बालाई कुनै खुशी दिन सकेको छैन। उहाँको लागी भनेर एक जोर कपडा आफ्नो पैसाले किनेर दिन सकेको छैन। कोल्टे फेर्छु। फेरि बाले भनेको कुरा सम्झिन्छु, धन कमायो भने भाग लगाउन पर्छ, लोभ गर्छन, खोसेर लान सक्छन, तर बिद्या यस्तो चिज हो जुन तिमिसङ्गै हुन्छ। आफ्नो मर्जी बिना कसैले न लैजान सक्छ, न चोर्न। म यो सोच्न बाध्य हुन्छु, के साच्चै बिद्या आर्जन नै धन आर्जन हो? धन भनेकै बिद्या हो या विद्या भनेको धन हो?

समयले बालाइ र म सङ्गै बुढो बनायको छ। फरक यत्ती हो म जवानीको लोभ मा बुडो हुँदै छु। बा, छोरा सहारा हुने लोभमा।

आफ्नो हातखुट्टा चलुन्जेल मैले कसैको बाले पनि छोरा यति पैसा चाहियो मलाइ जसरी पनि दिएस है भनेको सुनेको छैन। बरु ऋण नखोज है, व्यबहारमा अझै त, तलाइ भन्दा मलाइ पत्याउछन भन्ने गरेको सुनेको छु। यस्तैमा घरमा आमाले एकदिन अब त तैले पनि पढेर भ्याउन लागिस। जागिर खाएनी हुने हो भन्दै गर्दा बुवाले कति चाहियको छ र तलाइ पैसा? मैले नै पुराइदिएको छु त भनेर गाली गर्दै गरेको पनि सुनेको छु, केही ढाडस मिल्छ।

आजकल त झन यो बिश्वबिद्धालयमा पड्दै गर्दा गाउमा न खेत रोप्न जान पाइने न धान थन्क्याउन। मुल फुटेपछी मात्र धान रोप्न मिल्ने हाम्रो खेतमा श्रावण अन्तिम तिर मात्र असार सकिन्छ। तर बिश्वबिद्धालय मा असार मा नि पढाइ हुन्छ र मङ्सिर मा जाँच। यहाँ काम नलाग्ने बेलामा बिदा दिइन्छ पुस को जाडो मा। जतिखेर पहाडमा सबै काम सिध्यायर बाख्रा चराउने मात्र काम हुन्छ। घर बाट फोन आउदा पनि काम गर्न आइज भन्दैनन, बरु गाडी भाडा खर्चेर आउन भन्दा हामी नै गर्छौ, राम्रो सङ्ग पढेस प्क भन्छन। मनमा कता कता खल्लो लाग्छ ।

यहि कुरा बिदेश जाने साथीले मिठै सङ्ग सुनाउछन। उनिहरुले परिवार को माया बाहेक सबै पायका छन। अनि म सोच्छु म नजिकै भयर नि टाढा छु, उनिहरु टाढा भयर नि नजिकै छन। अस्ट्रेलिया गए लगत्तै एउटा आइफोन 6S पठाइदियकी निर्मली ले त्यै भिडियो कल गर्दा मात्रै काम लाग्ने भयको छ। म भने सानो टुक टुके मोबाइल मा एन्सेल को सिम मा बोनस आउदा फोन गर्छु।

पड्दै गर्दा बिदेशमा काम गर्न पाइन्छ। पढे अनुसार को काम हुन्छ। क्षमता अनुसार को काम पाइन्छ। घण्टाको हिसाबमा काम गरेर पनि आफ्नो खर्च पुराइरहेका हुन्छन उनिहरु। सोच्छु बिहान देखि बेलुका सम्म हातमा ठेला पारी कमाएका ती पैसा म बुवालाइ फिर्ता गर्न सकुला कि नसकुला।

पहाडको एक छेउ बाट सन्सार चिन्न पठायका मेरा बा ले, मैले चिनेका र देखेका कुरा हरु ति ठेला परेका हातमा औला घुसाइ समाउदै देखाउन सकुलाकी नसकुला। बिदेश जाने ले घर घडेरी सब्बै किनिसके, बिहे गरेर उनिहरुको बिदेशमै सेटेल्मेन्ट भयो रे। तर मैले घडेरी किन्न नसकेपनी त्यही पुरानै ठाउमा खुसी सङ्ग हास्दै जीवन कटाउन सकुला की नसकुला। एउटा कलम ले सन्सार बदल्न सक्छ भन्ने सोच राखेका मेरा नपढेका बिद्वान बा लाई; के आफू पढ्न नपाय पनि छोराले खुब पढोस भनेर देखेको सपना पूरा गर्न सकुला? साच्चै एउटा पैसा ले कलम किन्न सकिन्छ तर कलम ले लेखिने अक्षर को शक्ति किन्न सकिन्न भनेर साबित गर्न सकुला कि नसकुला। अनगिन्ति प्रश्न हरु आउदै गर्दा फेरि एउटा कुरामा गएर अल्झिन्छु, बा को हात को ठेला को मूल्य तिर्नको लागि धनको खाचो पर्लाकी कलम बाट निस्कने शक्तिको? साधारण बिधालय को मास्टर बनेर बाआमा लाई खुशी बनाउन
सक्छु कि बिदेश मा कसैको भाडा माझेर ल्याएको डलरले?

खाना खाएर निस्कनै लाग्दा बा आउनु भो। कोठामा छिरेर भन्नू भो “ल हेर त यो निस्किन लागि सकेछ ल यी ला लिग दस हजार। कलेजको फि तिर बाकी पछि पठाइदिउला।” “अब कैले आउछस? दशै भन्दा अगाडि बिदा हुदैन र?” आँखा भरी आँसु बनाउदै भन्नू हुन्छ राम्रो सङ्ग पढेस बाउको दुख सम्झेर।

म केही नबोली झोला भिरेर काठमान्डौ निस्कन्छु।
बाटोमा सम्झिन्छु सानोमा मकै चपायर खुवाउने बा सँङ्ग अहिले सङ्गै चिया खान नि समय मिलेन। सानो मा बाको हातलाई सिरानी बनाएर सुत्दा ती रातहरु सकिन्थे। ऐले एकरात बाको कुरा नसुनी घरबाट निस्किदै गर्दा लाग्यो सायद म ठूलो भएछु। ठूलो पनि कुन अर्थमा म बुझनै सकिरहेको छैन। एक पटक बाको हात समाती , मज्जाले अंगालो हालेर भन्न मन भयो , मेरा जस्ता बा सबैलाइ दिउन भगवानले, जस्ले आफ्नो हातको ठेला ले छोराको सपना बुनेको छ।

गणेश लामिछाने
चितवन, हाल किर्तिपुर काठमान्डौ

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख